Logo

२५ देखि ३० वैशाख बीचमा स्थानीय निर्वाचन : प्रधानमन्त्री



Spread the love

prachand1

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी वैशाख अन्तिम साता स्थानीय तहको निर्वाचन गराउने घोषणा गरेका छन् । निर्वाचनसँग सम्बन्धित सबै विधेयक १५ माघभित्र पारित गरिने उनको दाबी छ । प्रमुख तीन दलबीच शनिबार भएको छलफलपछि परिस्थिति सकारात्मक दिशातर्फ अघि बढेको प्रचण्डको भनाइ छ । आजको नयाँ पत्रिकामा खबर छ ।

‘प्रमुख दलका नेतासँग भएको शनिबारको छलफलपछि परिस्थिति सकारात्मक दिशामा अघि बढेको छ,’ संसदीय मामिला पत्रकार समाजले आइतबार गरेको कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘यही १५ गतेभित्र निर्वाचनसँग सम्बन्धित सबै विधेयक पारित गरेर निर्वाचन आयोगलाई दिएपछि निर्वाचनको घोषणा गरिनेछ, २५ देखि ३० वैशाखभित्र कुनै दिन तोकेरै निर्वाचनको मिति घोषणा हुने सम्भावना बढेको छ ।’

प्रधानमन्त्रीले आगामी एक वर्षभित्र स्थानीय तहसहित तीनवटै तहको निर्वाचन सम्पन्न हुन नसके मुलुक ०१७ को भन्दा पनि भयानक दुर्घटनातिर जाने खतरा औँल्याए । ‘निर्वाचन हुन सकेन भने मुलुक ०१७ को भन्दा पनि भयानक दुर्घटनातिर जाने खतरा छ, देश अर्कै प्रकृतिको द्वन्द्वमा फस्न सक्छ, समय घर्कियो भने हाम्रो हातबाट स्थिति फुत्किन सक्छ,’ उनले भने, ‘नेपाल राष्ट्रको एकतालाई भत्काउने प्रयास भइरहेका वेला मधेसी, पहाडी, हिमाली सबै एक भएर जुध्नुको विकल्प छैन ।’

प्रधानमन्त्री प्रचण्डले संविधान संशोधन टुंग्याएर निर्वाचनमा जान तीनमध्ये कुनै एक विकल्पका लागि मधेसी मोर्चा र एमाले तयार हुनुपर्नेमा पनि जोड दिए । प्रधानमन्त्रीले भने, ‘अहिलेको संशोधन प्रस्तावमाथि प्रक्रिया बढाउँदै अर्को तरिकाबाट मुद्दा सम्बोधन हुनेगरी संशोधन गर्न सकिन्छ, त्यसबाट मधेसी, थारूलगायत सबैको मुद्दा सम्बोधन गर्न सहयोग गर्छ ।’

प्रधानमन्त्री प्रचण्डले प्रमुख दलका नेताहरूलाई निर्वाचन गराउन सहयोगका लागि आग्रह गरिसकेको बताए । ‘मैले प्रमुख नेताहरूलाई निर्वाचनका लागि सहयोग गर्नुहोस् भनेर दृढतापूर्वक आफ्ना कुरा राखेको छु, वैशाखको अन्तिम साता सुरु गरेर जेठको दोस्रो सातासम्म स्थानीय तहको निर्वाचन गर्न सम्भव छ ।’

प्रतिक्रिया दिनुहोस्