Logo

विद्यार्थीले बनाए ड्रोन



Spread the love

१५ कात्तिक, दमौली – तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलगौँडास्थित पञ्चमुनिदेव माध्यमिक विद्यालयमा अध्ययन गर्ने दुई विद्यार्थीले ड्रोन बनाएका छन् ।

कक्षा ९ मा अध्ययनरत सफल सापकोटा र १० मा अध्ययनरत सञ्जोग सापकोटाले ड्रोन बनाएका हुन् । उनीहरु सहोदर दाजुभाइ हुन् ।

युट्युबको सहाराले आफूहरुले ड्रोन बनाउन सफल भएको उनीहरुले बताए । बिदाको सदुपयोग गर्दै रु २० हजारको लागतमा ड्रोन तयार भएको सञ्जोगले बताए । बिदाको समयमा केही नयाँ प्रयोग गर्न रुचाउने सापकोटा दाजुभाइले घरपरिवारको सहयोगमा ड्रोन बनाउन सफल भएका हुन् । “केही नयाँ प्रयोग गर्ने सिलसिलामा युट्युबमा ड्रोनको विषयमा खोजबिन गर्याैँ र ड्रोन बनाउन सफल भयौँ”, उनीहरूले भने । ७० ग्राम तौल रहेको ड्रोन करीब ५० फिट उचाइ र ५५ मिटर वरपरसम्म उड्न सक्ने उनीहरूले जानकारी दिए । ड्रोनमा रिसिभर, चार वटा गेर बक्स, चार वटा मोटर, एक ब्याट्री र क्यामरा जडान गरिएको छ ।

सानै उमेरदेखि नै प्रविधितर्फ रुचि राख्ने सापकोटा दाजुभाइले रिमोट कन्ट्रोल, हाइड्रोलिक ट्रक, डोजर लगायतका सामग्रीसमेत निर्माण गरिसकेका छन् ।
सापकोटा दाजुभाइले आफूले बनाएको ड्रोन विद्यालयमा समेत प्रदर्शन गरिसकेका छन् । विद्यालयका साथीभाइ, घरपरिवार र शिक्षकबाट पाएको हौसलाले आफूहरुलाई नयाँनयाँ प्रविधि निर्माणमा थप प्रेरणा मिलेको सापकोटाले बताए ।

प्रतिक्रिया दिनुहोस्