Logo

सहमतिमा नै प्रदेशको नाम र राजधानी तोकिएको छ



Spread the love

१७ असोज, बाजुरा – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सुदूरपश्चिम कमिटी अध्यक्ष कर्णबहादुर थापाले प्रदेशको नाम र राजधानी सहमतिमा नै तोकिएको बताएका छन् ।

दशैँ तिहारका अवसर पारेर नेपाल निजामती कर्मचारी सङ्गठन बाजुराले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले भने, “प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक पार्टी र समुदायसँगको बृहत् छलफलपछि नाम र राजधानी तोकिएकाले विरोध गर्नुको कुनै अर्थ छैन ।”

अध्यक्ष थापाले पहिले समर्थन गर्ने, पछि विरोध गर्ने परिपार्टीको अन्त्य हुनु आवश्यक छ भन्दै सबैको मत बुझेर नै नाम र राजधानी तोकिएको बताए ।

“उपयुक्त विकल्प पनि त्यही थियो, बजारमा नारा जुलुस गर्नु कसैको हितमा छैन”, उनले भने ।

अध्यक्ष थापाले दुई ठूला पार्टी एक ठाउँमा आउनु नै महान् काम भएकाले केही समयसम्म सामान्य विमति रहनुलाई ठूलो पहाड बनाउन नहुने उल्लेख गर्दै पार्टी सङ्गठनको निर्णय सबैको हितमा गरिएकाले त्यसलाई सबैले मान्नुपर्ने धारणा व्यक्त गरे ।

निर्मला पन्तको हत्याको विषयमा छानबिन भइरहेकाले बलात्कारी हत्याराले उन्मुक्ति नपाउने बताउँदै उनले राज्यको संयन्त्रलाई नै आशङ्कामा राखेर विरोध गर्नु र मिलेको समाजलाई थप त्रसित बनाउनु राम्रो होइन भने ।

प्रतिक्रिया दिनुहोस्