Logo

राजनीतिमा युवा सहभागिता बढाउनुपर्छ: महामन्त्री कोइराला



Spread the love

२ मङ्सिर, विराटनगर – नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले राष्ट्र निर्माणका लागि राजनीतिमा युवाको सहभागिता बढाउनुपर्ने बताएका छन् ।

विराटनगर कोइराला निवासस्थित जिपी फाउण्डेशन प्रदेश नं १ कार्यालयको आज महामन्त्री कोइराला, केन्द्रीय सदस्य डा शेखर कोइराला र फाउण्डेशनका केन्द्रीय सभापति सुजाता कोइरालाले संयुक्तरुपमा उद्घाटन गरेको कार्यक्रममा उनले सो कुरा बताएका हुन् । महामन्त्री कोइरालाले पार्टीको उज्ज्वल भविष्य निर्माण गर्न एकताको विकल्प नरहेको र यसैको माध्यमबाट देशको विकास हुने कुरामा जोड दिए । उनले विगतमा काङ्ग्रेसका नेता गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा रहेको सरकारबाट धेरै परिवर्तनका काम भएको स्मरण गराउँदै कोइराला परिवारका हामी तीनै जना नेता एक रहेको स्पष्ट पारे ।

केन्द्रीय सदस्य डा शेखरले सरकार स्थिर भए पनि देशको राजनीतिमा तरलता छ भन्दै काङ्ग्रेसमा संवादहीनताका कारण पार्टीभित्र समस्या देखापरेको बताए । जिपी फाउण्डेशनका सभापति सुजाताले काङ्ग्रेसको पहिचान समाजवाद, राष्ट्रियतालाई कसैले पनि बिर्सन हुँदैन भन्दै जननायक नेता बिपी कोइरालाको सपना पूरा गर्न सहमति, सहकार्य र एकताको खाँचो छ भने ।

कार्यक्रममा जिपी फाउण्डेशन प्रदेश नं १ का सभापति इन्दिरा थापा, काङ्ग्रेसका नेता अमृत अर्याल, हसन अन्सारी, पदमनारायण चौधरी, सांसद सीताराम मेहता, रञ्जीत कर्ण, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, नेपाली काङ्ग्रेस मोरङका सभापति डिकबहादुर लिम्बूले बोलेका थिए । कार्यक्रम स्थलमा नेपाली राजनीतिका शिखर पुरुष पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको तस्बीर पनि प्रदर्शनमा राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्