Logo

राष्ट्रिय जनता दल नेपाल कम्युनिष्ट पार्टीमा समाहित



Spread the love

१५ असोज, काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीमा राष्ट्रिय जनता दल समाहित भएको छ ।

धूम्बाराहीस्थित केन्द्रीय कार्यालयमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपाका महासचिव विष्णुप्रसाद पौडेल र नेता सुवास नेम्वाङले दलका अध्यक्ष भरत महतोको नेतृत्वमा रहेका नेता तथा कार्यकर्तालाई पार्टीमा स्वागत गरेका थिए । सोही कार्यक्रममा राष्ट्रिय जनता पार्टी सर्लाहीका अध्यक्ष नागेश्वर साह पनि नेकपामा प्रवेश गरेका छन् ।

कार्यक्रममा महासचिव पौडेलले समाजमा अन्याय र विभेदको अन्त्य गरी मुलुकमा सामाजिक न्याय र समानता कायम गर्न पार्टीले सकारात्मक भूमिका निर्वाह गरेका कारण अहिले विभिन्न दल र जनताको विश्वास र आकर्षण पार्टीप्रति बढेको बताए ।

उनले पार्टीको आदर्श र राजनीतिक कार्यक्रमलाई जनताको सेवामा केन्द्रित गर्न निर्देशन दिँदै दलका विभिन्न नेता तथा कार्यकर्ताको अनुभवका आधारमा उनीहरुलाई उपयुक्त जिम्मेवारी दिइने प्रतिबद्धता व्यक्त गरे ।

जनता दलका अध्यक्ष महतो, राजपाका नेता साह र पिछडा वर्गका नेता मनइ महतोले मधेशमा सम्भ्रान्त समूहले निमुखा वर्गमाथि गरिरहेको जातीय विभेदको अन्त्यका लागि मार्क्सवादी चिन्तन आवश्यक रहेको बताउँदै नेकपाले मधेशी समाजको एकता र अखण्डताका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नसक्ने विश्लेषणका आधारमा आफूहरु ऐतिहासिक पार्टीमा प्रवेश गरेको बताए । पिछडा वर्ग महासङ्घलाई पनि उक्त पार्टीमा समाहित गराइएको छ । उक्त महासङ्घलाई जनवर्गीय सङ्गठनका रुपमा विकास गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्