Logo

मिस नेपाल श्रृंखला खतिवडाको ‘मिस वर्ल्ड’ तयारी



Spread the love

 

‘समृद्ध नेपाल, सुखी नेपाली हुनका लागि ३ महत्त्वपूर्ण काम के गर्नुपर्ला ?’ भनेर सोधिएको प्रश्नको उत्कृष्ट जवाफ दिँदै २८ चैत्र २०७४ को रात हेटौडाकी २२ वर्षीया श्रृंखला खतिवडा ‘मिस नेपाल वर्ल्ड २०१८’ को विजेता बनिन् ।

विजेता बने सँगै उनको र समग्र सौन्दर्य प्रतियोगिताको चर्चा-परिचर्चाले सबैतिरको माहौल रंगीन बन्न पुग्यो । अनेकथरीले अनेकथरीका कुरा झिके ।

एउटाले भन्यो, नेताकी छोरी रै’छे जितिहाल्छे नि !

अर्कोले थप्यो, फेरी एकपल्ट गरिबहरूको मजाक गरियो !

कसैले भने, यसपालि कि मिस नेपाल केही विशेष छिन् है । उनको बौद्धिकता र बोल्ने शैलीको त फ्यान भइयो गाँठे ।

कोहीले अड्कल थापे, केटी उसै परे मिस वर्ल्ड नै हुन नि बेर छैन यार ! के भन्छौ केटा हो ?

खैर ! यस्तै-यस्तै अनेक-अनेकका चियोचर्चोले सुरुका केही महिना खुबै गर्मिला बने । दिए सबले आ-आफ्ना प्रतिक्रिया । निभाए सबले आ-आफ्ना रोल । रसिलो भयो महफिल ।

अचेल बल्ल महफिल शान्त बनेको छ । आ-आफ्नो रोलबाट सन्यास लिएका छन् सबले ।

महफिलमा अहिले बस् एउटै पात्र मात्र सक्रिय छ । एक्लै तर निरन्तर ।

त्यो एक्लो पात्र अरू कोही नभएर स्वयम् श्रृंखला खतिवडा हुन् । जसले नेपालको पहिचान, गरिमा र पोजिटिभिटीलाई संसारै भरी पुर्‍याउन भनी दिनरात नगनी लागिरहेकी छिन् । तर यसमा न नेपाल सरकार कै कुनै चासो छ, न हामी नेपालीको । जबकि मिस वर्ल्डमा केवल उनी मात्रै जाने वाला छैनन् । सिङ्गो नेपाल जाने वाला छ । उनलाई त्यहाँ सम्बोधन गरिदा, ‘श्रृंखला खतिवडा’ को नामले होइन, ‘मिस नेपाल’ को नामले बोलाइने छ ।

तर पनि उनी पोजिटिभ छिन् । आफ्नो ब्रान्डेड मुस्कान मार्फत हरेक दिन सबैसँग सहयोगका लागि अपिल गरिरहेकी छिन् । आफ्नो र समग्र देश कै लक्ष्य, सपना र जिम्मेवारीको गोरेटोमा निरन्तर लागिरहेकी छिन् ।

स्वीट, पोजिटिभ एन्ड बोल्ड श्रृंखला

मान्छे अक्सर ३ खालका भेटिन्छन् ।

एक – जो आधा भरिएको गिलासमा माथि पट्टीको खाली भाग मात्र देख्छन् ।

दुई – जो सोही गिलासको आधा भरिएको पानी देख्छन् ।

तीन – जो गिलास भरिएको होस् या खाली बालै फरर ।

श्रृंखला दोस्रो दर्जामा पर्छिन् । उनका हरेक कुराकानी, अन्तर्वार्ता या भेटघाटबाट नै देखिन्छ, उनी कति पोजिटिभ छिन् भनेर । कुनै पनि घटना, सिस्टम र प्रवृत्तिबारेको उनको दृष्टिकोण पूर्णतः लोभलाग्दो छ । कम्तीमा पंक्तिकारलाई के लाग्छ भने, उनको स्वभाव हेर्दा, संसारको सम्पूर्ण पोजिटिभ चार्ज अक्सर उनी मै केन्द्रित छ ।

उनी जति पोजिटिभ छिन्, त्यति नै स्वीट, बौद्धिक र बोल्ड पनि । उनको बौद्धिकताको प्रशंसक नै धेरै भैसकेका छन् । कुनै पनि कुरालाई सुझबुझका साथ विश्लेषण गर्दै त्यसमा गहिरो तर्क पेस गर्न सक्नु उनको सबल पक्ष हो । देश-समाजका हरेक महत्त्वपूर्ण सवालहरूमाथि उनका प्रभावशाली विचारहरू लगातार आइरहेका हुन्छन् । राजनीतिक पृष्ठभूमिको परिवारबाट भएर पनि होला उनी देशका सम्पूर्ण गतिविधिबारे सधैँ जानकार एवम् सचेत हुन्छिन् ।

स्कुले दिन देखी नै पढाइमा अब्बल रहेकी श्रृंखला, एसएलसी र प्लस टु दुवैमा डिस्टिङ्सन ल्याएकी थिइन् । त्यस्तै पुल्चोक इन्जिनियरिङ्ग क्याम्पसबाट आर्किटेक्चरमा स्नातक गरेकी उनी थेसिस टपर समेत हुन् । उनले लुमन्ती सपोर्ट समूहमा आर्किटेक्टका रूपमा काम गरेको अनुभव समेत बटुली सकेकी छिन् । उनी लेखनमा पनि उत्तिकै रुचि राख्छिन् । विशेष गरी अङ्ग्रेजी भाषामा उनको लेखन दक्षता निकै सुन्दर छ ।

यसर्थमा पनि उनलाई मिस नेपालको इतिहासमा एक बलियो प्रतिस्पर्धीको रूपमा हेर्ने गरिएको छ । उनी मिस वर्ल्डको यात्रामा सशक्त दरिने धेरैको अनुमान छ ।

मिस वर्ल्ड तयारी

चीनको सान्यामा डिसेम्बर ८ अर्थात् मङ्सिर २२ गते शनिवार हुने ‘मिस वर्ल्ड’ प्रतियोगिताका लागी ‘मिस नेपाल वर्ल्ड’ श्रृंखला खतिवडाले नेपालको प्रतिनिधित्व गर्ने छिन् । त्यहाँ उनले संसारभरिका विभिन्न देशबाट आएका १ सय २० सुन्दरीहरू सँग प्रतिस्पर्धा गर्नु पर्ने छ । ‘ब्युटी पिजन्ट’ अन्तर्गतका विभिन्न इभेन्टहरूमा उनीहरूको ट्यालेन्टका आधारमा मिस वर्ल्डको छनौट हुनेछ ।

के हाम्रीमिस नेपाल वर्ल्ड २०१८को मिस वर्ल्ड तयारी ?

ब्युटी विथ पर्पसको तयारी

मिस वर्ल्ड प्रतियोगिताका लागि विभिन्न फरक-फरक इभेन्टहरूमा प्रतिस्पर्धा हुने गर्छ । त्यसमध्येको एक हो, ‘ब्युटी विथ अ पर्पस’ अर्थात् ‘उद्देश्य सहितको सौन्दर्य’ । यसका लागि विभिन्न देशका सुन्दरीहरूले आ-आफ्नो उद्देश्य सहितको वृत्तचित्र प्रस्तुत गर्नु पर्ने हुन्छ । यस अघि सन २०१३ मा नेपालका लागि पहिलोपल्ट ईशानी श्रेष्ठले उक्त उपाधि जितिसकेकी छिन् ।

नेपालबाट लिनुपर्ने विषयवस्तुहरू अनेक छन् । के लाने त ?

सुरुदेखी नै शृंखला अन्योलमा परिन् । तर उनी यति चैँ निश्चित थिइन् कि, जे गरे पनि म सकभर महिला र बालबालिकाको क्षेत्र मै गर्छु ।

यस्तैमा एक दिन उनी मकवानपुरको कैलाश गाउँपालिका ७ भार्तामा रहेको चेपाङ बस्तीमा पुगिन् । त्यहाँका बृद्धबृद्धा, बालबालिका सँग बसिन् । कुराकानी गरिन् । चेपाङ जाति आफैँमा नेपालको एउटा पिछडिएको जाति हो । समस्याहरू अनेक थिए ।

तस्बिरमा : चेपाङ बस्तीमा मिस नेपाल खतिवडा ।

एक जना महिला भेटिइन्, जसका नौ जना छोराछोरी रैछन् । बालविवाह दर झन्डै ८६ प्रतिशत सम्म पाइयो । एउटा प्राथमिक स्कुलमा जाँदा सबैजसो बालबालिकामा कुपोषणको समस्या ।

सुनियो, एक जना १५ वर्षीय किशोरी आमाको असुरक्षित डेलिभरीका कारण मृत्यु भएछ । सुनियो, एक जना २२ वर्षे केटा रुखबाट खसेर समय मै उपचार हुन नपाउँदा मृत्युको मुखमा पर्नु परेछ । सुनियो, यस्तै यस्तै असङ्ख्य पिडाका डोबहरू । सामान्य स्वास्थ्य जाँचका लागि मात्रै पनि उनीहरूलाई पुरै ३-४ घण्टाको बाटो हिँड्नु पर्ने हुन्थ्यो ।

शृंखला चकित भइन् । उनले यस्ता घटना केवल समाचारमा मात्र सुनेकी थिइन् । आफ्नै अगाडि देख्दा उनको कोमल मन खुबै रन्थनियो ।

त्यही गाउँ मै कैयौँ किशोरीहरूको सानै उमेरमा विवाह भएर पिठ्युँमा बालबच्चा बोकेर काममा खट्टिरहेका भेटिए । पाठेघरको समस्याले पिरोलिएका आमाहरू । सामान्य स्वास्थ्य सुविधाको अभावमा निहत्था ज्यान गुमाइरहेका कलिला मुस्कानहरू । जन्मजात खुसी लुटिएका मनहरू । असुरक्षित ढङ्गले सुत्केरी भइरहेका दिदीबहिनीहरू । शृंखला मन निकै कोतरियो । त्यसै दिन उनले चेपाङ बस्तीका लागि स्वास्थ्य चौकी बनाउने र मिस वर्ल्डमा त्यसकै वृत्तचित्र प्रस्तुत गर्ने अठोट लिइन् । अनि, सुरु भयो उनको यात्रा ।

आफैँमा एक आर्किटेक्ट । उनलाई स्वास्थ्य चौकी डिजाइन गर्न कुनै समस्या नै थिएन । डिजाइन तयार भयो । समयको पावन्दी । लिमिटेड बजेट । त्यसैले उनले स्थायी प्रि-फ्याब्रिकेटेड सामाग्रीको प्रयोग गर्ने निर्णय गरिन् ।

तस्बिरमा : मिस नेपाल शृङ्खला खतिवडा, चेपाङ बस्ती र स्वास्थ्य चौकीको डिजाइन ।

डिजाइन अनुसार स्वास्थ्य चौकी बिलकुल अपाङ्ग, अशक्त तथा बालबालिका मैत्री, वातावरण मैत्री, तापरहित एवम् हलुका हुनेछ । उनको अपेक्षा छ कि चौकी निर्माण सँगै गाउँमा सुरक्षित डेलिभरी, स्वास्थ्य जनचेतना कार्यक्रम, पोषण कार्यक्रम, परिवार नियोजनका कार्यक्रमले तीव्रता पाउने छन् । ताकी स्वास्थ्यलाई सुविधा हैन, आवश्यकताको रूपमा हेरिनेछ ।

उनलाई यसमा गोरखा इको प्यानलले करिब १२ लाख बराबरको सामाग्री सहयोग गर्ने भएको छ भने हङकङमा रहेका नेपालीले मात्रै झन्डै ७ लाख रकम सहयोग गर्ने भएका छन् । चौकीको इन्जिनियरिङ्ग पाटो ‘वन होम फाउन्डेसन’बाट गरिदैछ ।

स्वास्थ्य चौकीको निर्माण पश्चात् त्यहाँको स्थानीयलाई गाउँपालिका अन्तर्गत रहने गरी हस्तान्तरण गरिने छ ।

सल्लेरी खबरसँगको बसाइमा मिस नेपाल खतिवडाले उनको यस अभियानका लागि सबैको सहयोग आवश्यकता रहेको बताएकी छिन् ।

अन्य तयारी

मिस वर्ल्डमा श्रृंखलाले नेपाली संस्कृति झल्किने प्रस्तुति पनि दिने भएकी छिन् ।

उनको इन्ट्री भिडियो सुटका लागि नेपाली दक्ष भिडियोग्राफी टोली सँगै उनी केही दिन अघि मात्रै रसुवाको गोसाइकुण्ड गएर आइसकेकी छिन् ।

द हिडन ट्रेजरका अनुसार मिस वर्ल्डको तयारीका लागि यसपल्ट विदेशबाट स्पेसल प्रशिक्षणकर्तालाई समेत ल्याइएको छ । जसले गर्दा यस पटक नेपालबाट मिस वर्ल्डको सम्भावनालाई नकार्न नसकिने उनीहरूको भनाइ छ ।

साथै, ‘ट्यालेन्ट शो’ का लागि उनले जोन लेननको गीत ‘इम्याजिन’ गाउने तयारी गरिरहेकी छिन् ।

नेपाली कला, संस्कृति एवम् चिनारी झल्किने गरी थप के-कस्ता प्रोजेक्ट गर्न सकिन्छ भन्ने बारे पनि काम भइरहेको छ ।

ग्ल्यामर तथा मोडलिङको क्षेत्रबाट नभएका हुनाले त्यस्ता किसिमका प्रतिस्पर्धामा कमजोर भइने हो कि भन्ने उनको डर छ । तर पनि उनी पूर्ण विश्वस्त छिन् । सँगै पोजिटिभ पनि ।

श्रृंखलाको अपेक्षा

उनको अपिल छ,“मिस नेपाललाई सरकारले सम्मानसाथ सहयोग गर्नु पर्छ । किनकि हामी आफ्नो लागि नभएर देशको प्रतिनिधित्व गरेर जाँदै छौँ । जसले गर्दा हामीलाई पनि हौसला र पोजिटिभिटी मिल्ने थियो ।”

उनलाई लाग्छ कि, सर्वप्रथमत हामी नेपालीहरूको सोच मै पनि परिमार्जन गर्नु पर्ने देखिन्छ । मिस नेपाल कुनै ग्ल्यामरको क्षेत्र मात्रै नभएर एउटा यस्तो सुन्दर प्ल्याटफर्म हो । जस मार्फत विभिन्न सीप, सोच्ने तरिका, नेतृत्व कला, समाजसेवाको भावना सिक्न र प्र्याक्टिस गर्न पाइन्छ ।

उनको नजरमा मिस नेपाल एउटा यस्तो अवसर हो, जसले कतै गुम्सिएर रहेको महिला आवाज र विचारलाई सबै सामु बुलन्द पार्दिन्छ । त्यसैले यसलाई केवल सौन्दर्य प्रतियोगिताको रूपमा मात्र नलिन उनको अपिल छ ।

संसारका कुना कन्दरामा रहेका सबै नेपाली मनहरूबाट स-सम्मान सक्दो सहयोग पाइयोस् भन्ने उनको अपेक्षा रहेको छ ।

जाँदाजाँदै

सुन्दरता आफैँमा एक दृष्टिकोण हो । गोरो-कालो-अग्लो-होचो यसको मानक पक्कै होइन । यसर्थमा पनि सौन्दर्य प्रतियोगिता भैरहदा हरेकपल्ट हामी आपसमा बाँझिरहेका हुन्छौँ । आ-आफ्नो देख्ने-सोच्ने-बुझ्ने क्षमताका आधारमा बहस भइरहेका हुन्छन् नै । यो स्वाभाविक पनि हो ।

तर सङ्कुचित सोच लिएर केवल एकोहोरो रटान हान्नुले हामी कतै अधोगतितिर उन्मुख त भइरहेका छैनौँ ? प्रश्न पक्कै उठ्न सक्छ ।

त्यसैले सबैले के बुझ्न चैँ जरुरी छ भने, ‘मिस नेपाल’ केवल ग्ल्यामर मात्रै पक्कै होइन । प्रत्येक वर्ष विश्व प्रतिस्पर्धाको फ्लोरमा जाने मिस नेपालहरूले केवल ग्ल्यामर या सुन्दरता मात्रै लिइरहेका छैनन् । सँगै लिइरहेछन्, नेपाली सुगन्ध, पहिचान र अनेकतामा एकताको चिनारी पनि ।

त्यसकारण पनि यिनीहरू हाम्रा गहना हुन्, जसलाई विश्व महफिलमा कत्तिको चम्किलो प्रस्तुत गर्ने भन्ने हाम्रै हातमा छ ।

‘मिस वर्ल्ड’का लागि श्रृङखला खतिवडालाई पंक्तिकार लगायत सम्पूर्ण सल्लेरी खबरको तर्फबाट अग्रिम शुभकामना !!!

स्पेशल नोट :
मिस वर्ल्ड प्रतियोगिताबारे अप्डेट हुँदै मिस नेपाल खतिवडालाई विभिन्न रुपमा सहयोग गर्न चाहनु हुनेका लागि, उनको सोसल मिडिया ठेगाना ;
१. इन्स्टाग्राम 

२. फेसबुक

ooo

लेखकबाट थप :
१. सम्झनामा काठमाडौंका घरबेटी
२. कलंकी एक्सप्रेस
३. सर्ट फिल्मका कुमार
४. इनोभेसनको यात्रा
५. रिङ्गरोड अर्थात स्वर्ग जाने बाटो

ooo

ooo

'प्रमोद' सल्लेरी खबरका लागि कला-साहित्य-विविधमा कलम चलाउँछन् ।

प्रतिक्रिया दिनुहोस्