Logo

उपत्यकाबाट ८ मेट्रिक टन फोहर व्यवस्थापन



Spread the love

२४ कात्तिक, काठमाडौँ – उपत्यकाका नदी र चक्रपथ सफाइ गरी आठ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

वाग्मती सफाइ महाअभियानको २८७ औँ हप्तामा गुह्येश्वरी मन्दिरअघिको नदी किनारमा सफाइ गरियो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत २१ संस्थाका ७१० भन्दाबढी अभियानकर्मीको सहभागिता थियो ।

छठ पर्वलाई ध्यान दिएर गुह्येश्वरी नजिकको वाग्मती किनारमा सफाइ गरिएको हो । सफाइसँगै अमेरिकाको ग्रीन हर्ट ब्याण्डले पानी जीवन हो भन्ने भावको साङ्गीतिक कार्यक्रमसमेत आयोजना गरेको थियो ।

सफाइबाट चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अधिकार सम्पन्न वाग्मती समितिकी सञ्चालक सदस्य माला खरेलले जानकारी दिए । सफाइमा नायिका करिष्मा मानन्धर पनि सहभागी थिइन् ।

मुहानदेखिकै वाग्मती सफाइ अभियानमा जुटेको वाग्मती सुन्दरता सरोकार मञ्चले २४८ औँ हप्ताको सफाइ पनि गुह्यश्वरी क्षेत्रमै गर्यो । तिलगङ्गा महिला समूहले १८९औँ हप्ता र आलोकनगर सफाइ अभियानले ८३औँ हप्ताको सफाइसमेत गुह्येश्वरीमै गरेका थिए ।

रुद्रमती सफाइको २४२औँ हप्तामा रातोपुल–सेतोपुल हुँदै बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर क्षेत्रसम्म सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा १५० भन्दा बढी अभियानकर्मीको सक्रियता थियो । नदी किनारमा रोपिएका बिरुवामा पानी हाली गोडमेल र स्याहार गर्न नजिकका घरधनीलाई अनुरोध गरिएको अभियानकर्मी रोहित गिरीले बताए ।

सफाइमा महानगरपालिका वडा नं ३० का अध्यक्ष दलबहादुर कार्की लगायत स्थानीयवासीको सहभागिता थियो । मनोहरा सफाइको ८७औँ हप्तामा महानगरपालिकाको ३२ नं वडास्थित बिपी नेत्र अस्पतालअघिको नदी किनारमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा जिल्ला समन्वय समिति काठमाडौँका उपप्रमुख सरिता दाहालसहित ११० भन्दाबढी अभियानकर्मीको सक्रियता रहेको संयोजक चन्द्रप्रसाद दङ्गालले जानकारी दिए ।

चक्रपथ सफाइको ८३ औँ हप्तामा नयाँ बसपार्क क्षेत्रमा सफाइ गरियो । तिहारको भोलिपल्ट भए पनि कार्यक्रमलाई निरन्तरता दिइयो ।

चक्रपथ बाफल खण्डको ६५औँ हप्तामा स्युचाटारबाट सोल्टीदोबाटोसम्मको क्षेत्रमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा २०० भन्दा बढी अभियानकर्मीको सक्रियता रहेको सफाइ संयोजक ताराबहादुर कुँवरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्