Logo

सर्ट फिल्मका कुमार



सन २०१७ को वर्ष एउटा नेपाली सर्ट फिल्मले खुबै वाहवाही कमायो । जम्मा-जम्मी साठी सेकेन्डको भिडियो । न कुनै संवाद, न कुनै तमक-झमक । बस् ! लोभलाग्दो भिडियोग्राफी, इडिटिङ र कथाशैलीले गर्दा संसारका करिब दुई दर्जन जति प्रसिद्ध फिल्म फेस्टिभलमा यसको अफिसियल स्क्रिनिङ भयो भने आधाभन्दा बढीमा यो विजेता नै बन्यो । नेपाली फिल्म उद्धोगमा यो बिल्कुल नयाँ कदम थियो । चकित भए सबै ।

सर्ट फिल्मको नाम थियो – स्ट्राइक । लेखक तथा निर्देशक थिए – परिच्छेद सेन ।

परिच्छेद नेपाली फिल्म इन्डस्ट्रीका लागि कुनै नयाँ अनुहार बिल्कुल थिएनन् । जीवनका एक दर्जन भन्दा बढी ऊर्जाशील वर्षहरू उनले यसमै बिताइसकेका थिए । सहायक, मुख्य-सहायक निर्देशक हुँदै निर्माता, लेखक तथा निर्देशक सम्म । तर उनको जीवनको टर्निङ प्वाइन्ट बन्न पुग्यो – स्ट्राइक । जसले पर्दा पछाडि कतै गुम्सिरहेका उनलाई नेपाल मात्रै नभएर विश्वभर नै फैलाइदियो ।

जिन्दगी जिउनुको मज्जा नै यही त छ । कतिबेला के हुन्छ, बस् उसैलाई थाहा हुन्छ । थाहा छ, बिहानीको हरेक निश्छलता सँगै दिनको सुरुवात हुन्छ नै । तर, कुन प्रहरमा के हुन्छ, बस् उसैलाई थाहा हुन्छ । यस्तै भयो उनको जिन्दगीमा पनि ।

काठमाडौं यात्रा

पश्चिम नेपालको एउटा जिल्ला – सल्यान । सल्यानको एउटा चिटिक्कको बस्ती – मुलपानी । त्यहीको एउटा किसान परिवारमा जन्मिए उनी ।

स्कुल, गाउँ भन्दा अलि टाढा किमुचौरमा थियो । हिडेर जादा एक घण्टा बढ़ी लाग्थ्यो तर गाडी पाउदा भने आदि घण्टा मै पुगिन्थ्यो । स्कुले दिनहरु सम्झिदा बहुतै खुसी हुन्छन् उनी । गाउँको स्कुल, गाउँले यादहरु अनि त्यो ग्रामीण सुगन्ध । निकै याद आउँछन् ती दिनहरु उनलाई । आज त गाडी पाउछ भनेर ढिला हिड्यो, झन त्यही दिन गाडी नरोकेर ११ बजे स्कुल पुगिन्थ्यो । र, जुन दिन गाडी पाउदैन भनेर घरबाट चांडै हिड्यो, त्यही दिन गाडी पाउथ्यो र ९ बजे नै स्कुल पुगिन्थ्यो ।

बच्चैदेखि उनी नाच्नमा बहुतै सौखिन । स्कुले कार्यक्रम देखी गाउँका भैलो, मेला सम्म । कम्मर मर्काएर गजपले नाच्थे उनी । सानो ज्यान, ढलक ढलक ।

गाउँ आसपास त्यतिखेर टि.भी कतै थिएन । त्यसैले उनी गैहाल्थे, केही दुरीको बजार कपुरकोट तिर । त्यहाँ फिल्म हल थियो । फिल्म हल अर्थात एउटा २४ इन्चे टिभी । पकेट मनी बचाएर, आमा-बाउलाई फकाएर हप्तै पिच्छे गैरहन्थे उनी । प्रत्यक आइतबार रामायण आउथ्यो, उनी आफ्नी आमा संग रामायण हेर्न गईरहन्थे ।

फिल्मी दुनियाँ एकदमै गजब लाग्थ्यो उनलाई । रंगीचंगी मान्छेहरू । रंगीचंगी कथाहरू । अनि गुण्डा मार्दै हिरोइन पट्याउदै गरिरहेका हिरोहरू । फिल्म हेरेर आएको रात, उनी खुबै मिठा-मिठा सपना देख्न थाले । काला-काला भुस्तिघ्रे गुण्डाहरुले एउटी गोरी केटीलाई लखेटिरहेका । केटी दौड्दै उनको छेउमा अाइपुगेकी । उनी दुइलाई चारैतिरबाट गुण्डाहरुले घेर्न भ्याएका । केटी रुदै गुहार मागिरहेकी । अनि एकाएक उनमा आएको शक्तिले गर्दा सबका सब गुण्डालाई उनले एक्लै सिध्याउन भ्याएका । केटी मख्ख ।

यस्तैमा उनले एसएलसी पनि दिए । र, पास पनि भए ।

उनका मिल्ने साथीहरु सबै काठमाण्डौ पढ्न जाने भए । उनलाई एक्लै त्यहा पढ्न मन लागेन । तर उनको घरको आर्थिक स्थिति काठमाण्डौ बसेर पढ्न सक्ने थिएन । उनी टेन्सनमा परे ।

तर जहा इच्छा, त्यहा उपाय । उनी एक्लै लागे काठमाडौं  । घरमा थाहै नदिएर । काठमाडौंको एउटा होटलमा उनी बस्न थाले । केही दिन मजैले घुमे । ल्याएको पैसा जति सबै सकियो । उनी परे आपतमा । अब के गर्ने ?

पत्रिकामा एउटा वेटरको लागि भ्याकेन्सी खोलिएको भेटियो । उनी सरासर लागे होटलतिर । जागिर पाइयो । जिन्दगीको पहिलो जागिर । उनी उत्साहित थिए । उनीसँग बिकल्प पनि त कहाँ थियो र !

छोटो समयमै होटले साउजीको मन रिझाए उनले । बक्सिसमा उनले होटलबाट बचेको समयमा कलेज पढ्न पाउने भए । उनी नजिकैको कलेजमा कमर्स पढ्न थाले ।

फिल्मी इन्ट्री

उनले काम गर्ने होटलमा प्रायजसो कोही न कोही सेलिब्रेटीहरू अाइ नै रहन्थे । टिभीमा देखिने कलाकार आफ्नो सामुन्ने मै देख्दा उनलाई बहुतै गजब लाग्थ्यो ।

यस्तैमा एकदिन एक निर्देशकले उनलाई सोधे,”ओए केटा ! फिलिमको सुटिङ हेर्न जान्छस् ।”

उनले नाई भन्ने कुरै थिएन । उनी गैहाले । तर उनले सानोमा फिल्म हेर्दा जे-जस्तो सोच्थे, त्यो भन्दा बिल्कुल फरक पाए त्यहा । सधैं पर्दामा कलाकार मात्र देखेका उनी, पर्दा पछाडिको जम्बो टोली देख्दा अचम्मित भए ।

यस्तैमा उनलाई फिल्म सुटिङमा काम पनि मिल्न थाल्यो । सानो भन्दा सानो काम पनि उनी बहुतै मिहेनतसाथ पुरा गर्थे । उनको कामको सबैतिर प्रशंसा हुन्थ्यो । गर्दै जाँदा उनमा फिल्मी दृश्यहरु घुम्न थाले । घुम्टो ओढ्दै हिरोइन आउन थाली, फाइट हान्दै हिरो आउन थाल्यो । उनलाई गज्जब लाग्दै गयो । यस्तैमा केही वर्षको सङ्घर्ष पश्चात उनी अन्तत: फिल्मको मुख्य सहायक निर्देशक बन्न सफल भए र पछि निर्देशक पनि ।

फिल्मी यात्रा

पछिल्लो सात वर्षमा सेनले करिब ४० भन्दा बढी चलचित्रमा मुख्य सहायक निर्देशकको रुपमा भूमिका निभाइ सकेका छन् । मसान, धौली, सेतो बाघ, नाइ नभन्नु ल ३, माला, अग्निदहन, सेफ ल्यान्डिङ, थ्री लभर्स, आदि ती नामहरूमध्ये पर्छन् । त्यसैगरी ‘बमकाजी’ र ‘अग्निदहन’ चलचित्रमा स्क्रिप्ट राइटरको रुपमा समेत योगदान दिएका छन् । उनले चर्चित निर्देशक स्व. शिब रेग्मी देखि नीर शाह सम्मको सहायक निर्देशक भएर काम गरिसकेका छन ।

उनलाई लाग्छ, मुख्य सहायक निर्देशकको रुपमा उनले मात्र एक कम्प्युटरको काम गरे । अरु कसैको आवश्यकता अनुसार कसरी सिनेमा अगाडि लैजाने त, बस् उनको जिम्मा यत्ति थियो । फलत: एकाध काम बाहेक उनी कतै पनि पूर्णत सन्तुष्ट हुन सकेनन् । कैयौ निर्माता तथा निर्देशक सँग त उनको सम्बन्ध नै चिसियो । काम चित्त बुझेन  भने एग्रिमेन्ट फिर्ता गर्थे र हिडीहाल्थे उनी । बिस्तारै उनलाई लाग्न थाल्यो कि अब आँफै बनाउछु फिल्म । पूर्णत आफ्नै सोच, शैली र कलाको प्रयोग गरेर । उनी हौसिए ।

अन्तत: आफ्नै लेखन, निर्देशन तथा निर्माणमा उनले ‘अकिंञ्चन’ नामको एउटा सर्ट फिल्म बनाए । यसले उनलाई जिन्दगीमा धेरै कुरा सिकायो । साथै, जिन्दगीको कमाइको धेरै हिस्सा पनि गुमाइ दियो । यसपछि बल्ल उनलाई सिनेमा बनाउन कति जटिल रैछ भन्ने कुरा बोध भयो । बिस्तारै उनलाई पहिले नराम्रा लाग्ने अरुका फिल्म पनि राम्रै लाग्न थाल्यो । आर्थिक रुपमा कमजोर बनाए पनि ‘अकिंञ्चन’ले उनको जिन्दगीमा धेरै परिवर्तन ल्याइ दियो ।

परिणामत: उनी कान्तिपुर फिल्म एकेडेमीमा फिल्म पढ्न थाले । ‘पढाई’ र ‘पराइ’ सँग-सँगै मिलाएर केही गज्जबको सृजना गर्न चाहन्थे उनी ।

पढाई चल्दै थियो । यस्तैमा एकदिन कलेजका सी.ई.ओ. प्रकाश पूरीबाट एउटा घोषणा हुन्छ, साठी सेकेन्डको फिल्म फेस्टिभलका लागि जसको सर्ट फिल्म उत्कृष्ट ठहरिन्छ, उसलाई छात्रवृत्तीको व्यवस्था गरिनेछ । उनी हौसिन्छन् । केही दिनको लेखनीपछि सर्ट फिल्मको कन्सेप्ट तयार हुन्छ । अनि बन्छ – स्ट्राइक । ‘स्ट्राइक’मा विशेषत हामी मान्छेभित्रको क्रुरता र स्वार्थलाई देखाइएको छ । मान्छे आफ्नो अधिकारका लागि कसरी अर्काको ज्यान लिरहेको हुन्छ ? यसको मुल बिषयवस्तु यही हो ।

सर्ट फिल्मको यात्रा

जुन फेस्टिभलका लागि ‘स्ट्राइक’ बनाइयो, वर्षदिन बित्दा पनि त्यसबाट कुनै नतिजा आउँदैन । तर उनले हार मान्दैनन् । केही विश्वव्यापी सर्ट फिल्म प्रतियोगिता तथा फेस्टिभलमा उनले ‘स्ट्राइक’लाई पठाउछन् । नतिजा उनले सोचेभन्दा पनि गज्जबको आउँछ । सबैतिरबाट यसको वाहवाही आउन थाल्छ । संसारैभरी करिब दुई दर्जन भन्दा बढी फिल्म फेस्टिभलमा यसको अफिसियल छनौट हुन्छ भने झन्डै ५-६ ठाउमा त बिजेता नै बन्न पुग्छ ।

‘अरोरा फेस्टिभल’ अमेरिका, ‘सर्ट अफ द इयर’ स्पेन, ‘अफ्रिका फिल्म फेस्टिभल’ नाइजेरिया, जस्ता विश्वप्रख्यात प्रतियोगितामा विजेता भैसकेको ‘स्ट्राइक’ अझै पनि ‘प्रोमोफेस्ट’ स्पेन मार्फत विभिन्न फेस्टिभलका लागि भिडिरहेको छ । अहिले ‘वर्ल्ड फिल्म फियर’ अमेरिका स्क्रीनिंगका लागि राखिएको छ | यसले लेखक तथा निर्देशक सेनलाई निकै हौस्यायो । आफ्नो मनको बल्ल पुरा भए जस्तो भयो उनलाई । न त बजारको चिन्ता, न त आफ्नो मनको भावना दबाउनु पर्ने बाध्यता । बिल्कुल मनमौजी लाग्यो उनलाई सर्ट फिल्मको सफर । किन्तु उनलाई यस्तै माहौलको त जरुरत थियो । जहाँ उनले आफ्नो सत-प्रतिशत दिन सकुन ।

उनी अब बिल्कुल रोकिने पक्षमा थिएनन् । त्यसैले ‘स्ट्राइक’को कामपछि लगत्तै कान्तिपुर फिल्म एकेडेमी सँगको सहकार्यमा ‘माँ’ सर्ट फिल्मको काम सुरु गरे । सुरुमा थारु गाउँको कथा भए पनि पछि फेरी गोरखाको लाप्राक गुरुङ बस्तीमा यसको कथा बुनियो । करिब महिनादिन जतिको प्रयासमा ‘माँ’ बन्यो । गुरुङ भाषामा आमालाई ‘माँ’ भन्ने गरिन्छ । यसैबाट उनले आफ्नो सर्ट फिल्मको नाम ‘माँ’ राख्न पुगे । यो मुलत ती सम्पूर्ण आमाहरूको कथा हो, जो आफ्नो सारा जिन्दगी नै आफ्ना सन्तानका लागि खर्चिन्छन् । यो ती सबै सन्तानहरूको पनि कथा हो, जसले आफ्नो स्वार्थ पुरा गर्ने दाउपेचमा आफुलाई सबैभन्दा माया गर्ने आफ्नै आमाको मुल्य बिर्सिन्छन् ।

‘माँ’को नेपाल प्रिमियर ‘एकादेशमा फिल्म फेस्टिभल’बाट भएको थियो र अहिले संसारैभरीका विभिन्न फेस्टिभलमा यो भिडिरहेको छ । ‘द कम्प फिल्म फेस्टिभल’ केन्या, ‘क्रसओभर फिल्म फेस्टिभल’ अमेरिका, ‘हलिउड फिल्म फेस्टिभल’ अमेरिकामा स्क्रिनिंग हुदैछ भने ‘लिफ्ट इन्ड़िया अवार्ड’को लागि पनि नोमिनेशनमा परेको छ । भर्खरै मात्र यसले स्पेनको ‘सर्ट अफ द इयर’को डिष्ट्रिब्युसन अवार्ड जितिसकेको छ । सेनको विश्वास छ, यसले अझै सफलता हासिल गर्ने छ ।

अबको यात्रा

परिच्छेद सेन आफुलाई सर्ट फिल्मको दुनियाँमा अझै कुमार रहेको ठान्छन् भने फिचर फिल्ममा एक विवाहित । उनलाई लाग्छ, सर्ट फिल्म बनाउनेहरु कुमार केटा जस्तै स्वतन्त्र हुन्छन र फिचर फिल्म बनाउनेहरु चाही विवाहित जस्तै विभिन्न जिम्मेवारी र सिमानाले घेरिएका हुन्छन् । यसर्थमा पनि सर्ट फिल्मका कुमार यही क्षेत्रमा रहेर अझै थुप्रै काम गर्ने तयारीमा छन् । लामो समयदेखी गुम्सिरहेका कथा र दृश्यहरुको गाँठो सुस्त-सुस्त फुकाउन चाहन्छन् उनी ।

फिचर फिल्मको अफर पनि थुप्रै आईरहेकै छन् उनलाई । तर त्यही कथा बन्धनका कारण धेरै संग कुरा मिल्दैन उनको ।

फिल्ममेकर आ-आफ्नै मान्यता सहित फिल्म बनाइ रहेका हुन्छन् । कोही कथाले लखेटिएर लेख्छन् त कोही कथालाई लखेट्दै । सेन भन्छन्,”मैले बनाको फिल्म संसारका जुनसुकै कुनाको मान्छेले हेरेपनी मजाले बुझ्ने हुनु पर्छ भन्ने मेरो मान्यता हो । म यही लाइनमा बनाउछु फिल्म ।”

जाँदाजाँदै…

सेन फिल्मी दुनियाँमा लागेको कुरा उनको परिवारले धेरै पछि मात्र थाहा पायो । थाहा पाएर पनि त्यस्तो विघ्न प्रतिकृया केही रहेन उनीहरूको । किनकी उनीहरूसँग छोरालाई यो बनाउँछौ, त्यो बनाउँछौ भन्ने कुनै सपना थिएन । उनीहरूको एउटै कामना थियो कि छोराले जहाँ जे गरेपनी राम्रो गरोस् । इज्जत नफालोस् । यसर्थमा पनि सेन आफुलाई निकै भाग्यमानी ठान्छन् । होइन भने पक्कै उनी यो क्षेत्रमा आउने थिएनन् ।

समयका घुम्तीहरूले डोर्याउदै-डोर्याउदै ल्याइ पुर्याइदियो उनलाई – उनको मनपसन्द फिल्मी दुनियाँमा । उनी समयप्रती त्यसैले पनि निकै आभारी छन् । कसोकसो अहिले त खुबै माया बसिसक्यो फिल्मप्रती । यतिसम्म कि, कसैले फिल्म र फिल्मी दुनियाँको बारेमा सानै केही नराम्रो भने पनि उनको मन चसक्क हुन्छ । सकभर कसैले केही नराम्रो नभनिदेओस भन्ने उनको कामना हुन्छ । उनलाई लाग्छ, एउटा कलाकारको लागि उसको कला नै उसको धर्म हो । र, कलाको साधनास्थल नै उसको मन्दिर-मस्जिद-गुम्बा अनि चर्च ।

लेखकबाट थप :

१. रिङरोड अर्थात् स्वर्ग जाने बाटो
२. इनोभेसनको यात्रा
३. सम्झनामा काठमाडौंका घरबेटी
४. हामी सबै बौद्धिक बलात्कारी
५. कलंकी एक्सप्रेस

ooo

ooo

'प्रमोद' सल्लेरी खबरका लागि कला-साहित्य-विविधमा कलम चलाउँछन् ।

प्रतिक्रिया दिनुहोस्