Logo

काठमाडौँ ब्वाइजलाई गणेशमान फुटसल उपाधि



Spread the love

२३ असोज, काठमाडौँ – वीर गणेशमान दोस्रो स्मृति कप खुल्ला फुटसल प्रतियोगिताको उपाधि काठमाडौँ ब्वाइज क्लबले प्राप्त गरेको छ ।

नेपाल तरुण दल काठमाडौँ महानगरपालिका–२६ ले आयोजना गरेको उक्त प्रतियोगितामा ढुकु फुटसल क्लबलाई ५–३ गोलअन्तरले पराजित गरी काठमाडौँ ब्वाइज क्लबले प्रथम स्थान प्राप्त गर्न सफल भएको हो ।

प्रथम हुने काठमाडौँ ब्वाइज क्लबले रु २ लाख, मेडल र प्रमाणपत्र तथा दोस्रो हुने ढुकु फुटसल क्लबले रु १ लाख, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

यसैगरी तेस्रो हुने गंगटा युवा क्लबले रु ३० हजार र प्रमाणपत्र, चौँथो हुने रेड फुटसल टिमले रु २० हजार र प्रमाणपत्र प्राप्त गरेको जनाएको छ ।

विजेता खेलाडीलाई नगद, मेडल र प्रमाणपत्र वितरण गर्दै नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले युवाहरुलाई एकीकृत गर्न फुटसल प्रतियोगिताले महत्वपूर्ण भूमिका खेलेको बताए ।

“पछिल्लो समय शहरी क्षेत्रका युवाहरुलाई फुटसलले आकर्षित गरेको छ, यसलाई देशव्यापी फैलाउनु जरुरी छ ”, उनले भने ।

पार्टीका पूर्वमहामन्त्रीसमेत रहनुभएका नेता सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्वर्गीय गणेशमान सिंहको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै आन्दोलनबाट ल्याएको अधिकारलाई संस्थागत गर्नका लागि काङ्ग्रेस एकजुट हुनुपर्ने धारणा व्यक्त गरे ।

प्रदेशसभा सदस्य जीवन डङ्गोलले लौहपुरुषको सम्झनामा तरुण दल वडाले ठूलो नगदराशीसहित फुटसलको आयोजना गरेर राम्रो कामको थालनी गरेको बताए । तरुण दल काठमाडौँका अध्यक्ष कृष्णजी खड्का, पूर्व सांसद कौशर शाह, काठमाडौँ महानगरपालिका–२६ का अध्यक्ष ख्यामराज तिवारीलगायतले युवालाई खेलप्रति आकर्षण गर्ने उद्देश्यले २०४६ सालको जनआन्दोलनका कमाण्डर गणेशमान सिंंहको स्मृतिमा प्रतियोगिताको आयोजना गरेर उदाहरणीय कामको शुरुवात भएको बताए ।

असोज १९ देखि सञ्चालन भएको उक्त प्रतियोगितामा काठमाडौँ उपत्यकाभित्रका २२ समूहको सहभागीता थियो । गत वर्षदेखि शुरु भएको उक्त प्रतियोगिता आगामी वर्षमा रनिङ सिल्डका रूपमा विकास गर्दै लैजाने उद्देश्य रहेको तरुण दल–२६ का अध्यक्ष कृष्णबहादुर तामाङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्