Logo

“सिंहदरबारमा तपाईंका लागि कुनै पनि योजना बन्दै छैन” : प्रवक्ता आचार्य



Spread the love

विवेकशील साझाका प्रवक्ता पुर्वाधारविद् प्रा.डा. सूर्यराज आचार्यले पुल्चोक क्याम्पसमा इन्जिनियरिङ्ग अध्ययनरत विद्यार्थीतिर इंगित गर्दै,”सिंहदरबारमा तपाईंहरूका लागि कुनै पनि योजना बन्दै छैन” भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरे । बरू कसरी परियोजनाहरू विदेशी कम्पनीलाई पार्ने, झटपटमा सक्काउने र कमिशन खाने भन्ने मात्र उनीहरूको ध्याउन्न रहेको उनको आरोप थियो ।

सिभिल इन्जिनियरिङ्ग विद्यार्थी समाज ( सेस नेपाल ) पुल्चोक क्याम्पसद्वारा यही माघ २४, २५ र २६ गते पुल्चोक इन्जिनियरिङ्ग क्याम्पसमा सञ्चालन हुन गैरहेको “१० औं राष्ट्रिय सिभिल इन्जिनियरिङ्ग प्रदर्शनी एवम् प्रतियोगिता”लाई लक्षित गरी प्रि-इभेन्टको रुपमा आयोजित “सिभिल इन्जिनियरिङ्ग टकः लर्निङ बियोन्ड द करिकुलम” कार्यक्रममा मुख्य वक्ताको रुपमा रहेका आचार्यले “परिवर्तित सन्दर्भमा नेपालमा पुर्वाधार विकास ः चुनौती र सम्भावना” शिर्षकमा झण्डै आधा घण्टा लामो प्रिजेन्टेसन प्रस्तुत गरेका थिए  ।

प्रिजेन्टेसनमा बोल्ने क्रममा प्रवक्ता आचार्यले नेपालको युवा इन्जिनियरिङ्ग जनशक्तिको अधिकतम सदुपयोग गरी ठुला पूर्वाधार आयोजनामा समेत डिजाईन र निर्माणमा पर्याप्त हुने तहको आन्तरिक क्षमता विकास गर्ने एजेन्डा सरकारको प्राथमिकतामा हुनुपर्ने तर्क दिए । तर नीतिगत तहमा हाबी रहेको सोच र दृष्टिकोण यो एजेन्डा प्रति उदासिन रहेको उनको गुनासो रह्यो । युवा इन्जिनियर लगायत सम्पुर्ण इन्जिनियरिङ्ग समुदायले पूर्वाधार विकासका लागि हाम्रो आन्तरिक क्षमता विकासका लागि ठोस पहल गर्नु पर्ने टड्कारो आवश्यकता रहेको उनको दाबी थियो ।

नेपालमा हुने अधिकांश नयाँ परियोजना तथा कार्यक्रमहरू, सरकारका मन्त्री तथा सचिबहरूले उनीहरूका विदेश भ्रमणमा देखेका प्रिजेन्टेसन कै भरमा लागु भैरहेको तितो यथार्थ समेत उनले व्यक्त गरे । बिना कुनै शोध, अनुसन्धान र अध्ययन, विकासका नाममा सरकार धमाधम अस्तव्यस्त निर्माणतिर लागिरहेको उनको आरोप थियो । हाम्रो आवश्यकता के हो भन्नेमा भन्दा पनि, सरकार के कुराले चै हाइ-हाइ बटुल्न सकिन्छ भन्नेतिर बढि आकर्षित भएको उनले बताए ।

राष्ट्रिय रुपमा विवादित निजगढ विमानस्थल, सिक्टा परियोजना, मुग्लिङ-नारायणगढ सडकबारे पनि उनले आफ्नो धारणा व्यक्त गरेका थिए ।

प्रिजेन्टेसनको अन्त्यमा उनले सम्पुर्ण इन्जिनियरिङ्गका विद्यार्थीहरूलाई केवल कोरा किताबी कुरामा मात्र नअल्झिएर आफ्नो समाज वरपर घटिरहेका विकासे गतिविधितिर पनि ध्यान दिदै सचेत हुन तथा अरुलाई पनि सचेत गराउन आग्रह गरे ।

कार्यक्रममा बोल्ने बक्ताहरूमा उनी सँगै नेपाल विद्युत प्राधिकरणका पुर्व जेनरल म्यानेजर उपेन्द्र देव भट्ट र स्ट्रकचरल इन्जिनियरिङका सोधकर्ता दिपेन्द्र गौतम पनि बोलेका थिए ।

यो पनि पढ्नुहोस् ः

सेस नेपालद्वारा ‘सिभिल इन्जिनियरिङ्ग टक’ कार्यक्रम सम्पन्न (फोटो फिचर)

स्पिकरका अलावा कार्यक्रममा आइ.ओ.इ.का डिन प्रा. रामचन्द्र सापकोटा, पुल्चोक इन्जिनियरिङ्ग क्याम्पसका क्याम्पस प्रमुख प्रा.डा. गोकर्ण बहादुर मोत्रा, सिभिल विभाग प्रमुख डा. भरत मण्डल लगायत पनि उपस्थित थिए ।

पुल्चोक इन्जिनियरिङ्ग क्याम्पस सिभिल विभागको एफ हलमा भएको उक्त कार्यक्रममा सिभिल इन्जिनियरिङ्ग अध्ययनरत झण्डै ३०० बढी विद्यार्थीहरूले सहभागिता जनाएका थिए ।

000

000

प्रतिक्रिया दिनुहोस्