Logo

डायलाइसिस सेवा सञ्चालन हुने



Spread the love

२१ कात्तिक, बुटवल – मिर्गौलाको नियमित डायलाइसिस गर्दै आएका बिरामीलाई लक्षित गरी गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले पाल्पामा नै डायलाइसिस सेवा सञ्चालन गर्ने भएको छ ।

हाल बन्द अवस्थामा रहेको तानसेन नगरपालिका वडा नं ६ स्थित श्री प्राथमिक विद्यालय लहरेपिपलको भवनमा सो सेवा सञ्चालन गरिने अस्पतलाले जनाएको छ ।

तानसेनमा डायलाइसिस सेवा सञ्चालन भएपछि पाल्पासँगै छिमेकी जिल्ला अर्घाखाँची, गुल्मी, स्याङ्जा र बागलुङबाटसमेत मिर्गाैलाको नियमित डायलाइसिस गराउन बुटवल आउनुपर्ने बिरामीलाई राहत मिल्नेछ । डायलाइसिस सेवाको अभावमा हाल सो क्षेत्रका मिर्गौला बिरामी बुटवल, भैरहवा, चितवन तथा काठमाडौँमा पुगेर सेवा लिन बाध्य छन् ।

हाल पाल्पा जिल्लाबाट गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा मात्र ४८ जना मिर्गाैलाका बिरामीले नियमित डायलाइसिस सेवा लिन आउने गरेका छन् । त्योसँगै पाल्पाका लागि पायक पर्ने गुल्मी, अर्घाखाँची, स्याङ्जा र बागलुङबाट ६२ जना बिरामी नियमित डायलाइसिसका लागि आउने गरेको अस्पतालले जनाएको छ ।

मिर्गौलाको डायलाइसिसका लागि हप्तामा दुईदेखि तीनपटकसम्म बाहिर जानुपर्ने बिरामीको बाध्यतालाई मध्यनजर गरी सो अस्पतालले उक्त सेवा सञ्चालनका लागि जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय र तानसेन नगरपालिकासँग स्थान उपलब्ध गराइदिन आग्रह गरेको थियो ।

अस्पतालको आग्रहअनुरुप जिल्ला समन्वय समिति पाल्पाको पहलमा प्रदेशसभा सदस्य, जिल्ला प्रशासन कार्यालय, तानसेन नगरपालिका, राजनीतिक दलका प्रतिनिधि, विभिन्न सङ्घसंस्था तथा सरोकारवालासहितको सर्वदलीय र सर्र्वपक्षीय भेलाले बन्द अवस्थामा रहेको विद्यालयको उक्त भवन डायलाइसिस सेन्टरका लागि उपलब्ध गराउने निर्णय गरेको हो ।

रोटरी इन्टरनेशनलको सहयोगमा १० वटा मेसिन जडान गरी मङ्सिर महीनासम्म डायलाइसिस सेवा सञ्चालन गरिने अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिए । गौतमबुद्ध सामुदायिक मुटु अस्पताल मिर्गौलाको डायलाइसिसका लागि स्वास्थ्य मन्त्रालयमा सूचीकृत भई बिरामीलाई निःशुल्क सेवा दिँदै आएको छ । डायलाइसिससँगै मिर्गाैलाका बिरामीले गर्नुपर्ने नियमित रगत परीक्षणसमेत अस्पतालले निःशुल्क गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्