Logo

वार्ताका लागि अफगान राष्ट्रपतिको आग्रह



Spread the love

१४ माघ, काबुल – अफगानिस्तानका राष्ट्रपति अस्रफ घानीले काबुलमा सरकारसँग वार्ता गर्न विद्रोही तालिबान समूहलाई आग्रह गरेका छन् । कतारमा गत साता अमेरिकी प्रतिनिधिसँग वार्ता भएसँगै राष्ट्रपति घानीले उक्त आग्रह गरेका हुन् ।

अफगान टेलिभिजनबाट राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति घानीले तालिबान समूहलाई अफगानी इच्छाशक्ति प्रदर्शन गर्न आग्रह गरे । उनले अफगानी जनताको शान्तिको चाहनालाई सम्मान गर्न आग्रह गर्दै अफगान सरकारसँग गम्भीर वार्ता गर्न आह्वान गरे ।

कतारमा अमेरिकी प्रतिनिधिसँग जारी वार्तामा अफगान सरकारलाई बेवास्ता गरिएको भन्दै अफगानी अधिकारीहरुलाई यसअघि असन्तुष्टी जनाउँदै आएको थियो । काबुल सरकारले अमेरिका र तालिबानबीच हुने कुनै पनि किसिमको सम्झौतालाई काबुल सरकारले मान्यता दिनुपर्ने जनाएको छ ।

तर, तालिबान समूहले घानीको सरकारसँग प्रत्यक्ष वार्ता गर्न अस्वीकार गरिरहेको छ । उनीहरुले अफगान सरकारलाई “देखावटी” भन्दै आएको छ ।

राष्ट्रपति घानीको कार्यालयले सोमबार नै एक विज्ञप्ति प्रकाशन गरी कतारमा भएको वार्ताका बारेमा अमेरिकी विशेषदूत जाल्मे खलिलजादले राष्ट्रपति अस्रफ घानीलाई जानकारी गराएको जनाएको थियो ।

विशेषदूत खलिलजाद कतारमा तालिबान प्रतिनिधिहरुसँग छ दिने वार्ता गरी आइतबार अबेर अफगानिस्तान आइपुगेका थिए । दुबै पक्षले वार्तामा निकै प्रगति भएको दाबी गरेका छन् ।

राष्ट्रपति घानीले भने, “हामी शान्ति चाहन्छौं, हामीलाई यो काम जतिसक्दो चाँडो होस् भन्ने लागेको छ तर यो कार्यमा सबैको योगदान देखिनु पर्दछ ।”

उनले अगाडि भने, “यो युद्धबाट सबैभन्दा बढी पीडित अफगानीहरु नै भएका छन् र शान्ति प्रक्रिया पनि अफगानी अग्रसरतामै हुनु पर्दछ ।”

प्रतिक्रिया दिनुहोस्