Logo

चिकित्सा शिक्षा विधेयक अगाडि बढाइने



Spread the love

१४ कात्तिक, काठमाडौँ – प्रस्तावित ‘चिकित्सा शिक्षा विधेयक २०७५’ लाई छिटोभन्दा छिटो सहमतिका आधारमा संसद्मा पेश गर्न सांसदले जोड दिएका छन् ।

सरकार र प्रा डा गोविन्द केसी बीचमा सो विधेयक संसद्मा शीघ्र पेश गरी पारित गराउने सहमति भएको थियो । सो सहमतिका आधारमा विधेयकमाथि सत्तापक्ष र विपक्षका २३ जना सांसदले विभिन्न बँुदामा संशोधन दर्ता गराएका थिए ।

हाल सो विधेयक प्रतिनिधि सभा, शिक्षा र स्वास्थ्य समितिअन्तर्गतको उपसमितिमा छलफलमा छ । समितिको आज बसेको बैठकमा समितिका सदस्यले विधेयकलाई अगाडि बढाई सहमति खोज्न आग्रह गरेका थिए ।

समितिका सदस्य एवं पूर्वमन्त्री खगराज अधिकारीले संसद्को गत अधिवेशनमा पेश गर्ने तयारी हुँदाहुँदै प्राविधिक कारणले रोकिएको विधेयकलाई उपसमितिले सहमतिका आधारमा टुङ्गोमा पुर्याई समितिसमक्ष पेश गर्न आग्रह गरे ।

समितिका अर्का सदस्य योगेश भट्टराईले विधेयकले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा बहुआयामिक प्रभाव पार्ने चर्चा गर्दै आग्रह एवं पूर्वाग्रहविना विधेयकमाथि अझ व्यापक छलफल आवश्यक रहेको बताए ।

समितिका सदस्य मनकुमारी जिसी, हितबहादुर तामाङ, एकल मियाँले शिक्षा र स्वास्थ्यका कार्यक्रमका अनुगमनको आवश्यकता रहेको बताए ।

बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्र यादवले समग्र स्वास्थ्य सुधारका लागि उपकरण, औषधि तथा जनशक्ति तीनै क्षेत्रमा काम भइरहेको जानकारी दिए । समितिका सभापति जयपुरी घर्तीको सभापत्विमा सो बैठक सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्