Logo

स्ववियु पुल्चोकद्वारा म्युजिक क्लबको स्थापना



Spread the love

संगीत आफैमा एक मेडिटेसन हो। एक सुन्दर साधना। जो-कोहि जुनसुकै बेलामा पनि यसको रसमा मनमगन हुन सक्छ। संगीतको महत्वलाई केवल भावनामा बहने चिजको रुपमा मात्र नलिएर हिजोआज बिस्तारै यसलाई सबैतिर उच्च महत्वका साथ हेर्ने तथा बुझ्ने क्रम सुरु भएको छ।

यसैक्रममा केन्द्रिय इन्जिनियरिङ्ग क्याम्पस, पुल्चोक ललितपुरमा लामो समयको प्रयासपछि पहिलोपल्ट ‘म्युजिक क्लब’को स्थापना भएको छ। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) पुल्चोकको मुख्य पहलमा यो सुरु भएको हो। पुल्चोक क्याम्पसका स्ववियु सभापति रोशन थापा मगर र सिल्भर स्ट्रिङ्सका दिपकमल भुषालद्वारा संयुक्त रुपमा रिबन काटी क्लबको उद्घाटन गरिएको छ।

पुल्चोक इन्जिनियरिङ्ग क्याम्पसमा अध्ययन गरिरहेका ‘म्युजिकल मनहरू’को आवश्यकतालाई मध्यनजर गर्दै उनीहरूको प्रतिभामा थप निखार ल्याउन तथा क्याम्पसमा थप ‘म्युजिकल महफिल’ जमाउन पनि क्लबको स्थापना गरिएको स्ववियु सभापतिले बताए।

सल्लेरीखबरसँगको कुराकानीमा उनले भने,”हामी क्याम्पसमा पढिरहेको बेला हाम्रो एउटा म्युजिकल ग्याङ थियो। क्याम्पसमा केही अवसर तथा वातावरण नहुँदा पनि आफ्नै प्यासनको भरमा हामी बेलामौकामा ग्राउण्ड, होस्टेलको छत, या कतै बाटो छेउ मै भए पनि गीत गाँउदै-गितार बजाउँदै हिडिरहेका हुन्थ्यौं।“

अर्बन प्लानिङमा स्नातकोत्तर गर्दै गरेका तथा आफैमा एक कुशल गितारबादक समेत रहेका सभापति मगर बताउछन्,“त्यतिबेला देखि कै मेरो सोच थियो कि क्याम्पसमा एउटा छुट्टै ‘म्युजिकल प्लेस’ होस्, ग्रुप होस्, जहाँ बसेर म्युजिक सिक्न तथा अभ्यास गर्न पाइयोस्। आज आएर कम्तिमा पछिका भाइबहिनीका लागि भएपनि यो अवसर सृजना गर्न पाउँदा खुसी लागिरहेको छ। यो कदममा मिङ्मा टेण्डु शेर्पा लगायत अन्य थुप्रै भाइहरूको पनि एकदमै ठुलो योगदान छ।“

म्युजिक क्लबको लागि भनेर क्याम्पस कै एउटा कोठा समेत छुट्याइएको छ। जसमा एम्प्लिफाएर, मिक्सर, माइक, काहोन, गितार तथा बाँसुरी जस्ता साँगीतिक सामानहरूको व्यवस्था गरिएको छ। साथै कोठाका भित्ताहरू समेत ‘साउन्ड प्रुफिङ’ तथा पेन्टिङ गरेर चिटिक्क पारिएको छ।

सुरुवाती चरणमा “पुल्चोक म्युजिक क्लब” भनेर संगीतमा रुचि राख्ने केही विद्यार्थीहरूलाई समेटेर एउटा कमिटी समेत गठन गरिएको छ। फेसबुक पेज समेत बनाएर यसलाई क्याम्पसैभरी ब्यापक बनाइएको छ।

स्ववियुको यस कदमले समग्र संगीत पारखी पुल्चोकियनहरूलाई थप उत्साहित बनाएको “पुल्चोक म्युजिक क्लब” कमिटीका अध्यक्ष बिबेक थापाले बताएका छन्।

म्युजिकल सेसनका क्रममा सभापति रोशन थापा मगर ।

 

ooo

ooo

प्रतिक्रिया दिनुहोस्