Logo

आमा !!!



Spread the love

 

मोहित जोशी

चिसो बतासले कान चुमेर मुटु नै छिचोल्दै गर्दा तिम्रो न्यानो स्पर्शको अभाव महसुस गर्दछौ छु आमा, यो बिरानो सहर काठमाडौँमा !

सानोमा तिम्रो न्यानो कोखको बानी परेरै हो कि तिम्रो निम्ति आउने चिसो यादहरूले हो, अहिले त जतिनै बाक्लो कपडा लगाउँदा पनि जाडो नै महसुस गर्छु आमा । आमा पहिले हजुरले बिहानै बासी रोटीमा घ्यू लाएर दिने बानीले होला, अहिले त ओछ्यानबाट उठ्दै के खाऊ खाऊ लाग्छ? र त्यही घ्यू रोटी सम्झेर तितो पाउरोटी र अमिलो चिया सुलुसुलु निल्छु ! सबैले कसरी दुब्लाइस सोध्छन्, कसरी भन्ने त्यहाँ पो म भोकाएको तिमीले बुझ्थ्यौ तर यहाँ त… ।

आमा, यो शब्द सुन्दैमा कति प्रिय अनि महान् सुनिन्छ । मैले उदित गरिरहन पर्दैन ! मैले जानी नजानी जति नै गल्ती गर्दापनी सधैँ मलाई माफ गरिदिन्छौ ? कहाँबाट आयो आमा त्यो महानता ? तिम्रो महानता, सम्पूर्ण विश्व तराजुको एकापट्टि अनि तिम्रो अर्को पट्टि भए विश्वले हार्ने छ !

आमा म त्यति नराम्रो छैन है; जति दुनियाँले सुनाउलान् अनि त्यति धेरै राम्रो पनि छैन जति तिम्रो नजरमा छु । म तिमीलाई निरुत्तर देख्न चाहन्न र सोध्न मन लाग्दैन, “कहाँबाट आउँछ मेरो लागि त्यति धेरै प्रेम ?” सायद मलाइ तिम्रो लत नै लागी सक्यो आमा !

हुन त कसैको बिरामी भएर यादमै भौँतारिने रोगी हुनभन्दा मलाई तिम्रै लत लागेको बेस ! रक्सीको मातमा हल्लिने छोरो हुनुभन्दा तिम्रै ममता अनि तिम्रै प्रेममा मात्तिएको म हुनुमा नै गर्व छ मलाइ ! आमा तिमीलाई त आफू जन्मने बेला एक फेर दुख दिइसके अब त जिन्दगी भर हँसाउने सक्दो प्रयास गर्नेछु !

आमा, तिम्रो हजारौँ सपना मैले पुरा गर्न नसकेर हावा मै उडाउँदा मलाई नै आफ्नो सबै सपना बनाएर करोडौँ सपना बराबर रमाएकी छौ ! आमा म सहर पसेको तिम्रै सपनाको भग्नावशेषबाट धरहरा पुनः खडा गर्न नै हो ! म तिमीले देखाएको आदर्श पथ मै हिँडेर तिम्रा सपना पूरा गरेर फर्किने छु !

त्यो आदर्श जुन सन्सारको कुनै युनिभर्सिटीबाट मैले पाउन सक्दिन । तिमीले मलाई धनगढीबाट यहाँ पठाउँदा झोलामा एक थान कपडा सङ्गैको अर्को सपना अनि आशाको पोको पारेर पठाएकी थियौ नि, फर्किनेछु खुसी र समृद्धि झोलामा भरेर, ढिलो चाडै ! फलानाका छोराछोरीले अलि छिटै प्रगति गरे पिर नमान्नु; झुपडी र महल बन्न समय फरक त परिहाल्छ नि !

ooo

ooo

प्रतिक्रिया दिनुहोस्