Logo

२ सय बाँदर नियन्त्रणमा



Spread the love

१५ कात्तिक, पर्वत – बाँदरले बालीनाली सखाप पारेको गुनासो बढेपछि महाशिला गाउँपालिकाले चालू आवको हालसम्म २०० भन्दा बढी बाँदर नियन्त्रणमा लिएको छ ।

दोस्रो गाउँसभाबाट बजेट नैै छुट्याएर बाँदर नियन्त्रण योजना अघि सारेको गाउँपालिकाले हालसम्म ६ वटै वडाबाट गरी तीन महीनामा २२० बाँदर नियन्त्रणमा लिएको गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उच्चैले जानकारी दिए । दोस्रो गाउँसभाले बाँदर नियन्त्रणको सङ्कल्प प्रस्तावसहित रु ३० लाख विनियोजन गरेको थियो ।
बाँदर नियन्त्रणका लागि भारतीय, स्थानीयवासी र प्रहरी गरी २० जनालाई परिचालन गरिएको छ । नियन्त्रणमा लिइएका बाँदरलाई वडा नं ४ स्थित पाखापानीमा सुरक्षित खोर बनाएर राखिएको छ । बाँदर बर्दिया राष्ट्रिय निकञ्जमा लैजाने गाउँपालिका र निकुञ्जबीच कुर भए पनि प्रदेश सरकार, वन विभाग, वन तथा वातावरण मन्त्रालयलगायत झण्डै एक दर्जन निकायको सहमति आवश्यक पर्ने भएकाले पठाउन नसकिएको प्रवक्ता उच्चैले जानकारी दिए ।

यसरी नियन्त्रण गरेपछि बालीनाली जोगिए पनि यिनीहरुलाई दैनिक पालनपोषण गर्न, दानापानी खुवाउन र औषधि उपचार गर्न समस्या परेको बताइएको छ ।

बाँदरलाई दैनिक आवश्यक पर्ने खानाका लागि फलफूल, मकै, धान, तरकारी, आलु स्थानीयवासीले नै दिँदै आएका छन् । दैनिक ५० किलोग्रामभन्दा बढी खाद्यान्न आवश्यक पर्ने अध्यक्ष पौडेलले बताए । आधुनिक प्रविधिको पासो लगाएर बाँदर नियन्त्रण गर्ने काम जारी छ । भोक्सिङ, लुङ्खु, बालाकोट, पाखापानी र होश्राङीमा बाँदरले मकै, कोदो, गहुँ, धान, फलफूल तथा तरकारी बाली सखाप पार्ने गरेकामा गत साउनयता धेरै नियन्त्रण भएको महाशिला–५ की सरस्वती अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्