लन्डन : अन्तर्राष्ट्रिय फुटबलमा क्रिस्टियानो रोनाल्डो र लियोनल मेसीले पछिल्लो एक दशकयता कायम गरेको दबदबा तोड्दै क्रोएसियाका कप्तान लुका मोड्रिच विश्वकै सर्वाेत्कृष्ट फुटबलर घोषित भएका छन् । स्पेनिस टोली रियल म्याड्रिडबाट व्यावसायिक फुटबल खेल्ने मोड्रिच गत वर्ष क्लब र राष्ट्रिय टोलीका लागि पु¥याएको योगदानका आधारमा विश्वकै सर्वाेत्कृष्ट खेलाडी चुनिएका हुन् ।
विश्व फुटबल महासंघ (फिफा) ले सोमबार राति लन्डनमा आयोजित विशेष समारोहबीच मोड्रिचलाई सर्वाेत्कृष्ट खेलाडी अवार्ड प्रदान गरेको हो । गत जुलाईमा रुसमा भएको विश्वकप फुटबलमा क्रोएसियालाई आफ्नै कप्तानीमा फाइनलसम्म पु¥याएका मोड्रिचले रियल म्याड्रिडलाई गत सिजन नै युरोपियन च्याम्पियन्स लिगको उपाधि चुमाउन पनि महŒवपूर्ण भूमिका निर्वाह गरेका थिए ।
क्रोएसियालाई पहिलो पटक विश्वकपको फाइनलमा पु¥याएको र रियल म्याड्रिडलाई लगातार तेस्रो पटक च्याम्पियन्स लिगको उपाधि दिलाउनका लागि उनले गरेको योगदानले नै मोड्रिचलाई अन्तर्राष्ट्रिय फुटबलको सबैभन्दा ठूलो सम्मानको हकदार बनाएको हो । राष्ट्रिय टोलीका कप्तान, प्रशिक्षक, दर्शक र फुटबल पत्रकारको मतका आधारमा मोड्रिचले यो अवार्ड हात पारेका हुन् ।
अवार्ड जित्ने क्रममा मोड्रिचले पोर्चुगलका रोनाल्डो र अर्जेन्टिनाका मेसीलगायतका खेलाडीलाई पछि पारे । ‘मेरा लागि यो निकै महŒवपूर्ण उपलब्धि हो । सानो देशका खेलाडीले विश्वकै सर्वाेत्कृष्ट खेलाडीको अवार्ड जितेकाले पनि यसको विशेष महŒव छ’, अवार्ड हात पारेपछि मोड्रिचले भने, ‘यो अवार्डले अन्य साना देश र तिनका खेलाडीलाई पनि हौसला दिने काम गर्नेछ । कुनै पनि सफलताका विश्वास र मेहनत नै सबैभन्दा ठूलो आधार हो ।’
राष्ट्रिय टोलीको कप्तानको हैसियतले रोनाल्डो, मेसी र मोड्रिच तीनैजना खेलाडीले आफूलाई मत दिएका थिएनन् । मेसीले आफ्नो मत मोड्रिचलाई दिए भने रोनाल्डो र मोड्रिचले राफेल भारानालाई दिएका थिए । यसअघि १० वर्षसम्म यो अवार्ड कहिले मेसी त कहिले रोनाल्डोले मात्र जित्दै आएका थिए । यसबीचमा एकपटक सन् २००७ मा मात्र ब्राजिलियन खेलाडी काकाले यो अवार्ड हात पारेका थिए ।
अवार्डमा खुसी व्यक्त गरे पनि मोड्रिचले विश्वकपको फाइनलमा पराजित हुनु पर्दाको पीडा भने लुकाउन सकेनन् । उनले भने, ‘सम्भव हुन्थ्यो भने मैले व्यक्तिगत रूपमा जितेका सबै अवार्डहरूलाई देशका लागि विश्वकपको ट्रफीसँग साट्न चाहन्छु ।’ गत जुलाईमा भएको रुस विश्वकपको फाइनलमा मोड्रिचको टोली क्रोएसिया फ्रान्ससँग ४–२ गोलले पराजित भएको थियो ।
सन् २०१२ मा इङ्लिस क्लब टोट्टनहामबाट रियल म्याड्रिडमा आबद्ध भएका मोड्रिचले कुल २९ प्रतिशत मत प्राप्त गरे । यसै सिजन रियल छाडेर इटालियन क्लब युभेन्टसमा अनुबन्धित भएका रोनाल्डोले १९ प्रतिशत मत प्राप्त गरे । उनी दोस्रो स्थानमा रहे । उनले युरोपियन च्याम्पियन टोली पोर्चुगललाई रुस विश्वकपको अन्तिम १६ सम्म पु¥याएका थिए ।
इजिप्टका खेलाडी मोहम्मद सलाह ११ प्रतिशत मत प्राप्त गर्दै तेस्रो स्थानमा रहे । गत सिजन इङ्लिस क्लब लिभरपुलका लागि ३८ खेलबाट ३२ गोल गरेका सलाहले टोलीलाई ११ वर्षपछि पहिलो पटक युरोपियन च्याम्पियन्स लिगमा समेत पु¥याएका थिए । फ्रान्सका केलियन एमबाप्पे चौथो र लियोनल मेसी पाँचौं स्थानमा रहे । उनीहरू दुवैले १० प्रतिशतभन्दा कम मत प्राप्त गरेका थिए ।
मेसीले गत सिजन बार्सिलोनालाई स्पेनिस ला लिगाको उपाधि दिलाउन ४५ गोल गरेका थिए । यद्यपि रुस विश्वकपमा उनले एक गोल मात्र गरेका थिए । उनकै कमजोर प्रदर्शनमा अर्जेन्टिना रुस विश्वकपको अन्तिम १६ बाटै बाहिरिएको थियो । इङ्ल्यान्डको रोयल फेस्टिभल हलमा भएको अवार्ड समारोहमा रोनाल्डो र मेसी दुवै खेलाडी अनुपस्थित थिए ।
ब्राजिलकी मार्टा छैटौं पटक सर्वाेत्कृष्ट
महिलातर्फ ब्राजिलकी मार्टा सन् २०१७ को सर्वाेत्कृष्ट फुटबलर घोषित भएकी छन् । सन् २०१० पछि पहिलो पटक यो अवार्ड जितेकी मार्टाले समग्रमा भने छैटौं पटक अवार्ड हात पारेकी हुन् । गत वर्ष ब्राजिललाई कोपा अमेरिकाको उपाधि दिलाएकी मार्टालाई सोही प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा वर्षको सर्वाेत्कृष्ट महिला खेलाडी चुनिएको हो । ‘यो सम्मानले अहिलेसम्म गरेको सबै त्यागको प्रतिनिधित्व गरेको छ’, अवार्ड ग्रहण गरेपछि मार्टाले भनिन् ।
डेसच्याम्पस सर्वाेत्कृष्ट प्रशिक्षक
फ्रान्सेली राष्ट्रिय टोलीका प्रशिक्षक डिडियर डेसच्याम्पस सन् २०१७ को सर्वाेत्कृष्ट प्रशिक्षक घोषित भएका छन् । गत जुलाईमा फ्रान्सलाई विश्वकपको उपाधि दिलाएका डेसच्याम्पस खेलाडी र प्रशिक्षक दुवै भूमिकामा विश्वकप जित्ने तेस्रो व्यक्ति हुन् । महिलातर्फ पनि फ्रान्सकै रेनाल्ड पेड्रोस सर्वाेत्कृष्ट प्रशिक्षक घोषित भएकी छन् । उनले गत सिजन फ्रान्सेली क्लब लियोनलाई घरेलु लिग र युरोपियन च्याम्पियन्स लिगको उपाधि दिलाएकी थिइन् ।
सलाहको गोल सर्वाेत्कृष्ट
इजिप्टका मोहम्मद सलाहले इङ्लिस प्रिमियर लिगअन्तर्गत एभर्टनविरुद्ध गत वर्ष लिभरपुलका लागि गरेको गोल सन् २०१७ को सर्वाेत्कृष्ट गोल घोषित भएको छ । सोही गोलका लागि उनले ‘पुस्कास अवार्ड’ जितेका हुन् । त्यसबेला जोई गोमेजले दिएको पासमा विपक्षी टोलीका दुईजना रक्षकलाई छक्याएर सलाहले गरेको गोल नै सर्वाेत्कृष्ट ठहरिएको हो ।
कर्टाेइज सर्वाेत्कृष्ट गोलरक्षक
बेल्जियमका थिबउट कर्टाेइज सन् २०१७ को सर्वाेत्कृष्ट गोलरक्षक घोषित भएका छन् । रुस विश्वकपमा बेल्जियमलाई चौथो स्थान दिलाउन गोल पोस्टमा उनले निर्वाह गरेको भूमिकाका आधारमा कर्टाेइजलाई ‘गोल्डेन ग्लोभ्स’ प्रदान गरिएको हो । गत सिजन इङ्लिस क्लब चेल्सीबाट खेलेका कर्टाेइज यो सिजन भने स्पेनिस क्लब रियल म्याड्रिडमा आबद्ध भएका छन् ।