Logo

इनोभेसनको यात्रा



Spread the love

 

 

पहिले पहिले एउटा कथन खुबै चल्तीमा थियो,”नेपालमा एउटा जाबो सियो त बन्दैन, अरू झन् के पो बन्थ्यो र !”

छक्क पर्थ्यौँ हामी । साँच्ची के इत्रो सानो सियो पनि बन्दैन त नेपालमा ? दिक्दार हुन्थ्यो मन ।

तर स्थिती अहिले अलि बद्लिएको छ । समयले थोरै सही केही कोल्टे फेर्न थालेको छ ।

सियो त बन्छ-बन्दैन खै थाहा भएन । तर बिस्तारै देशमा नयाँ-नयाँ प्रविधि, उपकरण र कन्सेप्टको विस्तार हुँदै गइरहेको देख्न पाईन्छ । समयसँगै नेपालका विविध क्षेत्रका वास्तविक आवश्यकताहरूको पहिचान गर्दै, त्यही अनुरूपको प्राविधिक समाधानको बाटो खोज्ने क्रम सुरु भएको छ ।

त्यही समयले दिलाएको एउटा सौगात हो – प्रोकुरा इनोभेसन्स ग्रुप । बढ्दो बौद्धिक पलायनको लामो क्रमलाई चुनौती दिँदै, देशका लागि देश मै केही गर्ने आँटको नतिजा हो यो ।

नेपालमा अहिले अक्सर सबै क्षेत्रका औजार सामाग्री, मेसिन तथा उपकरणहरू विदेश बाटै आयात गरिन्छ । निकै महँगोमा । फलत: बर्सेनि निकै ठुलो मात्रामा राष्ट्रको अर्थतन्त्रमा भार पर्दै गइरहेको छ । जबकि यसको समाधान धेरै हदसम्म नेपाल मै सम्भव छ । यदि उचित अवसर, प्रेरणा र लगानी गरियो भने । तर अफसोस, यसमा न राज्यको नै कुनै ध्यान पुगेको छ, न त जनताले नै त्यसको आवश्यकता महसुस गर्न सकेका छन् ।

यी सबका बाबजुद पनि प्रोकुराको टिम, केही सकारात्मक परिवर्तनको अपेक्षा लिएर हिँडिरहेको छ ।  

प्रोकुरा, मुलत एक प्रोडक्ट डिजाइन स्थल हो । त्यस्ता मेसिन-औजार-सामाग्रीहरूको डिजाइन, जुन हाम्रो समाजलाई अत्यन्तै आवश्यक छन् । जसले समग्र समाजलाई नै समृद्धि र समुन्नतिको बाटोमा लैजाने ल्याकत राख्दछन् । बिलकुल नयाँ सोच । बिलकुलै नवीनतम प्रविधि र प्रयोग ।

छोटो समयमै उनीहरूले केही गज्जबका सृजना गर्न भ्याइसकेका छन् ।

वाटर मोअर : तालको झार हटाउने मेसिन

वनजंगल तथा वन्यजन्तु संरक्षणमा तत्पर विश्व वन्यजन्तु कोष ( डब्लु.डब्लु.एफ ) ले यसका नेपाल प्रतिनिधि गोकर्णजंग थापा मार्फत एउटा सोच अगाडि ल्याउँछ । विश्व रामसार क्षेत्रमा सुचिकृत चितवनको बिस हजारी तालको झार निकाल्ने मेसिन नेपाल मै बनाउने । कताकताबाट कुरो प्रोकुरामा अाइपुग्छ । अाइडिया उनीहरूलाई पनि गजबको लाग्छ । विदेशबाट किन्दा उक्त मेसिन करोडौँ पर्न जान्थ्यो । आखिर किन नेपाल मै, यहाँ कै सामाग्री र जनशक्तिको प्रयोग गरेर नबनाउने त ? उनीहरू काम गर्न तम्सिन्छन् ।

काम सुरु हुन्छ । पुन: प्रयोगमा आउन सक्ने सामानहरूको अत्यधिक प्रयोग गर्दै लगभग तीन महिनापछि मेसिन तयार हुन्छ ।

ताल मै लैजानुभन्दा पहिले डब्लु.डब्लु.एफ प्रतिनिधि टोली मेसिनको अवलोकन गर्न आइपुग्छ ।

मेसिन देखेपछि टोली तिनछक पर्छ । उनीहरूले सोचेभन्दा कैयौँ गुणा बढी मेहनत र भव्यता थियो त्यहाँ । उनीहरू निकै प्रसन्न हुन्छन् ।

मेसिन लन्चको लागि रामराज खनाल, सुवास न्यौपाने, रीमा पन्थी र घनश्याम चौधरी गरी चार जनाको टोली चितवन पुग्छ । उनीहरू सँगै डब्लु.डब्लु.एफ. प्रतिनिधि थापा पनि सँगै जान्छन् । निकुञ्ज परिसरमा अवस्थित तालमा मेसिन जडानको काम सुरु हुन्छ । एकैचोटी लिन सम्भव नभएकाले मेसिनलाई टुक्रा-टुक्रामा छुट्याएर लिइएको हुन्छ ।

अचम्म ! तालमा मेसिन जडान गर्न मात्रै उनीहरूलाई पुरै एक हप्ता लाग्न पुग्छ । जङ्गल बिचको ताल । तालैभरि गोही नै गोही । त्यसमाथि निकुञ्जका जनावरहरू पनि बेलाबेलामा यसो चियोचर्चो गर्न आइरहने । माहौल निकै त्रसित बनेको हुन्छ । जे जति सामान टुट फुट या मर्मत गर्नु पर्थ्यो सबै त्यही नै गर्नु पर्‍यो । किनकि आसपासमा कहिकतै पनि विद्धुत या वर्कशप थिएन । काम जसोतसो सकिन्छ ।

प्रतिनिधिको पुर्वावलोकन पछि सबै निकुञ्ज प्रतिनिधिका बिच तालभित्रको सबै झार फाल्दै ‘वाटर मोअर’को सफल प्रदर्शन गरिन्छ ।

नेपाल मै पनि यस्तो चिज बन्न सक्दो रैछ त है । सबै छक्क पर्छन् ।

वाटर मोअर : भर्जन – २  

बिस हजारी तालका लागि बनाइएको ‘वाटर मोअर’ निकै प्रभावकारी दरियो ।

फलस्वरूप, उनीहरू मार्फत नेपालका अन्य तालतलैयाहरुको झार सफा गर्नका लागि अनुरोध आउन थाल्यो । यसपालि उनीहरू अझ मेहनत गरेर लागे । किनकि अब केवल मेसिन मात्रै बनाउनु थिएन, सँगै थियो दीर्घकालीन सम्म टिकाउनु पर्ने चुनौती पनि ।

त्यसैले यसपटक अझ बलिया र टिकाउ सामाग्रीहरूको प्रयोग मार्फत मेसिनलाई सक्दो टिकाउ रूपमा चलाउन सकिने बनाइएको छ । साथै, यसको प्रयोग विधि पनि निकै सरल पारिएको छ, ताकी सर्वसाधारणले पनि सजिलै यसको सहज प्रयोग तथा मर्मत सम्भार गर्न सकुन ।

सुरुवाती चरणमा उनीहरूले बेगनास ताल-पोखरा, घोडाघोडी ताल-कैलाली, लगायतको लागि काम सुरु गरेका छन् । यसका लागि अत्याधुनिक प्रविधि सहित चिटिक्क सजिएका ‘वाटर मोअर-भर्जन २’ तयार भएका छन् । यी हेर्दा साच्चै, नेपाली क्षमता देखेर गर्व लागेर आउँछ । यसमा पनि उनीहरूलाई डब्लु.डब्लु.एफ.ले नै साथ दिएको छ ।

पोते उन्ने मेसिन   

नेपाली महिलाहरूले प्रयोग गर्ने गहनाहरूमा पोतेको प्रयोग असाध्यै हुने गर्छ । त्यसका लागि गेडा-गेडाको पोतेलाई उनेर माला बनाउनु पर्ने हुन्छ । जुन एकदमै झन्झटिलो र खर्चालु हुन जान्छ । पहिले-पहिले यो काम कारागारका कैदीहरूलाई दिइन्थ्यो रे ! तर अचेल अरू काम मै पैसा बढी हुने हुनाले, यो काम अलि सङ्कटमा परेको छ ।

फलत एक दिन एक जना पोते व्यवसायी केही समाधानको बाटो खोज्दै प्रोकुरासँग आइपुगे ।

प्रोकुराले काम अघि बढायो ।

केही महिनाको रिसर्च, मेहनत र लगाव पछि ‘पोते उन्ने मेसिन’ बनाउन उनीहरू सफल दरिए ।

मेसिन साँच्चै कमालको बन्यो । यसमा मात्र हामीले पोतेको दाना मेसिनको माथिबाट राखिदिए पुग्छ । बाकी सबै मेसिनले धागोमा उनेर निकालिदिन्छ । यसले झन्डै पाँच घण्टामा एक किलो पोते उन्न सक्छ । जुन दीर्घकालीन रूपमा निकै सस्तो पर्न जाने उनीहरूको बुझाई छ ।

पानी छान्ने सस्तो फिल्टर

प्रयोगमा जाने क्रममा ‘वाटर मोअर’, ‘पोते उन्ने मेसिन’ सुरुमा गए तापनि, प्रोकुरा स्थापना गराउने प्रोजेक्ट भने ‘पानी छान्ने फिल्टर’ नै हो । ०७३-७४ को बेला नै यसको कन्सेप्ट उनीहरूमा आइसकेको थियो । तर विविध टेस्टिङको कामले गर्दा बल्ल अब लन्च हुँदै छ यो ।

उनीहरूको फिल्टरको मुख्य विशेषता नै के हो भने, यसलाई चलाउन बिजुलीको कुनै जरुरत पर्दैन । बस् ! पानीको आफ्नै क्षमताले यसको सबै फङसनिङ् हुन्छ । सर्त केवल एउटै छ, पानी ट्याङ्कीको उचाइ फिल्टरको भन्दा केही बढी हुनु पर्छ ।

नेपालमा बर्सेनि ठुलो सङ्ख्यामा मान्छेहरू शुद्ध पिउने पानीको अभाव कै कारण ज्यान गुमाउँदै आइरहेका छन् । आधुनिक पानी छान्ने फिल्टर किन्ने क्षमता सबै सँग छैन, र कतै त अझै विद्धुतको पूर्ण व्यवस्था नै छैन ।

यस्तो स्थितिमा उक्त फिल्टर निकै उपयोगी हुने देखिन्छ । सस्तो पनि हुने, बिजुली पनि नचाहिने ।

नेपालको वस्तुस्थिति बुझेर गरेको यो निर्माणले नेपालीलाई साँच्चै नै गौरवान्तित तुल्याउने देखिन्छ ।

एनी मेट्रोनिक्स : रोबोटहरूको नाटक

रोबोटहरूको प्रयोग अहिले निकै बढ्दो क्रममा छ । नेपालमा पनि बिस्तारै विभिन्न क्षेत्रमा यसलाई भित्र्याउन थालिएको देखिन्छ ।

प्रोकुराले ल्याउने रोबोटहरूले भने अब, गौतम बुद्धको जीवनकथालाई नाटकको रूपमा प्रस्तुत गर्ने छन् ।

लुम्बिनी तीर्थस्थल नजिकैको एउटा व्यवसायीले चलाउने गरी बुद्धको जीवनयात्राका विभिन्न पात्रहरूका लागि छुट्टा-छुट्टै रोबोटहरू तयार पारिएको छ । तिनीहरूमा बुद्धको कथा अनुसार प्रोग्रामिङ् गरिएको छ । फलस्वरूप ती आ-आफ्ना रोलमा आ-आफ्ना हरकत सँगै डाइलग बोलिरहेको हुनेछन् । यसरी रोबोटले नै बुद्ध जीवनयात्राको नाटक प्रस्तुत गर्नेछन् ।

नेपालमा यो नितान्त नयाँ हो । उनीहरूको विश्वास छ कि, यसले नेपाल अझ विशेष गरी लुम्बिनीको पर्यटनमा थोरै सही केही टेवा पुर्‍याउने छ ।  

पिको हाइड्रो : निकुञ्ज भित्रको बिजुली

चितवन निकुञ्ज परिसर भित्रको बिसहजारीको एक हप्ते बसाइका क्रममा पाँच जनाको उनीहरूको टोलीले ठुलो दु:ख झेल्नु पर्‍यो । अनकन्टार ठाउँ । गाउँभन्दा टाढा । बत्तीको व्यवस्था हुने कुरै भएन । मोबाइलको चार्ज गर्न उस्तै समस्या । उनीहरूलाई अझ बिचरा निकुञ्ज सुरक्षामा खटिएका ती आर्मीहरूको खुबै दया लागेर आउँछ, जसलाई हरेकदिन चार्जिङ र बत्तीको खुबै समस्या परिरहेको हुन्छ । उनीहरू कै खातिर पनि केही बनाउने सोच पलाउँछ ।

अन्ततः उनीहरूले बिना कुनै आर्थिक सहयोग, आफ्नै खर्चमा एउटा गज्जबको ‘पिको हाइड्रो’ बनाउन सफल हुन्छन् ।

यसले कम्तीमा सबै-सबै निकुञ्ज भित्रको बत्ती र ब्याट्री चार्जिङको समस्यालाई दूर गर्ने भयो । यसका लागि नजिकैको कुनै खोला, खोल्सा या नहरमा लिएर दुवैतिरबाट यसलाई बाँधिदिए पुग्छ । बाकी काम यसले आफैँ गर्छ ।

बागमती नदीमा सफल परिक्षण् गरियो र चितवनको निकुञ्ज परिसरभित्रको प्रयोगका लागि हस्तान्तरण गरियो ।     

अझै अरू-अरू पनि…

चलनचल्तीबाट केही माथि उठेर काम गर्न यसै पनि गाह्रो कुरा हो । त्यसमाथि नेपालमा भर्खरै उदाउने तरखरमा रहेको सेक्टर हो – प्रोडक्ट डिजाइन । सजिलो त पक्कै छैन नै । तैपनि आफ्नो समाज र देशमा केही सकारात्मक्ता सँगै आधुनिकताको प्रवेश गराउन लागिपरेको छ – प्रोकुरा इनोभेसन्स टिम ।

अबका आउँदा इनोभेसनहरू पनि गज्जबका सुनिन्छन् । कागजको बत्ती बनाउने मेसिन, तार जाली बनाउने मेसिन, आदी इत्यादि ।

उनीहरू उत्साहित छन् । झन् त्यसमाथि केही प्रोजेक्टमा त रोमन म्यागासेसे विजेता महावीर पुनको प्रत्यक्ष सहयोग समेत पाउँदा उनीहरू झनै हौसिएका छन् । देशका लागि अझै थुप्रै गर्ने चाहना छ उनीहरूको ।

तर उनीहरूमाझ केही समस्याहरू पनि उस्तै जटिल भएर आइरहेका छन् ।

प्रथमत: अक्सर मान्छेहरूले उनीहरूलाई एक गुडिया बनाउने जस्तो गरेर सोचिदिन्छन् । बस्, झटपटमा सोच्यो, चटपटमा  बनाइदियो । तर, उनीहरू चाहन्छन्, मान्छेहरू उनीहरूको काममा धैर्य, सपोर्टिभ भएर प्रस्तुत भैदेउन् । ताकी उनीहरूले आफ्नो पूर्ण प्रयासमा डिजाइन गर्न सकुन् ।

दोस्रोमा: सरकार र सरकारी निकायको बेवास्ता । उनीहरूको अपेक्षा छ कि, जिम्मेवार निकायबाट नै यहाँको भूगोल र आवश्यकता बुझेर के-कस्ता आधुनिकताहरू प्रयोग गर्न सकिन्छ भन्नेबारे कुरा उठाइयोस । ताकी, जस्तो उदाहरणको रुपमा हेर्दा परम्परागत एवम् उब्जनीहीन बनिरहेको कृषि क्षेत्र प्रति सबैलाई आकर्षित गर्न सकियोस ।

तमाम समस्याहरूप्रति आक्रोशित भैरहदा पनि उनीहरू भने आशावादी नै छन् ।   

प्रोकुरा टिम

 

ooo

ooo

'प्रमोद' सल्लेरी खबरका लागि कला-साहित्य-विविधमा कलम चलाउँछन् ।

प्रतिक्रिया दिनुहोस्