Logo

ओखलढुङ्गामा जथाभावी निर्माण सामग्री राख्नेलाई कारवाही हुने



Spread the love

९ असोज, ओखलढुङ्गा – सिद्धिचरण नगरपालिकाले शहरमा जथाभावी निर्माण सामग्री थुपार्नेलाई कारवाही गर्ने भएको छ ।

यत्रतत्र राखिएका निर्माण सामग्रीले सदरमुकाम बजार क्षेत्र कुरुप बन्दै गएकाले अब कसैले पनि सार्वजनिक स्थलमा निर्माण सामग्री राख्न नपाउने व्यवस्था गरिएको सिद्धिचरण नगरपालिकाका प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

पहिलो चरणको कारवाहीस्वरुप आर्थिक जरिवाना तिराउने र अटेर गरेमा थप कानूनी कारवाहीका लागि सिफारिश गरिने उहाँको भनाइ छ । “नगरको सुन्दरता र स्वच्छतामा सबैको ध्यान जानुपर्दछ भनेर हामीले यो नीति लिएका हौँ ।” प्रमुख श्रेष्ठले भन्नुभयो, “जस्ले कमजोरी गर्छ ऊ कारवाहीको भागेदार बन्नेछ ।”

नगरपालिकाले सडकमा निर्माण सामग्री जथाभावी राख्नेलाई जरिवानास्वरूप पहिलो पटक ३००, दोस्रो पटक ५००, तेस्रो पटक एक हजार ५००, चौथो पटक तीन हजार र पाँचाँै पटक वा त्योभन्दा पछि ६ हजार तिराउने भएको छ । राजश्व परामर्श समितिको सुझावका आधारमा यो नीति तर्जुमा गरिएको सिद्धिचरण नगरपालिका ओखलढुङ्गाले जनाएको छ ।

सदरमुकामका स्थानीयवासीले सडक नै अवरुद्ध हुनेगरी निर्माण सामग्री राखेर व्यक्तिगत घर बनाइरहेका छन् । लामो समयसम्म सडकमा थुपारिएका सामान नहटाउँदा सवारी आवागमनमा समस्या हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्