Logo

युरिया मल अभाव



Spread the love

१० माघ, तुलसीपुर – जिल्लामा रासायनिक युरिया मलको अभाव भएको छ । गहुँमा मल हाल्ने मौसमका बेलामा दाङमा कृषकले युरिया मल पाएका छैनन् । कृषि सामग्री कम्पनी लिमिटेडले उपलब्ध गराउँदै आएको मल जिल्लामा एक महीनादेखि अभाव रहेको हो ।

लिमिटेड तुलसीपुर शाखाका प्रमुख तीर्थ न्यौपानेले जिल्लामा एक महीनादेखि मलको अभाव रहेको जानकारी दिए । तुलसीपुर, घोराही, देउखुरी गरी जिल्लामा सात सय टन मल आवश्यक पर्ने उनको भनाइ थियो । बुटवलदेखि पश्चिमका कुनै पनि जिल्लामा उक्त मल नभएको बताइएको छ । “जिल्लामा क्षेत्रीय कृषि सामाग्री कम्पनी लिमिटेड भैरहवाबाट मल आउने गरे पनि भैरहवामा पनि मल नभएको र मल कहिले आउने भन्ने यकिन हुन सकेको छैन”, प्रमुख न्यौपानेले भने ।

“खेतमा गहुँ पहेँलै भएको छ, गहुँमा अव रासायनिक मल युरिया हाल्नुपर्नेछ, प्रकृतिले भने किसानलाई राहत दिएको छ तर युरिया छैन”, किसान प्रकाश खड्काले भने ।
किसान भने गहुँखेतीका लागि युरिया मल खोज्न भौतारिएका छन् । “पानी परेको थियो, यस वर्ष गहुँमा पानी सिँचाइ गर्नुपर्ने समस्या टरेको थियो तर रासायनिक युरिया मल बजारभरि छैन”, अर्का किसान राजु चौधरीले भने ।

हिउँदे खेती गहुँमा मल हाल्ने मौसममा मल नपाउँदा किसान उत्पादन घट्ने चिन्तामा छन् । किसानका लागि आवश्यकताअनुसारको मल उपलब्ध गराउन आफूहरु लागे पनि नेपालमा भारतको कोलकाताबाट मल नआएकाले समस्या भएको कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख न्यौपानेले बताए । जिल्लामा डिएपी मल भने प्राप्त भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्