Logo

स्थानीय तहबाट दशैँ बजार अनुगमन



Spread the love

३१ असोज, परासी – पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले दशैँका अवसरमा पहिलोपटक बजार अनुगमन गरेको छ ।

यसअघि जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा बजार अनुगमन हुँदै आएकामा स्थानीय तहबाटै बजार अनुगमन गर्न निर्देशिका बनेपछि अनुगमन भएको हो ।
अनुगमन क्रममा रामग्राम नगरपालिकाकी उपप्रमुख रम्भा कुँवर आफैँ सदरमुकाम परासी बजारमा निस्किउका थिए । स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले स्थानीय तहका उपप्रमुखलाई बजार अनुगमनको संयोजकको जिम्मेवारी दिएको छ । नगरपालिकाले परासी बजारका ३० वटा विभिन्न प्रकृतिका पसलमा अनुगमन गरेको छ ।

अनुगमनको क्रममा अधिकांश मासु पसल मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएको छ । अधिकांश मासु पसलले आफ्नै घरबाट मासु काटेर पसलमा ल्याएर बेच्ने, सरसफाइमा ध्यान नदिने गरेको भेटिएको थियो । खशीको मासु भनेर बाख्रीको मासु बेचिरहेको भेटिएकाले घरमै मासु काटेर बेच्नु शङ्कास्पद भएकोले अबदेखि व्यवस्थित बधशालामै काटेर मासु बेच्न निर्देशन दिइएको उपप्रमुख कुँवरले बताए ।

यसैगरी किराना, होटल तथा मिठाई पसलमा म्याद नागेका पेय पदार्थ, लेभल नभएका वस्तु बिक्री वितरण भइरहेको भेटिएपछि अनुगमन समितिले जफत गरी त्यस्ता वस्तु नष्ट गरेको छ भने आइन्दा फेरि यस्तो लापर्वाही दोहोरिए कारवाही प्रक्रिया अगाडि बढाउने चेतावनी दिइएको छ ।

उपभोक्ता हित संरक्षण मञ्चका जिल्ला अध्यक्ष रामजी ज्ञवालीले देखावटी अनुगमनभन्दा विज्ञसहित प्रभावकारी बजार अनुगमन हुनुपर्ने माग गरे ।

प्रतिक्रिया दिनुहोस्