Logo

बसमा करेन्ट लागेर निधन भएका परिवारलाई जनही रु पाँच लाख दिइने



Spread the love

१४ माघ, काठमाडौंँ – सरकारले धनुषाको सबैला नगरपालिका–४ स्थित कोठिया बल्टियामा जन्ती बसमा करेन्ट लागेर निधन भएका नागरिकका परिवारलाई जनही रु पाँच लाख क्षतिपूर्ति दिने भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आज मन्त्रिस्तरीय निर्णय गरी मृतकका परिवारलाई क्षतिपूर्तिवापत उक्त रकम दिन लागिएको हो । यस्तै मन्त्रालयले घाइते भएका सबैको उपचार खर्च व्यहोर्ने निर्णय पनि गरेको छ । बसमा करेन्ट लागेर घाइते भएका २१ मध्ये १९ जना उपचारपछि घर फर्किसकेका छन् ।

बाँकी रहेका दुईमध्ये फुलकुमारी कुँवरको जनकपुर अञ्चल अस्पताल र पवन परियारको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । क्षतिपूर्ति रकम मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणमार्फत उपलब्ध गराउने छ ।

प्राधिकरणले उक्त दुर्घटना हुनुमा आफ्नातर्फबाट कुनै पनि लापरवाही नरहेको र नगरेको यसअघि नै प्रष्ट पारिसकेको छ । प्राधिकरणका सखुवा शाखा प्रमुख राजकुमार रमनले बसको छतमा राखिएको टिनको ट्याङ्का ११ केभी प्रसारण लाइनको नाङ्गो तारमा छुँदा करेन्ट प्रवाह भएको बताए ।

त्यस स्थानमा प्रसारणको तार लत्रिएको गुनासो यसअघि कहीँबाट नआएको पनि उनले स्पष्ट पारे । सबैला नगरपालिकाले भने प्राधिकरणको लापरवाहीले घटना भएको आरोप लगाएको छ ।

कोठिया बल्टियाबाट जन्ती लिएर सिन्धुली फर्कँदै गरेको बसमा यही माघ ११ गते साँझ करेन्ट प्रवाह हुँदा छ जनाको मृत्यु भएको थियो । मृतक र घाइते परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन सांसद गणेश पहाडी, पूर्वसभासद् विषमलाल अधिकारी र कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले पहल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्