Logo

प्रहरी चौकी बनाउन जग्गा प्रदान



Spread the love

२५ मङ्सिर, दमौली – तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सांसद कृष्णकुमार श्रेष्ठले प्रहरी चौकी बनाउन दुई कट्ठा जग्गा उपलब्ध गराएका छन् ।

बारा जीतपुर सिमरा उपमहानगरपालिका–४ औराहामा प्रहरी चौकी निर्माणका लागि सांसद श्रेष्ठ र उनका व्यावसायिक साझेदार इच्छा वाग्लेले करीब रु ४० लाख पर्ने दुई कट्ठा जग्गा उपलब्ध गराउका हुन् । सांसद श्रेष्ठ जीतपुर सिमरा उपमहानगरका उद्योगीसमेत हुन् ।

हालसम्म अस्थायी प्रहरी पोष्ट मात्र रहेको उक्त स्थानमा प्रहरी चौकीका लागि आवश्यक पर्ने जग्गा उपलब्ध नहुँदा प्रहरी चौकी भवन बन्ने अवस्था नभएको र सो चौकी अन्यत्र सर्न लागेको भन्दै स्थानीयवासीले सांसद श्रेष्ठसमक्ष जग्गा उपलब्ध गराई दिन अनुरोध गरेका थिए ।

उक्त स्थानमा २०६८ सालमा नै अस्थायी प्रहरी पोष्ट स्थापना भए पनि जग्गाको अभावमा प्रहरी चौकीको भवन निर्माण हुन सकेको थिएन । स्थानीय बासिन्दाको अनुरोधपछि आफूले आफ्नो नाममा रहेको जग्गामध्येबाट दुई कट्ठा जग्गा प्रहरी चौकीलाई उपलब्ध गराएको सांसद श्रेष्ठले बताए । जग्गाको स्वामित्व हस्तान्तरणको आवश्यक कागजी र कानूनी प्रक्रिया भने एक महीनाभित्रमा सम्पन्न हुने सांसद उनले जानकारी दिए । आज स्थानीय बासिन्दा, प्रहरी कार्यालयका प्रतिनिधिसहित सम्बन्धित जग्गामा पुगी सांसद श्रेष्ठले प्रहरी चौकी भवनको निर्माणका लागि पनि आफूले रकम उपलब्ध गराउन तत्काल पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्