Logo

‘मुख्यमन्त्रीको निर्णयविरुद्ध बहस चल्नेछ’



Spread the love

२० कात्तिक, काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता केशव स्थापितले आफूलाई प्रदेश नं ३ को भौतिक पूर्वाधारमन्त्रीको जिम्मेवारीबाट पदमुक्त गर्ने मुख्यमन्त्रीको निर्णयविरुद्ध पार्टीभित्र गम्भीर बहसको विषय बनाउने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालद्वारा आज आयोजित साक्षात्कारमा उनले विकास निर्माणप्रति आफ्नो सक्रिय क्रियाकलापलाई बीचमै रोक्न मुख्यमन्त्रीले आफूलाई पदमुक्त गरेको आरोप लगाए ।

प्रदेश नं ३ का प्रदेशसभा सदस्यसमेत रहनुभएका नेता स्थापितले भने, “प्रदेश सरकार गठन भएपछि देश विकासमा धेरै योगदान गरेको छु, जिम्मेवारीबाट मुक्त भएपछि हलुका महसुश भएको छ, पार्टीको स्वीकृति बिना जिल्लामा औपचारिक कार्यक्रममा जान नमिल्ने हुनाले मन्त्रीमा रहँदा रसुवाबाहेक सबै जिल्ला पुगेर विकास निर्माणका विषयमा छलफल गरी सुझाव लिने काम गरेको छु ।”

तिहारलगत्तै चार अर्ब रकम बराबरका सडक र पुलको बोलपत्र गर्ने तयारी गरेको तथा २७ अर्ब रकम बराबरका विभिन्न आयोजना अघि बढाउने काममा जुटिरहेको बेला प्रगति शून्य भएको भन्ने आरोप आफैँमा हास्यास्पद रहेको बताउँदै उनले अनियमिततालगायत आफूमाथि लगाइएको आरोप पुष्टि गर्न चुनौती दिए ।

प्रदेशको राजधानी र केही पूर्वाधार निर्माणबारे मुख्यमन्त्रीसँग आफ्नो मतैक्यता हुन नसकेको जनाउँदै नेता स्थापितले मुख्यमन्त्री स्वयम्ले नै विकासको गति दिन नसकेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्