Logo

सहकारी संस्थाले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने



Spread the love

२१ असोज, घोराही – सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने नीति ल्याएसँगै यहाँको एउटा सहकारी संस्थाले शैक्षिक प्रमाणपत्र धितोमा राखेर ऋण दिने भएको छ ।

घोराही उपमहानगरपालिका –१५स्थित सिसा सगुन बचत तथा ऋण सहकारी संस्थाले शिक्षित बेरोजगार युवालाई स्वरोजगार बनाउन यस्तो खालको नीति ल्याइएको जनाएको छ ।

शिक्षित भएर पनि अर्थाभाव भएका र कुनै नयाँ व्यवसाय गर्न चाहने युवाका लागि ऋण दिन शुरु गरिएको संस्थाका अध्यक्ष बालचन्द्र शर्माले जानकारी दिए । शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने नीति संस्थाको साधारसभाले पारित गरिसकेको र कार्यान्वयनका लागि शहरी रोजगार तथा शहरी प्रवर्द्धन शाखाको अनुमोदन गराएर स्वीकृति लिएपछि कार्यान्वयनमा जाने अध्यक्ष शर्माले बताए ।

एसइइ उत्तीर्ण भएकालाई रु २५ हजार, प्लस टु गरेकालाई रु ५० हजार, स्नातक गरेकालाई रु ३ लाख र स्नातकोत्तर गरेकालाई रु ५ लाखसम्म कर्जा दिइने भएको छ । सोका लागि संस्थाले रु ५० लाख बजेट छुट्याइसकेको सहकारीका अध्यक्ष शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्