Logo

सातदोबाटो–नारायणगोपाल मेट्रो रेल बनाइने



Spread the love

१० माघ, काठमाडौँ – सरकारले सातदोबाटो–रत्नपार्क–नारायणगोपाल चोक जोड्ने गरी मेट्रो रेल निर्माण गर्ने भएको छ । कूल १२ किलोमिटर लामो उक्त मेट्रो रेल निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयार पार्न भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय मातहतको रेल विभागले आज विश्वव्यापी बोलपत्र आह्वान गरेको छ ।

विभागले डिपिआर तयारीका लागि आशयपत्र पेश गर्न विश्वव्यापी बोलपत्र आह्वान गरेको विभागमा प्रवक्ता अमन चित्रकारले जानकारी दिए । सो रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन भइसकेको छ । पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदनका आधारमा विस्तृत परियोजना प्रतिवेदन तयार पार्न विश्वव्यापी बोलपत्र आह्वान गरिएको विभागले जनाएको छ ।

विभागले बोलपत्र प्रक्रियामा आगामी चैत ८ गतेसम्म सहभागी हुन सकिने गरी समयसीमा निर्धारण गरेको छ । आर्थिक तथा प्राविधिक प्रस्तावमा योग्य कम्पनीलाई छनोट गरी डिपिआर बनाउन दिइने विभागको भनाइ छ । छनोट भएका कम्पनीले उक्त मेट्रो रेलको विस्तृत सर्वेक्षण, ढाँचा र डिपिआर बनाउनुपर्नेछ ।

विभागले आह्वान गरेअनुसार आशयपत्र पेश गर्ने कम्पनीमध्ये पहिलो चरणमा प्रारम्भिक सूची छनोट गरिनेछ । छनोट भएका कम्पनीको आर्थिक र प्राविधिक प्रस्तावका आधारमा उत्कृष्ट कम्पनी छनोट गरिनेछ । सोही कम्पनीले डिपिआर तयार पार्नेछ ।

प्रतिक्रिया दिनुहोस्