Logo

अब सल्यानको खलंगामा खानेपानीको समस्या हट्ने



Spread the love

pani tyanki

सल्यानमा सोह्र करोडको लगानीमा शुरु भएको खानेपानी योजनाको काम अन्तीम चरणमा पुगेको छ । जिल्लाको सदरमुकाम खलंगामा वर्षौंदेखिको खानेपानीको समस्या हुदैँ आएको थियो । तर साना सहरी विकास कार्यक्रम मार्फत शारदा नगरपालिका २ र ३ मा पर्ने सदरमुकाम खलङ्गामा खानेपानी आयोजना निर्माण भए पछि अब खानेपानीको समस्या समाधान हुने भएको हो ।

बर्षौ बर्ष पहिले देखी खानेपानीका लागि सास्ती झेल्दै आएका सदरमुकामवासीले अब त्यस्तो सास्ती झेल्नु नपर्ने खानेपानी उपभोक्ता महासङ्घका अध्यक्ष तथा उपभोक्ता समिति खलङ्गाका उपाध्यक्ष केशव बुढाथोकीले बताए । “खानेपानीका लागि सास्ती झेल्नु पर्दैन” बुढाथोकीले भने  –“आगामी माघ दोस्रो हप्तादेखि खानेपानी सुचारु हुन्छ ।”
बुढाथोकीले आयोजना निर्माण कार्य अन्तिम चरणमा पुगेको र पुसको अन्तिमसम्ममा पाइपलाइनमा परीक्षण गरिने जानकारी दिए । शारदा नगरपालिका–२ शीतलपार्टीको शारदा नदी नजिकैबाट बोरिङ गरेर लिप्ट प्रणालीद्वारा ५०० मिटर उचाइमा रहेको सदरमुकाम बजारमा पानी पुगाएर  वितरण गरिने छ ।

आयोजनाबाट नगरपालिकाभित्र पर्ने १, २ र ३ वडाका एक हजार २ सय ५६ परिवारले सहज रुपमा खानेपानी पाउने छन् । साथै सदरमुकाममा बसोबास गर्ने र बाहिरबाट आएका कर्मचारी गरी १० हजार लाभान्वित हुने छन् ।

सदरमुकाममा दैनिक ७५ हजार लिटर पानी आवश्यक भए पनि पानी नहुँदा खलङ्गा सदरमुकामवासी विस्थापित हुँदै आएका थिए । खानेपानी सङ्कलन गर्न तीन ठाउँमा एक लाख लिटरका तीनवटा टङ्की र एक वटा ५० हजार लिटरको टङ्की निर्माण गरिएको छ । विश्व बैंकको रु १० करोड, नगर विकास समितिबाट ऋण रु तीन करोड २५ लाख र उपभोक्ताबाट रु दुई करोड ७५ लाखको लागतमा योजना सम्पन्न हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्