Logo

नेकपाको एकीकरण शुरु



Spread the love

२३ असोज, ओखलढुङ्गा – ओखलढुङ्गामा नेकपाको एकीकरण कार्यदलले काम थालेको छ ।

प्रदेश कमिटीले जिम्मेवारी तोकेको आठ सदस्यीय कार्यदलले जिल्ला र स्थानीय तहको पार्टी एकीकरण गर्ने काम शुरु गरेको हो । कार्यदलको बैठक बसेर जिल्लास्तरमा विभिन्न क्षेत्रगत समिति र स्थानीय तहस्तरमा सिफारिश समिति गठन गरिएको नेकपाका नेता मोहनकुमार श्रेष्ठले जानकारी दिए । कार्यदलको बैठकले तत्कालीन नेकपा एमालेको जिल्ला पार्टी कार्यालयलाई नेकपाको पार्टी कार्यालय बनाउने निर्णय गरेको छ ।

त्यस्तै, पार्टी कार्यालय सञ्चालन, सम्पत्ति तथा सङ्गठित सदस्यको अभिलेखीकरण गर्न नेत्रप्रसाद भट्टराई, खड्ग योगी, शङ्कर कट्वाल, विनोद सुनुवार, नरेन्द्र श्रेष्ठ र शम्भु धमला रहेको समिति गठन गरेको छ ।

कार्यदलको बैठकले जनवर्गीय तथा पेशागत सङ्गठन एकीकरणका लागि मोहन श्रेष्ठ, बाबुराम गौतम, निशान्त शर्मा र शकुन्तला राजभण्डारी रहेको समिति गठन गरेको छ । यो समितिले प्रेस, कर्मचारी, युवा, महिला, मजदुर लगायतका सङ्गठनलाई एकीकरण गर्नेछ ।

तल्लोस्तरमा बन्यो अर्को कार्यदल

पार्टी एकीकरणलाई व्यवस्थित बनाउन नेकपा ओखलढुङ्गाले स्थानीय तहमासमेत कार्यदल बनाएको छ । गाउँपालिका तथा नगरपालिकाको कमिटी एकीकरणमा सदस्य सिफारिश गर्न गाउँपालिका तहमा छ र नगरपालिका तहमा आठ सदस्यीय समिति गठन गर्ने निर्माणसमेत गरेको हो । तल्लो समितिबाट आएका सिफारिशका आधारमा एकीकरण टुङ्गो लगाइने नेता मोहन श्रेष्ठको भनाइ छ ।

जिल्ला पार्टीको एकीकरणका लागि सांसद एवं नेकपाका केन्द्रीय सदस्य सुनुवारसहित बाबुराम गौतम, मोहन श्रेष्ठ, मोहनकुमार खड्का, नेत्रप्रसाद भट्टराई, शकुन्तला राजभण्डारी, खड्ग योगी र निशान्त शर्मा रहेको जिल्लास्तरीय कार्यदल बनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्