Logo

सरुवा रोगबाट एकै महिनामा २८ सयको मृत्यु



Spread the love

१३ माघ, बेइजिङ – चीनमा गत एक महिनामा सरुवा रोगका कारण दुई हजार ८०४ जनाको मृत्यु भएको छ ।

राष्ट्रिय स्वास्थ्य आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार सन् २०१८ को डिसेम्बर महिनामा उनीहरुको मृत्यु भएको हो ।

सोही अवधिमा सात लाख १२ हजार ५८१ जना विभिन्न किसिमका सरुवा रोगका कारण प्रभावित भएको पनि आयोगले जनाएको छ ।

आयोगका अधिकारीहरुले उच्च खतरनाक ‘क’ वर्गका सरुवा रोगबाट भने कोही पनि प्रभावित नभएको बताएका छन् । चीनमा क वर्गका सरुवा रोगमा हैजा, प्लेगलगायतलाई बुझिन्छ ।

विरामी भएका मध्ये दुई लाख ८९ हजार ६१३ जना ‘ख’ वर्गका रोगबाट प्रभावित भएकाहरु थिए । ‘ख’ वर्गका रोगमध्ये झण्डै ९३ प्रतिशतलाई भाइरल हेपाटाइटीस, क्षयरोग, सिफलिस, गोनोरियालगायतका रोगले सताएको थियो ।

डिसेम्बर महिनामा ‘ग’ वर्गका रोग लागेर १६ जनाको मृत्यु भएको छ । खाना वा मुख सम्बन्धी रोग, इन्फ्लुएन्जालाई यस वर्गमा राखिएको छ । झाडापखाला यस वर्गको मुख्य रोग हो ।

प्रतिक्रिया दिनुहोस्