Logo

बुबाको काजकिरिया गर्दै तीन छोरी



Spread the love

१७ माघ, सुरुङ्गा – हिन्दूसंस्कार अनुसार कुनै व्यक्तिको मृत्यु भएमा छोराले काजकिरिया गर्ने चलन छ । छोरा नभए दाजुभाइ वा दाजुभाइका छोराले दशगात्र कर्म गर्ने चलन छ । समयअनुसार समाजको सोच र परम्परा पनि बदलिँदैछ । छोरा नहुने आमाबुबा मृत्युपछि स्वर्ग पुग्दैनन् भन्ने सोचलाई अहिले छोरीले तोड्न थालेका छन् ।

पुरानो मान्यता तोड्दै झापाको बिर्तामोड नगरपालिका–२ का देवि घिमिरेको निधनपछि उनका तीन छोरी यतिबेला दशगात्र कर्ममा छन् । साविक गरामनी गाविसको अध्यक्षसमेत रहनुभएका ६२ वर्षीय घिमिरेको गत माघ १० गते निमोनियाका कारण काठमाडौँस्थित ग्राण्डी अस्पतालमा उपचारकै क्रममा निधन भएपछि उनको दशगात्र काजकिरिया तीन छोरी विञ्जु घिमिरे (लुइँटेल), इञ्जु घिमिरे (प्रसार्इं) र सञ्जु घिमिरे (सङ्ग्रौला) ले गरिरहेका छन् ।

आमा चन्द्रकला घिमिरेसहित उनिहरुले निसङ्कोच बुबाको दशगात्र कर्म कोरो ढिकुरो गरेर नै बसिरहेका छन् । “छोरी पनि तीनै बुबाआमाका सन्तान हुन्, उनीहरुमा पनि उही रगत छ, शास्त्रमा जेलेखिएको भए पनि त्यसलाई तोड्दै शहीद परिवार घिमिरेका छोरीले बुबाको काजकिरिया गरेर समाजमा उदाहरण प्रस्तुत गरेका छन्,” विर्तामोड नगरपालिका–२ का वडाध्यक्ष नगेन्द्र सङ्ग्रौलाले भने ।

नेकपा विर्तामोडका नगरअध्यक्ष ज्ञानुराम प्रसार्इंले पहिला अनिवार्य छोरा जन्माउनै पर्ने, उसैले मात्र आमाबुबाको काजकिरिया गर्नुपर्ने बाध्यात्मक अवस्था रहे पनि अहिले त्यो हटेर गएको बताइन् । बुबाको दशगात्र काजकिरिया गरेर बसिरहेकी माइली छोरी इञ्जुले बाबुको चाहनाअनुसार नै आफूहरुले बुबाको काजकिरिया गरिरहेको बताइन् । आफूहरुले कुनै नौलो काम नगरेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्