Logo

वर्षमा १३ अर्बको विद्युत् चोरी : कसरी हुन्छ बिजुली चोरी ?



Spread the love

biddhut- choriनेपाल विद्युत् प्राधिकरणकै कर्मचारीको मिलेमतोमा वर्षाैँदेखि ठूला उद्योगहरूलाई निःशुल्क बिजुली दिइँदै आएको खुलेको आजको नयाँ पत्रिकामा खबर छ ।

कमिसन लिएर उद्योगीलाई निःशुल्क बिजुली दिँदै आएका प्राधिकरणका १२ कर्मचारी र चार व्यवसायीलाई प्रहरीले आइतबार पक्राउ गरेको छ । महानगरीय अपराध महशाखाले प्राधिकरणका सुपरभाइजर र मिटररिडरहरूलाई पक्राउ गरेको हो । पक्राउ परेकामध्ये केही कर्मचारी ट्रेड युनियनका नेता हुन् । मनिज श्रेष्ठ कर्मचारी संघको कोषाध्यक्ष हुन् भने दिलबहादुर साउद केन्द्रीय सदस्य । त्यस्तै, महादेव प्रधान कर्मचारी युनियन विद्युत् प्राधिकरण इकाइका सल्लाहकार हुन् । प्राधिकरणका उच्च अधिकारीहरू हेटौंडा गएका बेला प्रधानले आफ्नै घरमा मिटर रिडिङका उपकरण राख्ने गरेका थिए ।

यसरी हुने गरेको छ बिजुली चोरी
प्रसारण लाइनबाट डाइरेक्ट हुकिङ गर्ने, घरमा राखिएको मिटर रिडिङ गर्न नदिने, पुराना मिटरलगायतका विधिबाट बिजुली चोरी हुने गरेको छ । कतिपय ठाउँमा प्राधिकरणकै कर्मचारीको मिलेमतोमा पनि चोरी हुने गरेको छ । राजनीतिक दबाबका कारण प्रशासनले विद्युत् चोरीमा संलग्न व्यक्तिलाई कारबाही गर्न सकेको थिएन । प्राधिकरणका क्रियाशील ट्रेड युनियनले कर्मचारी सरुवामा हस्तक्षेप गर्दा पनि चोरी नियन्त्रणमा समस्या रहेको प्राधिकरणका कर्मचारीहरू बताउँछन् ।

एक महिना लामो अप्रेसन
देशमा ठूलो मात्रामा विद्युत् चोरी हुने गरेको र यसमा प्राधिकरणका कर्मचारीको मिलेमतो रहेको सूचनाका आधारमा प्रहरीले एक महिनादेखि अनुसन्धान सुरु गरेको थियो । मिटर घटाउँदा–घटाउँदैकै भिडियोसमेत खिचेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । अपराध महाशाखाले काठमाडौंमा मात्र अनुसन्धान गरेको हो । मिलेमतोमा उद्योगको मिटर बिगार्ने काम देशभरि रहेको स्रोत बताउँछ ।

मासिक कमिसन खाएर मिटर घटाउने गरिन्छ
पक्राउ परेका कर्मचारीले महिनामा लाखौँको विद्युत् खपत गर्ने उद्योगहरूबाट कमिसन लिएर मिटर घटाउने गरेको अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले बताए । ‘सयौँ उद्योगबाट उनीहरूले मिटर घटाएर पैसा लिने गरेको देखिन्छ,’ खनालले भने, ‘ऊर्जा मन्त्रालय र विद्युत् प्राधिकरणसँगको सहकार्यमा हामीले उनीहरूलाई पक्राउ गरेका हौँ ।’ प्रहरीले पक्राउ परेका कर्मचारी र व्यवसायीलाई ठगी मुद्दामा अदालतबाट म्याद थप गरी हिरासतमा राखेको छ । पक्राउ परेका कर्मचारीलाई प्राधिकरणले आइतबार नै निलम्बन गरेको छ ।

दिनकै कमाइ ५० हजार
प्राधिकरणको बालाजु कार्यालयमा कार्यरत सुमन श्रेष्ठ पाँचौँ तहका कर्मचारी (सुब्बा) हुन् । तर, उनी निजी कारमा कार्यालय आउने–जाने गर्छन् । विद्युत् चोरीबाटै उनले करोडौँ सम्पत्ति कमाएको अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीहरू बताउँछन् । प्रहरीले उनको बा.५च ३४५१ नम्बरको गाडीसमेत नियन्त्रणमा लिएको छ । एक दिनमै उनीहरूले लाखभन्दा धेरै कमाउने गरेको प्रहरीको भनाइ छ । एसएसपी खनालका अनुसार एक दिनमै २०–२५ ठाउ“मा मिटर घटाएर उनीहरूले कम्तीमा पाँच हजारदेखि ५० हजारसम्म लिने गरेको अनुसन्धानमा खुलेको छ । त्यसरी लिएको पैसा कर्मचारीहरूले बाँडेर लिने गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्