Logo

स्वास्थ्य प्रतिष्ठानद्वारा चर्को शुल्क वृद्धि



Spread the love

१७ पुस, घोराही – राप्ती उपक्षेत्रीय अस्पताललाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वामित्व लिएको तीन महीनाभित्रै सेवा शुल्कमा वृद्धि गरिएको छ ।
प्रतिष्ठानका अनुसार सेवा शुल्क आजदेखि वृद्धि गरिएको हो ।

पहिले अस्पतालले ठूलो सर्जरी गर्दा लिने रु पाँच हजारलाई बढाएर रु १२ हजार पुर्याएको छ । विगतमा बिरामीले श्ययाको प्रयोग गरेबापत पैसा तिर्न नपर्ने र अब प्रतिव्यक्ति रु १०० तिर्नुपर्ने भएको छ । मध्यम शल्यक्रिया गर्दा रु एक हजारलाई बढाएर रु छ हजार ५०० पुर्याइएको छ । सामान्य शल्यक्रिया गर्दा लाग्ने रु एक हजार पनि बढेर रु दुई हजार ५०० पुगेको छ ।

निःशुल्क ल्याब सर्जरी हुँदै आए पनि अहिले रु १५ हजार तिर्नुपर्ने भएको छ । प्रतिष्ठानले सार्वजनिक गरेको मूल्य दरमा पहिले पैसा नलाग्ने जनरल एनेस्थेसिया गर्दा अब रु तीन हजार ५०० र स्पाइनल एनेस्थेसियाको रु दुई हजार ५०० तिर्नुपर्ने भएको छ ।

नेपाल सरकारले चार पटकसम्म स्वास्थ्य संस्थामा पुगेर गर्भवती जाँच गराएका महिलालाई सामान्य तरिकाले बच्चा जन्माएमा रु एक हजार ८०० दिने गरेको र सोहीअनुसार उपक्षेत्रीय अस्पतालले सेवा दिँदै आएको थियो । सामान्यरुपमा बच्चा जन्मिएमा पनि प्रतिष्ठानलाई रु तीन हजार शुल्क बुझाउनुपर्ने छ । शल्यक्रिया गरेर बच्चा जन्माउँदा रु १२ हजार तिर्नुपर्नेछ । पहिला अस्पतालले गर्भवतीको शल्यक्रिया निःशुल्क गर्दै आएको थियो ।

अस्पतालले सुत्केरीलाई बच्चा जन्मिएबापत रु पाँच हजार र आमाबच्चा दुवैलाई दुई जोर कपडा उपलब्ध गराउँदै आएकामा प्रतिष्ठानले सोही प्रकृतिका बिरामीबाट मोटो रकम अशुल्न शुरु गरेको छ । अस्पतालकी निर्देशक ऋतु बरालले प्रतिष्ठान सञ्चालनका लागि चालू खर्च आफैँ जुटाउनुपर्ने हुँदा सेवा शुल्क वृद्धि गरिएको बताए ।

उनले अहिले बढाइएको शुल्कबाट पनि प्रतिष्ठानको खर्च धान्न नसक्ने अवस्था रहेको बताए । बढाइएको शुल्क अन्य प्रतिष्ठानभन्दा कम भएकाले चर्को भन्न नमिल्ने उनको दाबी छ । प्रतिष्ठानले सेवा शुल्कमा अत्यधिक वृद्धि गरेपछि प्रतिष्ठान सरोकार समिति, नागरिक समाज, उद्योग वणिज्य सङ्घलगायत विभिन्न संस्थाले विरोध जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्