Logo

कविता



Spread the love

sadiksha-magar

ए त्रिसुली !
तिमिसँग मेरो कस्तो नाता भयो ?
जब तिमीलाई देख्छु
म गममा छु या खुशीमा छु
म सधैं अलमलमा परिदिन्छु

ए त्रिसुली !
तिमी भित्र
मेरो खुशी खोसिएको छ
मेरो सपना बिलाएको छ
तिम्रा ती हरेक कण कणमा
मेरो खुशी मिसिएको पाउँछु
तिम्रो त्यो रहस्यमयी गहिराईमा
मेरो मन भित्रको पीडाको
समनता पाउँछु

ए त्रिसुली !
भन्छु सधैँ
अब तिमीतिर फर्केर हेर्दिन
तर झन धेरै हेरिरहन मन लाग्छ
तिम्रा हरेक कणमा
म उसको प्रतिछायाँ देख्छु
तिम्रो हरेक छालमा
म उसको धडकन धडकिरहेको देख्छु
दिनको उज्यालोमा तिमीलाई हेर्दा
म उसको सिंङ्गो रुपमा देख्छु
रातको अन्धकारमा तिमीलाई हेर्दा
म उसका निश्छल नयनहरू देख्छु

ए त्रिसुली !
म तिमीलाई
कुन रूपमा हेरु
शत्रु झैं लाग्छ घरि घरि
किनकि
मेरो सारा खुशी तिमी भित्र
समाहित भएको छ
आफन्त झैं लाग्छ घरि घरि
किनकि तिमीलाई देख्दा
म सारा दु:ख पोखिदिन्छु
आँशुका धारा बगाई
चुपचाप कसैको प्रवाह नगरि

मेरो पिडा बगिरहेछ
तिम्रो अविरल बहाव झैं
नयनबाट आँशु बनेर
तिम्रो प्रतिरुप झैं

प्रतिक्रिया दिनुहोस्