Logo

धनगढी प्रिमियर लिगः खेलाडी छनोट शुरु , खेलाडिले नै अाफ्नो मुल्य तोक्न पाउने



Spread the love

४ पुस, धनगढी – यहाँ आयोजना हुने रुस्लान धनगढी प्रिमियर लिग(डिपिएल)मा सहभागी टोलीका सुदूरपश्चिम प्रदेशका खेलाडीको छनोट प्रक्रिया अघि बढाइएको छ ।

आयोजक धनगढी क्रिकेट एकेडेमीले खेलाडी छनोट गर्न ‘अक्सन’ र ‘ट्यालेन्ट हन्ट’को प्रक्रिया अघि बढाएको छ । छनोटका लागि फाराम दर्ता गर्न इच्छुक खेलाडीलाई मङ्गलबार सूचना जारी गरिएको छ ।

“खरीद बिक्रीका लागि खेलाडीको नाम दर्ता प्रक्रिया शुरु गरिएको छ”, एकेडेमीका अध्यक्ष सुभास शाहीले भने, “छनोट भएका स्थानीय खेलाडीको जुन टिमले बढी मूल्य लगाउँछ, उसैमा सम्बन्धित खेलाडी सहभागी हुन पाउनेछ ।” इच्छुक खेलाडीले आफ्नो मूल्य तोक्दा न्यूनतम् रु ३० हजारदेखि अधिकतम रु दुई लाख ५० हजारसम्म तोक्न पाउने बताइएको छ ।

स्थानीय खेलाडीको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजकले नेपालमै पहिलोपटक धनगढीबाट यस्तो व्यावसायिक कार्यको थालनी गरेको हो । प्रतियोगितामा प्रत्येक टिमका १५ खेलाडी सहभागी हुने टोलीमा दुई विदेशी र सुदूरपश्चिमका एक खेलाडी अनिवार्य समावेश गर्नुपर्नेछ । ट्यालेन्ट हन्टको छनोट यही पुस ९ गते र अक्सनको छनोट पुस १२ मा गर्न लागिएको छ ।

डिपिएलको तेस्रो संस्करण आगामी माघ १९ देखि फागुन ४ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा चौराहा धनगढी, सिवाइसी अत्तरिया, रुपन्देही च्यालेञ्जर्स, महेन्द्रनगर युनाइटेड, काठमाडौँ गोल्डेन्स र विराटनगर किंग्स सहभागी हुनेछन् । मोहना नदी किनारको फाप्लामा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा सो संस्करण आयोजना हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्