Logo

नयाँ आइफोनमा समस्या नै समस्या



Spread the love

केही समय अगाडि मात्र लन्च भएका तीन नयाँ आइफोनमा हाल विभिन्न प्राविधिक समस्या देखा परिरहेको बताइएको छ । विशेषगरी यसको सेल्फि क्यामरा र चार्जिङ सम्बन्धि समस्या गम्भीर भएको ग्राहकहरुको गुनासो रहेको संचार एजेन्सी म्याकवर्ल्डले जनाएको छ ।

विभिन्न अन्तरराष्ट्रिय एजेन्सी जसले मोबाइल तथा ग्याजेट सम्बन्धी चासो राख्छन । तीनीहरुले भनेका छन- वास्तवमा नयाँ आइफोन एक्सएसको फ्रन्ट क्यामराबाट सेल्फि लिँदा फोनले हाम्रो अनुहारमा विशेष बदलाव ल्याउँदा अनुहार प्लास्टिक जस्तो देखिने गरेको प्रयोगकर्ताको गुनासो छ । यसरी छालाको रङ बदली नयाँ चमक ल्याउने सेल्फिको प्रवृत्ति एसियाली क्षेत्रमा भने अत्यन्तै लोकप्रिय रहँदै आएको छ । यसकारण पनि एप्पलले आइफोनको प्रचार र बजार बढाउन यस्तो फिचर राखेको हुन सक्ने अनुमान गरिएको छ ।

तरपनि अन्य मोबाइलहरुमा भने यस्ता फिल्टर हटाउने अप्सन राखिने गरिएको हुँदा आइफोनमा चाहिँ यस्तो सुविधा उपलब्ध नभएको भन्दै ग्राहकहरुले असन्तुष्टि जनाएका हुन् । आइफोनमा फ्रन्ट क्यामेराले फेस डिटेक्ट गर्नासाथै यो फिल्टर अटोमेटिक आउने गरेको पाइएको छ । त्यसकारण यसका लागि एप्पलले आधिकारिक बयान जारी गर्दै सिस्टम अपडेटमार्फत समस्या समाधान गर्नुपर्ने सुझाव दिइएको छ ।

त्यसैगरी नयाँ आइफोनको अर्को गम्भीर समस्या चार्जिङमा पनि देखिएको छ जसबारे धेरै प्रयोगकर्ताहरुले खबर गरिसकेको बताइएको हो । उनीहरुका अनुसार डिस्प्ले खुला राखिरहँदा मात्र आइफोन चार्ज हुने गर्दछ । सामान्यतः चार्जमा राख्नासाथै फोनले चार्ज भइरहेको देखाउन मात्र डिस्प्ले अन गराउने गरेको छ ।

तर नयाँ आइफोन एक्सएस र एक्सएस म्याक्समा भने फोनलाई ट्याब गरेर खोलेपछि मात्र चार्ज हुने गरेको बताइएको छ । कसैले चाहिँ बारम्बार चार्जर जोड्दै निकाल्दै गरेपछि मात्र चार्ज हुने गरेको गुनासो गरेका छन् । चर्चित युट्युब च्यानल ‘अनबक्स थेरापी’ ले पनि सो समस्या देखाउँदै भिडियो सार्वजानिक गरिसकेको छ । त्यसको प्रतिक्रियामा कतिपय प्रयोगकर्ताले भने आफ्नो पुराना आइफोन र आइप्याडमा पनि नयाँ आइओएस १२ अपरेटिङ सिस्टम हालिसकेपछि त्यस्तै समस्या देखा परेको बताएका हुन् । यसकारण उनीहरुले यसको मुख्य समस्या नयाँ अपरेटिङ सिस्टममा रहेको दाबी गरिरहेका छन् ।

त्यसैगरी केही फोनहरुमा भने वाइफाइ कनेक्टिभिटीमा समेत समस्या आइरहेको पाइएको छ । यस अगाडिका मोडलको तुलनामा नयाँ आइफोनले ज्यादै कम टावर दिएको र भरपर्दो कनेक्सन नदेखाइरहेको गुनसो गरिएको छ तर यो समस्या एप्पलले सफ्टवेयर अपडेटबाट सजिलै समाधान गर्न सकिने बताइएको छ ।

यसरी हाल यी समस्याबाट थोरै ग्राहकहरु मात्र प्रभावित भएपनि ५ करोड फोन विक्री गर्दा त्यसको एक प्रतिशतमा पनि यस्ता समस्या देखा पर्नुले हजारौँ आक्रोशित ग्राहकहरु निम्त्याउन सक्ने बताइएको छ । यसकारण एप्पललाई चाँडै यसको समाधान गर्न दबाब दिइएको छ र आगामी हप्ता नै कम्पनीले सफ्टवेयरमा नयाँ अपडेट ल्याउने बताइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्