Logo

राष्ट्रिय परिचयपत्र वितरणको शुभारम्भ



Spread the love

३ मङ्सिर, फिदिम – गृहमन्त्री रामबहादुर थापाले पाँचथरको फिदिम नगरपालिका–४ की १०१ वर्षीया भगवतीदेवी भण्डारीलाई नेपालमै पहिलो राष्ट्रिय परिचयपत्र प्रदान गरेर वितरण कार्यको शुभारम्भ गरेका छन् । सो अवसरमा गृहमन्त्री थापाले समेत वयोवृद्धा भण्डारीबाट राष्ट्रिय परिचयपत्र ग्रहण गरेका छन् ।

सो अवसरमा गृहमन्त्री रामबहादुर थापाले मुलुकमा सुशासन र स्थिरता कायम गर्न तथा समृद्ध राष्ट्र निर्माण गर्न राष्ट्रिय परिचयपत्र महत्वपूर्ण रहेको बताए । आधुनिक, वैज्ञानिक र भरपर्दो सूचना प्रणालीबाट मात्रै मुलुकका सम्पूर्ण विषय तथ्यमा भेटिने गृहमन्त्री थापाको भनाइ थियो ।

“देशका समग्र सूचना एकीकृत नभएसम्म मुलुकलाई आवश्यक कुरा के हो भनेर बुझ्न समेत कठीन पर्दछ” गृहमन्त्री थापाले भने, “तथ्याङ्ककै आधारमा मुलुकको विकास र समृद्धिको योजना तय गर्न सकियो भने मुलुकको विकास तीव्र गतिमा हुन सक्छ ।”

गृहमन्त्री थापाले जनताले विकास, सुशासन, समृद्धि र स्थायित्व चाहेकाले जनचाहना पूरा गर्न पनि राष्ट्रिय परिचयपत्रको ठूलो महत्व हुने उल्लेख गरे । उनले देशका सबै जिल्लामा राष्ट्रिय परिचयपत्र वितरणको कार्य अघि बढाउन प्रक्रिया शुरु भइसकेको जानकारी दिए ।

गृहमन्त्री थापाले नयाँ राजनीतिक प्रणाली लागू गर्ने क्रममा केही जटिलता पैदा भएको बताए । उनले जटिलतालाई सुशासन कायम भएन भनेर हल्ला फैलाउने कार्य भइरहेको बताउँदै त्यस्ता भ्रम चिर्न आवश्यक रहेको बताए ।

समारोहमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ बाट राष्ट्रिय परिचयपत्र वितरणको कार्य शुरु हुनु प्रदेशका लागि गर्वको विषय रहेको बताए । उनले मुलुक सङ्घीयता कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको बताउँदै सङ्घीयताको सफलताबाट मात्रै जनआकाङ्क्षा पूरा हुने बताए ।

गृह मन्त्रालयका सचिव प्रेमकुमार राईले दुई वर्षभित्र देशका सबै जिल्लाबाट राष्ट्रिय परिचयपत्र वितरणको कार्य थालनी हुने जानकारी दिए ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्लेले सबैै नेपालीको जैविक र वैयक्तिक विवरण समावेश भएको राष्ट्रिय परिचयपत्र सबै नेपालीका हातमा पुर्याउने कार्य पाँचथरबाट प्रारम्भ भएको जानकारी दिए ।

राष्ट्रिय परिचयपत्रमा व्यक्तिको सम्पूर्ण विवरण, भूमि, शिक्षा, सरकारी सेवालगायत सबै सेवाको अभिलेख समावेश गरिएको छ । राष्ट्रिय परिचयपत्र वितरणका लागि वडास्तरसम्म इकाइ स्थापना हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्