Logo

राष्ट्रियसभा विशेष समयः वनदेखि हत्याहिंसासम्म



Spread the love

९ असोज, काठमाडौँ – राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले सामुदायिक वन, निजगढ विमानस्थल, पेट्रोलियम पदार्थको अन्वेषण, वैदेशिक रोजगार, सुरुङमार्ग र पुल निर्माण तथा हत्या हिंसासम्बन्धी विषय उठाउनुभएको छ ।

सांसद चक्रप्रसाद स्नेहीले डडेलधुराको भित्री मधेशमा वन अतिक्रमण भएको भनी १०८ वटा सामुदायिक वनलाई कारवाहीको दायरामा ल्याउने क्रममा अतिक्रमणमा संलग्न रहेको आरोपमा निलम्बनमा परेका शिक्षकको रोकिएको तलव उपलब्ध गराउन माग गर्नुभयो ।

सांसद राधेश्याम अधिकारीले प्रदेश नं. ३ सरकारले काठमाडौँ– हेटौँडा सुरुङमार्ग निर्माण सम्बन्धमा गरेको निर्णय कार्यान्वयन गर्न संङ्घीय सरकारसँग आग्रह गर्दै काठमाडाँैबाट तराई मधेश जोड्न छोटो मार्गका रुपमा रहने उक्त सुरुङ निर्माणलाई प्राथमिकतामा राख्न माग गर्नुभयो ।

उक्त सुरुङ निर्माणको कार्य हालसम्म कागजबाट माथि उठ्न नसक्ने अवस्था रहेको जनाउँदै उहाँले यसअघि सुरुङ निर्माणका लागि निजी कम्पनीलाई दिएको अनुमति रद्द गरेर प्रदेश सरकारलाई सघाउन आवश्यक रहेको सुझाव दिनुभयो ।

सांसद नैनकला ओझाले मोरङमा पट्रोलियम पद्धार्थ उत्पादन हुन्छ भनेर अध्ययन भएको धेरै समय बितिसके पनि परिणाम देखिने ढङ्गबाट काम अघि बढाउन नसकेको हुँदा यसप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद रमेशप्रसादले निजगढ विमानस्थलको दक्षिणतर्फ २०३६ सालदेखि सुकुम्वासीका नाममा जङ्गलका हजारौँ रुख काटिएकाले त्यसलाई रोक्नुपर्ने माग गर्दै वीरगञ्जस्थित चिनी कारखानाको जग्गा संरक्षणका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद खीमकुमार विश्वकर्माले कालीगण्डकीको राम्दी पूल अत्यन्तै जीर्ण भएकाले त्यसबाट ठूला मालवाहक सवारीसाधन आउन नसक्ने उल्लेख गर्दै बुटवल, पोखरा हुँदै सामग्री ल्याउनुपर्ने भएकाले ढुवानी खर्च बढी लाग्दा उपभोक्ता मारमा परेकाले यसको जटिसक्दो मर्मत सम्भारमा अघि बढाउन सरकारसँग माग गर्नुभयो ।

सांसद रामप्रित पासवानले बलात्कार, हत्या, हिंसाविरुद्ध राष्ट्रिय अभियान सञ्चालन गर्नुपर्ने माग गर्नुभयो ।

सांसद हरिचरण शिवाकोटीले मुलुकलाई समृद्धिका बाटोमा लैजानका लागि युवालाई वैदेशिक रोजगारमा जानबाट रोक्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद शेरबहादुर कुँवरले युवालगायत विभिन्न समुदायलाई स्वरोजगार बनाउन सरकारले ल्याएको कर्जा व्यवस्था सहितको कार्यविधिले रोजगारी सिर्जनामा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सांसद जीतेन्द्रनारायण देवले मुलुकका तथाकथित वातावरणविद्का कारण राष्ट्रिय गौरवको निजगढ विमानस्थल बन्ने कि नबने भन्ने स्थितिमा पुगेको हुँदा यस सम्बन्धमा सरकारको धारणाको माग गर्नुभयो ।

सांसद इन्दु कडरियाले कञ्चनपुरकी निर्मला पन्तको हत्यारा जति सक्दो चाँडो पत्ता लगाई निर्मलाको परिवारलाई न्याय दिनुपर्नेमा जोड दिनुभयो ।

सांसद रामलखन चमारले नवलपरासीका मनोजकुमार हर्जनको २०७२ साल १० गते अपरहण भएको र त्यसको नौ दिनपछि भारतीय भूभागमा पर्ने खोलामा त्यसको शव भेटिएको बताउँदै अपहरणमा संलग्न हुनेको किटानी सहितको उजुरी प्रहरीमा दिए पनि हालसम्म दोषीलाई पक्राउ गर्न नसक्नु दुःखद हो भन्नुभयो ।

सांसद कोमल ओलीले निर्मला पन्तको बलात्कारपछि हत्या, वसन्ती परियारलाई तेजाब प्रहार र पोखराकी नौ वर्षीया श्रीर्या विक बेलुका हराएको र विहान सव भेटिएकोलगायतका घटना निकै जघन्य भएको र यस्ता कार्य किन भइरहेका छन् भन्ने कुराको अध्ययन हुनुपर्ने माग सरकारसँग गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्