Logo

भारी हिमपात: आगोको सहारा



Spread the love

९ माघ, खलङ्गा – जुम्लामा हिमपातसँगै बढेको चिसोले जनजीवन कष्टकार भएको छ ।

हिमपात र चिसोले स्थानीयको दैनिकी, लामो तथा छोटा दूरीका यातायातका साधन, सरकारी तथा निजी विद्यालय प्रभावित भएको छ । सडकमा हिउँ जमेपछि कर्णाली राजमार्ग तथा नाग्म रारा सडकमा यातायात सेवा बन्द भएको छ । चिसो बढेकाले सर्वसाधारण घरभित्र आगोको साहारमा रहेको चन्दनाथ नगरपालिका एकका बासिन्दा रामप्रसाद नेपालीले बताए ।

जुम्ला–सुर्खेत, नेपालगञ्ज हवाई उडान मौसमका कारण अवरुद्ध छ । मङ्गलबारदेखि हवाई उडान नभएको सीता एयरका कर्मचारी अशेष भण्डारीले बताए । सरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति न्यून छ । सडक, पुल, भवन, सिँचाइलगायत विकास निर्माणका काम पनि चिसोका कारण प्रभावित बनेको छ । जिल्लाको सिञ्जा भेगका पुरुष धन कमाउन कालापहाड गएकाले गाउँमै महिला मात्र भएको सिञ्जा– ३ रीता पाण्डेले बताए । घरको सबै काम महिलाको काँधमा आएको छ हिउँ परेपछि झन् घरको बढी काम थपिएको पाण्डेले बताए ।

वर्षा र हिमपातले जुम्ला कृषकमा भने खुशियाली छाएको छ । यो वर्ष जुम्लामा तेस्रो पटक हिउँ परेको हो । वर्षा भएपछि सिँचाइ हुने, खेतबारीमा लगाएको स्याउका बिरुवालाई राम्रो हुने तिला गाउँपालिका–१ राराका कृषक नर रावतले बताए ।

हिउँ पग्लिएर खेतबारीमा हालेको मल भिज्ने र बोटबिरुवा फस्टाउने, उत्पादन बढ्ने कृषक बताउँछन् । विशेष गरी नयाँ लगाएको स्याउका बिरुवाका लागि फाइदा हुने स्याउ सुपरजोन जुम्लाका निमित्त वरिष्ठ कृषि अधिकृत जोेगेन्द कान्दले बताए । हिउँपरेसँगै कृषकले लगाएको स्याउ, जौ, गहुँ र फापरबाली राम्रो हुने कृषि ज्ञान केन्द्र जुम्लाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्