Logo

जुनसुकै बेला अनसन बस्न सक्छु- डा.गोविन्द केसी



Spread the love

२१ असोज, काठमाडौँ – डा.गोविन्द केसीले चिकित्सा शिक्षा आयोग नबनेसम्म एमबीबीएस र बीडीएसको बढाइएको शुल्क फिर्ता लिन माग गरेका छन् । काठमाडौं विश्वविद्यालयका पदाधिकारीले चिकित्सा शिक्षाका स्नातक तहका कार्यक्रममा अत्यधिक शुल्क बढाउने निर्णय गरेको उनले बताएका छन् ।

डा.केसीले यसअगाडि सरकारले एमबीबीएस/बीडीएस कार्यक्रमको शुल्क तोकेर कार्यान्वयन गरिसकेको अवस्थामा तुरुन्त शुल्कवृद्धि खारेज गर्न र अब बन्ने चिकित्सा शिक्षा आयोगलाई शुल्क निर्धारण सम्बन्धी सबै काम छाडिदिन ध्यानाकर्षण गराएका छन् ।

पूर्वाधार नपुगी काठमाडौं नेसनल कलेजलाई अस्पताल सञ्चालन गर्न दिने निर्णय फिर्ता गर्न पनि उनले सरकारलाई आग्रह गरेका छन् । डा. केसीले शनिबार विज्ञप्ति जारी गरी आवासीय भवनमा स्थापित मेडिकल कलेजलाई सरकारले गैरकानुनी रूपमा अस्पताल सञ्चालन अनुमति दिएको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा ‘८ वर्षसम्म स्वास्थ्य मन्त्रालय अन्तर्गतको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस लगायत शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याउन उदासीनता देखाउनु तर पूर्वाधार नभएको कलेजलाई अस्पताल सञ्चालन गर्न दिने निर्णयले मन्त्री र स्वास्थ्य मन्त्रालयका उच्च पदाधिकारीको भ्रष्ट मानसिकता उदांगो भएको उनको दाबी छ ।

डा.केसीले ३ बुँदे माग अघि सार्दै जुनसुकै बेला सत्याग्रह गर्न सक्ने बताएका छन् । उनले आफूसँग गरेका सबै सहमति तुरुन्त कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गरेका छन्। त्रिवि उपकुलपति तीर्थ खनियाँ र अन्य उच्च पदाधिकारी लगायत गौरीबहादुर कार्की आयोगले दोषी ठहर्‍याएकालाई तत्काल कारबाही गर्नुपर्ने माग समेत उनले राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्