Logo

यादहरूमा तिमी !



Spread the love

 

सजु खकुरेल

 

एक सर्को सास पनि राम्ररी फेरि नसक्दै,
तिम्रा विचारका लहरहरूले दिमागमा
फेरि दोहोरी खेल्न थाल्दछन् ।
अाकलझुकल मात्रै याद भएका तिम्रा केही तस्बिरहरू
साँझ परेपछि बाँस खोज्दै म कहाँ अाइपुग्दछन ।
बाँस माग्नु त बहाना मात्र हो,
सिङ्गो रात अनिदो बित्दो रहेछ ।
तिम्रा केही झलकहरू सम्झिदा
आजकल त निन्द्रा पनि हराएर गएछ,
तिम्रो यादहरूको अगाडि फिका फिका भैदिदा
तिम्रो सामुन्ने हुँदा लुकामारी खेल्ने यी नजरहरू
तिम्रो एक झलक पाउन घन्टौँ सम्म कुरिरहन राजी छन् ।
सङ्गै नभए पनि
तिमी वरिपरि हुदाखेरिको आभासले समेत यो मन अट्टास रमाउँदछ ।
अरूकै कारणले भएता पनि तिम्रो ओठमा आएको मुस्कानले
यो मन त्यसै फुरुङ्ग हुन्छ ।

म तिम्रोलागि लाखौँमा केवल
एउटा परिचित मुहार मात्र भए पनि,
तिमी मेरालागि करोडौँमा समेत नहराउने प्रेरणा भएका छौ ।
परै बसेर न्यानो दिलाउने र
अावश्यक्ता अनुसार शीतलता प्रदान गर्ने स्रोत भएका छौ ।
भगवानको अगाडि हात जोडेर माग्दा तिमी होइन माग्दो रहेछु तिम्रा खुसीहरू
त्यसैले त भन्ने गर्दछु ।
सायद तिमीले आफूलाई मेरो नजरबाट
हेर्न मिल्ने भएको भए
मन्दिर पनि जान छोड्दिन्थ्यौ ।

तिमी मेरै हुनु पर्छ भन्ने अठोट मनमा छैन
केवल तिम्रो जीवनमा खुसीयाली छाइदिए पुग्छ
नजिकिनु छैन तिमीसँग
मात्र मेरो समीप भैदिदा हाँसेर दुई बात गरिदिए पुग्छ ।

आखिर संसारिक नाताको नाम त
शरीर सङ्गै हुनको लागि चाहिने हो
त्यसैले,
बिना नामको हाम्रो नातामा मैले आफ्नो हृदय सुम्पेको छु
तिम्रो एक कर्के नजरले घायल भएको यो मन
सिउन सायद यो जुनी काफी छैन
तर तिमी चिन्ता नलिग प्रिय,
किनकि यादहरूमा मन जलाएर बस्ने एकतर्फी पागल प्रेमिका
म कदाचित बन्ने छैन ।

ooo

ooo

प्रतिक्रिया दिनुहोस्