Logo

अमेरिकाबाट बिदामा नेपाल आएको बेला विपन्न परिवारलाई न्यानो कपडा वितरण



Spread the love

नेपाली विद्यार्थीहरु विदेशमा अध्ययन गर्न जाँदा बिस्तारै आफ्नो देश र भूगोललाई समेत बिर्सँदै गरेको तितो यथार्थ हामी सबै सामु जग जाहेरै छ। कतिपय विद्यार्थीहरु विदेशमै सेटल हुने गरेका छन् भने कतिपय स्वदेश फिर्ता भए पनि सामाजिक कार्यमा खासै चासो देखाउँदैनन। तर कास्की पोखरा लेकसाईड निवासी सबिता अधिकारीले यी सबै उदाहरणलाई ब्रेक गरेकी छन्।

विगत ३ वर्षदेखि अमेरिकाको टेक्सस राज्यमा माईक्रोवायोलोजी विषयमा उच्च शिक्षा लिइरहेकी पोखराकी यी २२ बर्से चेलीले हालै नेपालमा बिदा मनाउन आएको बेला सामाजिक काम गर्ने उद्देश्य सहित गोरखा जिल्लामा रहेको विपन्न भुजेल परिवारलाई न्यानो कपडा वितरण गरेकी छन्। जाडोमा अोड्ने ब्लयाङ्केट देखि लिएर बालबच्चालाई जाडोमा लगाउने कपडा समेत सबिताले वितरण गरिन। यस सामाजिक कार्यबाट गोरखा जिल्लाको विकट क्षेत्रमा रहेको भुजेल परिवार खुसी देखिएको छ।

तपाईँलाई कसरी सामाजिक कार्य गर्ने इच्छा पलायो भनेर सोध्दा सबिता अधिकारीले भन्छिन्: “म यहीँ समाजमा हुर्केकी छोरी हो। आज उच्च शिक्षाको लागि बिदेसीएपनि माया त नेपालकै लाग्छ नि। त्यसैले म ३ वर्ष पछि नेपाल आएको बेला अझै पनि भूकम्पको पिडा बोध गरे। यो जाडोमा नाङ्गो जमिनमा रात बिताएका बुबा आमाहरूलाई देखे, अनि केही सहयोग गरौँ भन्ने भावना मनमा पलायो अनि मेरै अमेरिकामा सँगै बस्ने साथीहरूलाई समेत यो कुरा जानकारी गराएपछि सबै बाट अलिअलि सहयोग समेत प्राप्त भयो। घरपरिवार बाट पनि सहयोग गर्नुभयो अनि एक दिनको समय निकालेर म साथीहरूलाई लिएर न्यानो कपडा वितरण गर्न गोरखा पुगेर आए। झन्डै ५० जनालाई न्यानो कपडा वितरण गरेर आएपछि आज मलाई आफै पुण्य कमाए जस्तो लागेको छ।”

पोखरा निवासी सबिता अधिकारीले आफूले सक्दो कार्य सामाजिक क्षेत्रमा गरेकी छन्। यसरी बिदेशिएका युवाहरूलाई पनि आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्दछ भन्ने भावना जागृत हुन सक्दछ।

प्रतिक्रिया दिनुहोस्