Logo

बुवाको आत्मकथा



Spread the love

आफूले आफूलाई छल्न जति सजिलो छ, त्यति सजिलो सायद छोराछोरीलाई झुट बोल्दा थिएन । पेट भोको हुँदा पनि सानो पेट फुलाउँदै ठुलो बनाएर नक्कली डकार डकार्नु, मेरालागि सहज थिएन । चप्पल लगाएर पनि कुर्कुच्चा नाङ्गो हुँदा काँडा बिझ्दा खुट्टा पछिल्तिर लुकाएर काँडा झिक्नु, बर्षौ पहिला सिलाएको पाइन्ट पनि धुँदा जतनले धुनु पर्थ्यो । च्यातिन्छ कि भन्ने डरले ।

यी सबै कुरा मेरालागि गाह्रो थिएनन् । यी सबै कुरा मेरालागि दु:ख हैन, सुखका पाटाहरू थिए ।  किनकि मैले यी सबै चिजबाट सन्तानको खुसी पाएको थिएँ ।

गह्रौँ भारी बोकेर गैरी खेत जाँदा तल्ला घरे रामेको छोराले त कलेज टप गर्‍यो अरे, भन्ने कुरा मेरो कानमा पर्‍यो । त्यो कुरा सुन्नासाथ जति गह्रौँ भारी त्योभन्दा कैयौँ गुणा गह्रौँ मेरो मन भयो ।

निधारका पसिना पुछ्दै अस्ताउनै लागेको सूर्यलाई हेरेँ । आखिर यो पनि त अब डुब्न लागिसक्यो । तर, भोलि बिहान उदाउँदा उस्तै उज्यालो, सबै अँध्यारो हटाउँदै रोशनी बाँड्छ । अनेक दु:ख पीडाहरूका बाबजुद मैले पनि त्यसरी नै रोशन दिने कोसिस गरेँ । हरेक दिन, हरेक रात ।

सूर्य अस्ताएको देख्दा मलाई पनि उसै गरी अस्ताएर थकाइ मेट्न मन लाग्थ्यो । तर, म त्यो विश्राममा सन्तानका सपना अधुरा भएको पाउथें । आफू थिचिने भारी बोकेर गैरी खेत धाउँदा नाम्लोले तालुमा गहिरो खाल्डो बन्थ्यो । त्यसमाथि नाम्लोको दुखाइले निधार खुम्चिएर बनेका ती निधारका रेखाभन्दा बढी मैले सन्तानको खुसी पाउथें ।

घर छेउको सानो सुन्तलाको बोट जोगाउँदा जोगाउँदै लटरम्म फल्थे । ग्राहक आएर मोलतोल गरी लान्थे । वर्षमा एकचोटी नोटहरू समातेर खल्तीमा हाल्थे । त्यत्तिकैमा फोन बज्थ्यो ।

छोरा : “बुवा, मलाइ आज कलेजमा फी बुझाउनु पर्‍यो । अब पैसा बुझाउने समय पनि सकिनै लाग्यो । अनि, अबदेखि मैले एक्स्ट्रा क्लास नि लिन्छु है, बुवा । त्यसको नि पैसा पठाइदिनु पर्‍यो ।“

प्वाल परेको छानोतिर हेर्दै घुटुक्क थुक निलेँ । आफ्नो घर प्वाल परेर के भो र ! तर आफ्नो छोराको भविष्यमा कहिल्यै प्वाल नपरोस् । जाँतो पिसिरहेकै बेला उफ्रिँदै छरपस्ट भएर निस्किने दालका टुक्राहरू पनि त्यति धेरै थिएनन् होला । जति धेरै खुसीका सुन्दर सपना सन्तानका लागि मेरा मनमा उफ्रिन्थे । घरको छानो चुहिएर मध्यरातमा पनि निधारमा पसिना नै बग्थे । हरेक दिन, हरेक रात निधारबाट बगेका पसिनाले दिनमा जमिन, रातमा ओछ्यान भिज्थ्यो ।

मैले आधा भोक सपनामै मेट्थे । र, आधा न्यानो सपनामै पाउँथे । हजारौँ रोगहरूको मरे तुल्य दुखाइको पनि अनुभव गरिएनँ ।

हिजो गोरेले मेरै छेउमा आएर भन्यो, “कुलतको कारण बर्षौ पहिले जेल परेको बिर्खे काकाको छोरा आज छुट्यो रे ।“

कुलत भन्नासाथ यो मन झसङ्ग भयो र दुवै हात जोडेर लामो सास फेर्दै मनमनै बोलेँ,”भगवान् मेरो छोरा कहिल्यै कुलतमा नलागोस्, मेरो छोराको रक्षा गर प्रभु ।“

कुलत शब्द सुन्नासाथ झस्किने मेरो मन बेसरी त्यो बेला झस्कियो, बेसरी त्यो बेला भक्कानियो, घरको छानो प्वाल परेजस्तै मन त्यो बेला प्वाल पर्‍यो, निधारबाट मात्र हैन पसिना मेरा आँखाबाट पनि बगे, जब मैले त्यही छोराको लागि जेलको अगाडि गएर मैले मेरा दुवै हात जोडेँ ।

ooo

ooo

सामाजिक दृष्टिकोण र चेतनाबारे लेख्न रुचाउने के.सी. सल्लेरी खबरमा कला-साहित्य विविधमा कलम चलाउँछिन् ।

प्रतिक्रिया दिनुहोस्