Logo

१२ दिनपछि खोलियो नेपाल कम्युनिष्ट पार्टीे (नेकपा) ले लगाएको ताला



Spread the love

२२ माघ, भद्रपुर – झापाको अर्जुनधारा नगरपालिका–१ को कार्यालयमा नेपाल कम्युनिष्ट पार्टीे (नेकपा) ले लगाएको तालाबन्दी १२ दिनपछि आज खोलिएको छ ।

विरिङ खोलामा नदीजन्य सामग्री जथाभावी उत्खनन गरिएको विषयमा विवाद हुँदा नेकपाले यही माघ १० गते कार्यालयमा तालाबन्दी गरेको थियो । नगरपालिकाका प्रमुख हरि रानाको अध्यक्षतामा प्रदेशसभा सदस्य विर्ख प्रधान र एकराज कार्की, जिल्ला समन्वय समितिका अध्यक्ष सोमनाथ पोर्तेललगायतको उपस्थितिमा आज भएको छलफलले सातबुँदे सहमति गरेपछि तालाबन्दी खोलिएको हो ।

सहमतिपत्रमा विरिङ खोलाले बर्सेनी गर्दै आएको कटान रोकथाम गर्र्न चेक ड्याम बनाउने, मापदण्ड विपरीत नदीजन्य सामग्री ननिकाल्ने, मजदूर र ठेकेदारले उत्खनन गर्ने क्षेत्र निर्धारण गरिने, विरिङ र टाङटिङलगायत खोलामा कार्यरत मजदूरको दश दिनभित्रमा लगत सङ्कलन गरी सूचीकृत गर्ने, नदीजन्य सामग्री ओसार–पसार गर्ने ट्र्याक्टरलाई करको दायरामा ल्याउनेलगायत उल्लेख गरिएको छ ।

नेकपाले राखेका माग तत्कालका लागि सम्बोधन भएकाले जनताका समस्यालाई ध्यानमा राखेर तालाबन्दी खोल्ने सहमति भएको नेकपा अर्जुनधारा–१ का अध्यक्ष भक्तिप्रसाद कोइरालाले बताए । सहमितमा उल्लेख गरिएका बुँदालाई नगरपालिकाका तर्फबाट तत्काल लागू गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पङ्कज भुर्तेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्