Logo

यस्तो बन्दैछ बागचौर नगरपालिका सल्यानमा भ्यु-टावर तथा पार्क (अन्तर्वार्ता सहित)



Spread the love

बागचौर नगरपालिकाले निर्माण गर्न थालेको “अग्ला टाकुरा पार्क तथा भ्यु-टावर”को अवधारणा सहितको थ्रिडी डिजाइन तथा एनिमेसन भिडियो एक कार्यक्रमका बिच सार्वजनिक गरेको छ ।

कार्यक्रममा भ्यु टावर र पार्कको थ्रिडी एनिमेसनका साथमा यसको आर्किटेक्चरल मोडल पनि प्रस्तुत गरिएको थियो । बागचौर नगरपालिकाको आयोजनामा भएको उक्त सार्वजनिकीकरण कार्यक्रममा पार्कको डिजाइन कम्पनी आरम्भ आर्किटेक्ट्स एण्ड इन्जिनियर्स प्रा.लि.का आर्किटेक्ट लोकेन्द्र बुढा र इन्जिनियर बिकास अधिकारीले पार्कबारेको सम्पुर्ण इन्जिनियरिङ पाटोबारे प्रिजेन्टेसन दिए ।

“अग्ला टाकुरा पार्क तथा भ्यु-टावर”का लागि निर्माणस्थल बागचौर नगरपालिका वडा नं २ लस्तम अग्ला टाकुराको डाडाँलाई यस अघि नै मैदान बनाउने काम सम्पन्न भइसकेको छ ।

भ्यु-टावर निर्माणस्थलबाट बागचौर नगरपालिकाका १२ वटै वडा, छिमेकी पालिकाका भु-भाग साथै छिमेकी जिल्ला रोल्पा तथा रुकुमका समेत सुन्दर-रमणीय दृश्यहरु अवलोकन गर्न सकिन्छ । यहाँबाट रुकुमको सिस्ने हिमाल तथा अन्य हिमश्रृंखलाको मनोरम दृश्यहरु देख्न सकिन्छ । साथै, यो ठाउँ डाँगी जातिको उद्गमस्थलको रुपमा समेत परिचित रहेको छ ।

अग्ला टाकुरा राप्ती राजमार्गदेखि १ किलोमिटर दक्षिण-पश्चिम दिशामा रहेको छ ।

हेर्नुहोस भिडियो ः

 

के-के बन्दैछ “अग्ला टाकुरा पार्क तथा भ्यु-टावर”मा ?

१. भ्यु-टावर

“अग्ला टाकुरा पार्क तथा भ्यु-टावर”मा मुख्य आकर्षकको रुपमा भ्यु-टावर रहने छ । सल्यान बागचौर नगर आसपासका सम्पुर्ण पर्यावरणीय सुन्दरताले भरिपुर्ण डाँडाकाँडा, वनजंगलहरूको दृश्यावलोकनका लागि ‘भ्यु टावर’को निर्माण गरिन लागेको हो । साथै यसको शिरमा नेपालको झण्डा पनि राखिनेछ, जसमार्फत राष्ट्र र राष्ट्रियताको भावनालाई बागचौरबाट थप बुलन्द पार्न कोसिस गरिनेछ ।

भ्यु-टावरको उचाई झण्डा बाहेक करिब १६.५ मिटरको हुनेछ ।

२. संग्रहालय

पार्कको अर्को प्रमुख आकर्षणको रुपमा रहनेछ, संग्रहालय । यसमा नगर तथा जिल्लाका धार्मिक, पुरातात्विक एवम् ऐतिहासिक महत्व बोकेका बहुमुल्य चिजहरूलाई संरक्षण, संबर्द्धन तथा प्रदर्शन गरिनेछ ।

साथै, यहाँका मौलिक, रैथाने कला-संस्कृति झल्किने चिजहरु समेत संग्रहालयमा राखिनेछ । ताकि पार्क तथा भ्यु-टावर भ्रमण गर्न आउने आन्तरिक एवम् बाह्य पर्यटकहरूले सजिलैसँग सम्पुर्ण बागचौर सिँगो एउटै फ्रेममा अबलोकन गर्न सकून् ।

यसमार्फत् नगरपालिकाबाट लोप हुनै लागेका कला, संस्कृति तथा सम्पदाको समेत जगेर्णा हुने विश्वास नगरपालिकाले लिएको छ ।

३. कार्यक्रम डबली, खुलामञ्च तथा भवन

पार्कमा विभिन्न नगर, प्रदेश एवम् केन्द्र स्तरीय कार्यक्रमको सञ्चालनकालागि कार्यक्रम डबली, खुलामञ्च तथा भवनको समेत व्यवस्था हुनेछ ।

नगर, प्रदेश एवम् केन्द्र स्तरीय कार्यक्रम सञ्चालनकालागि सल्यान जिल्लाभर नै त्यति उपयुक्त स्थान नभएको तितो यथार्थलाई ध्यानमा राख्दै यसको निर्माण गर्न लागिएको हो ।

डबली, मञ्च तथा भवनको निर्माणसँगै भविष्यमा हुने ठुला कार्यक्रमकालागि मञ्च तथा बाहिरको खुल्ला चौर प्रयोग गर्न सकिनेछ भने विभिन्न गोष्ठी र सेमिनारहरुकोलागि भवनभित्र हलको ब्यवस्था गरिनेछ ।

साथै, यस भवनमा अतिथिकोलागि आराम तथा स्वागत कक्ष समेत रहनेछ ।

४. मन्दिर

पार्क निर्माणस्थल नेपालका सम्पुर्ण डाँगी जातीहरूको उद्गमभुमीका रुपमा पनि परिचित रहेकोले उनीहरूको कुल देवताको मन्दिर पनि पार्कको तल्लो फाँटमा व्यवस्था गरिनेछ ।

यससँगै पार्क परिसरभित्र आगन्तुक पर्यटकहरूकालागि धार्मिक पर्यटनको रुपमा मन्दिरको पनि निर्माण गरिनेछ । यो ठाउँ आफैमा पनि घार्मिक महत्त्व बोकेको पवित्रभुमी भएकोले मन्दिर निर्माणले नगर क्षेत्रको धार्मिक आस्थामा थप सहयोग पुग्ने देखिन्छ ।

५. गार्ड हाउस र टिकेट घर सहितको प्रवेशद्वार

दीर्घकालीन रुपमा आर्थिक संकलनको एउटा पाटोको रुपमा यस पार्क तथा भ्यु टावर बन्ने नगरपालिकाले बिश्वास राखेको छ । यसका लागि पार्क प्रवेशमा टिकटको व्यवस्था गरिनेछ ।

पार्क प्रवेशद्वारसँगै गार्ड हाउसको पनि निर्माण गरिनेछ ।

६. अतिथी गृह, सार्वजनिक शौचालय तथा ग्रामीण पार्टी-पौवाहरू

पार्कको समुचित व्यवस्थानका लागि अतिथी गृह, सार्वजनिक शौचालय तथा ग्रामीण शैलीबाट बनाइएका पर्याप्त पार्टी-पौवाहरूको समेत व्यवस्था गरिने अवधारणा सहितको डिजाइनमा उल्लेख गरिएको छ ।

 

किन बन्दैछ “अग्ला टाकुरा पार्क तथा भ्यु-टावर” ? (अन्तर्वार्ता)

कर्णाली प्रदेश अन्तर्गत सल्यान जिल्ला बागचौर नगरपालिकाको ड्रिम प्रोजेक्टहरू मध्येको एक हो – अग्ला टाकुरा पार्क तथा भ्यु-टावर

मान्छेका आधारभुत आवश्यकता तथा विकासका पुर्वाधारको उचित व्यवस्था नहुँदै पार्क तथा भ्यु-टावरको अवधारणा कसरी जन्मियो ? के छ यसमा बागचौर नगरपालिकाको धारणा ? आखिर किन बनाइदैछ त ६ करोड बराबरको लगानीमा यत्रो ठुलो पार्क ? लगायतका विविध प्रश्नहरूमा आधारित रहेर निर्वाचित भएसँगै आफ्नो सम्पुर्ण तलबभत्ता सामाजिक कार्यमा खर्च गर्ने घोषणा गरेर राष्ट्रियस्तरमा चर्चा कमाएका बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकीसँग सल्लेरी खबरकर्मी हिमाल जि.सी.ले गरेको अन्तर्वार्ता :

नगरबासीका आधारभुत आवश्यकता तथा विकासका पुर्वाधारहरूको उचित व्यवस्था नहुँदै पार्क तथा भ्यु-टावरको अवधारणा जन्मिनु अहिलेको समयमा कत्तिको सान्दर्भिक छ ?

पक्कै पनि, पार्क तथा भ्यु-टावरको आवश्यकता र औचित्यमाथि प्रश्नचिन्ह खडा हुनु एकदमै स्वभाविक कुरा हो ।

तर, यहाँनेर सबैजनालाई म के सुचित गराउन चाहन्छु भने, बागचौर नगरपालिकाले सबै कामकाज छोडेर, सबै बजेट खन्याएर केवल यही पार्क तथा भ्यु-टावर मात्रै बनाउन लागेको अवश्य होइन । हामीले सुरुदेखि नै नगरबासीका आधारभुत आवश्यकताहरू, त्यस्तै यहाँका उचित विकासका पुर्वाधारहरूको निर्माण एवम् व्यवस्थापनमा सधैं विशेष जोड दिदैँ आइरहेका छौं । यी सबै कुराहरूलाई यसै छोडेर हामीले खोजेको, हामीले सोचेको विकास र समृद्धि हासिल गर्ने कुराको कल्पना गर्नु हाम्रो मुर्खता हुनेछ ।

यसका साथसाथै हामीले हाम्रो पहिचान, हाम्रो अस्तित्व र स्वाभिमानका बारेमा पनि सोच्न एकदमै जरुरी छ । तत्कालिन समयमा फ्रान्सले पेरिस शहरमा ‘आइफेल टावर’को निर्माण त्यहाँको सम्पुर्ण समृद्धि भैसकेपछि बल्ल निर्माण थालेको थिएन । हाम्रै देशमा हेर्ने हो भने पनि भिमसेन थापाले धरहराको निर्माण नेपालीका सबै आवश्यकता पुरा भैसकेको संकेत स्वरुप पक्कै बनाएका थिएनन् । यस्ता राष्ट्रिय गौरबका परियोजनाहरू हाम्रो पहिचान र एकताको लागि निर्माण गरिन्छ । जुन जनताको आधारभुत आवश्यकता त नहोला तर गौरबको कुरा बन्न पुग्छ ।

त्यसैले हामीले पनि राष्ट्रियस्तरमा हाम्रो पहिचान स्थापित गर्न तथा हाम्रा रैथाने कला, संस्कृति, पुरातत्व र सम्पदाको संरक्षण तथा प्रदर्शन गर्दै सम्पुर्ण नगरबासी एवम् सल्यानीहरूलाई एकताको सिँगो मालामा सुत्रबद्द गर्न पनि “अग्ला टाकुरा पार्क तथा भ्यु-टावर”ले महत्वपुर्ण भुमिका खेल्ने विश्वास हामीले लिएका छौं ।

 

बागचौर नगरपालिकाको पहिचान स्थापनाका लागि के मानव निर्मित भ्यु-टावर नै बनाउन आवश्यक छ र ?   

हो ! हामीले हाम्रो नगरपालिका क्षेत्र भित्रका प्राकृतिक सम्पदाहरू, धार्मिक महत्व बोकेका स्थलहरू, पुरातात्विक वस्तुहरू एवम् यहाँका रैथाने लोक कला-संस्कृतिमार्फत् पनि हाम्रो गौरबलाई देशभरी नै परिचित गराइ रहेका पनि छौं । यही फागुन ३ गतेदेखि ५ गतेसम्म काठमाडौंको भृकुटिमण्डपमा सञ्चालित “बृहत् कर्णाली एक्स्पो”का लागि सल्यान जिल्लाको प्रतिनिधित्व गर्दै यस बागचौर नगरपालिकाद्वारा यहाँको रैथाने सरङ्ङ्या नाँच प्रस्तुत गर्यौं । यसमार्फत् पनि हाम्रा गौरबका पानाहरू सबैले पढ्न पाएका छन् ।

त्यतिमात्रै नभएर सोहि एक्स्पोमा राष्ट्रिय-अन्तर्राष्ट्रियस्तरमै चर्चित बागचौर नगरपालिका कोटमौलाको सुन्तला पनि प्रदर्शनीमा राखेका थियौं । अर्को पहिचान र सम्भावनाको रुपमा रहेको बाफुखोलाको आलुलाई पनि हामीले राष्ट्रियरुपमा फैलाइरहेका छौं ।

साथै त्यतिमात्रै नभएर समयसमयमा हामीले नगरपालिकाकै पहलमा सांस्कृतिक मेला, साहित्यिक कार्यक्रम, पुरातात्विक खोज-अनुसन्धान अभियानहरूको प्रकृया सुरु भएको छ ।

त्यसैले यी-यावत पक्षहरूलाई आन्तरिक तथा बाह्य पर्यटकको सुबिधाकालागि एउटा सिँगो फ्रेममा समेट्दै यिनको संरक्षण तथा संबर्द्धन गर्ने प्रयासस्वरुप पनि “अग्ला टाकुरा पार्क तथा भ्यु-टावर” निर्माण गर्न थालिएको हो ।

 

पार्क तथा भ्यु-टावरका अलावा पनि यहाँको नगरपालिकाले अन्य ड्रिम-प्रोजेक्टको रुपमा सहिद रिङरोड, गाउँ-गाउँमा बिजुली, स्वस्थ बागचौरजस्ता कार्यक्रम पनि सुरु गरेको थियो । कहाँ पुगे यी योजनाहरू ? कत्तिको काम भैरहेको छ ? थोरै बताइदिनुस् न ।

बागचौर नगरपालिकाले प्रमुख प्राथमिकतामा राखेको परियोजना हो – सहिद रिङरोड । यसको काम हामीले पहिलो नगरसभाबाटै थालनी गरेका थियौं । बागचौर नगरपालिकाका सबै क्षेत्रहरूलाई सडक सञ्जालमार्फत जोड्दै विकासको दिशातिर उन्मुख गर्ने हेतुका साथ हामीले यसको अवधारणा ल्याएका हौं । अहिलेसम्म यसको ट्र्याक ओपनिङ अन्तर्गत झण्डै पचास प्रतिशत बराबरको काम सम्पन्न भइसकेको छ भने बाँकी काम पनि तिब्र गतिमा भइरहेको छ । र, मेरो कार्यकाल भित्रै यसको स्तरोन्नतीको काम पनि सम्पन्न गरिनेछ ।

त्यसैगरी, नगरपालिकाका १२ वटै वडाहरूमा बिजुली बत्ती पुर्याउने अभियान अन्तर्गत हामीले १० वटा वडाहरूमा बिजुली बत्ति पुर्याइसकेका छौं । त्यस्तै बाँकी वडाहरूमा समेत तिब्र रुपमा काम भैरहेको छ । र, “स्वस्थ बागचौर” कार्यक्रमको सवालमा हामीले पालिकाका ९ वटा वडाहरूमा स्वास्थ्य केन्द्रहरूको स्थापना गरिसकेका छौं भने बाँकी रहेका वडाहरूमा पनि छिट्टै स्थापना गर्ने प्रक्रियामा छौं ।

यी सबै परियोजनाहरू मेरो कार्यकालभित्रै सम्पन्न भैसक्नेछन्, तपाईंलाई मेरो प्रतिबद्धता भयो ।

 

यहाँहरूले बताएअनुसार पार्क निर्माण गर्न झण्डै ६ करोड बराबरको रकम लाग्ने भनिएको छ । यसको आर्थिक व्यवस्थापनको पाटो कसरी मिलाउने सोच्नु भएको छ ?

“अग्ला टाकुरा पार्क तथा भ्यु-टावर” परियोजना बागचौर नगरपालिकाको मात्रै नभएर समग्र सल्यान जिल्ला, प्रदेश र संघ कै पर्यटकीय गन्तब्यको सम्भावनाको रुपमा रहेको हुँदा हामीले यसको निर्माणको लागि प्रदेश सरकार र संघीय सरकारलाई सहयोगको आग्रह गरिसकेका छौं । र, यसमा सम्बन्धित सबै व्यक्ति र निकायहरूले पनि सकारात्मक प्रतिबद्दता जनाउनु भएको छ ।

त्यसैगरी, पार्क तथा भ्यु-टावर निर्माणको काम हामीले चरणबद्ध रुपमा सम्पन्न गर्नेछौं । जसले गर्दा हामीलाई बजेट व्यवस्थापनमा पनि सहज वातावरण हुनेछ ।

 

अन्तिममा, जाँदाजाँदै दीर्घकालीन रुपमा “अग्ला टाकुरा पार्क तथा भ्यु-टावर” लाई कसरी सोच्नु भएको छ ? यसका दीर्घकालीन प्रभावबारे प्रष्ट्याइदिनु न ?

“अग्ला टाकुरा पार्क तथा भ्यु-टावर” निर्माण पश्चात् यस क्षेत्रको नमुना पार्कको रुपमा रही पर्यटकीय स्थलको रुपमा रहनेछ । यसबाट रोजगारीको अवसर सिर्जना हुनेछ भने नगरपालिकाको लागि दीर्घकालीन रुपमा आर्थिक आयआर्जनको एउटा पाटो समेत बन्ने हाम्रो अपेक्षा रहेको छ ।

यस ठाउँमा पर्यटकहरुको बृद्धिसँगै यहाँको पहिचान, कला, संस्कृति र सम्पदाको संरक्षण तथा प्रबर्द्धन हुनेछ । सबैतिर छरिएर रहेका डाँगीहरुको उद्गम स्थलको रुपमा यसको ऎतिहासिक महत्त्व बढ्नेछ । बिकसित हुँदै गरेका नजिकका बजार क्षेत्रका मानिसहरुका लागि मर्निङ वाक जाने ठाउँको रुपमा बिकास हुनुका साथै यो ठाउँ पिकनिक, सभा, समारोह, गोष्ठी तथा कार्यक्रमको आयोजना गर्न पनि उपयुक्त हुनेछ ।

सँगसँगै, पार्कका अलावा नजिकका बस्तीहरुमा होमस्टे संचालन हुनेछ । जसमा बिलकुलै स्थानीय गाउँले परिकार तथा संस्कृतिद्वारा पर्यटकको स्वागत-सत्कार हुनेछ । ग्रामीण सुगन्धलाई यसमार्फत् विशेष जोड दिइनेछ । यसबाट स्थानीय जनताको आर्थिक अवस्था उकास्न समेत सहयोग पुग्ने विश्वास लिएका छौं ।

ड्ब्लु.एफ.पि.को मापदण्ड अनुसार प्रत्येक १००० जनाको जनसंख्याको लागि ३ देखि ५ हेक्टरसम्मको खुला क्षेत्रको व्यवस्था हुनुपर्ने भनिएको छ । त्यस्तै नेपालको सहरी विकास ऐन, २०४५ अनुसार हरेक सहरमा ३-५ प्रतिशत खुला क्षेत्र हुनुपर्ने उल्लेख गरिएको छ । यिनको समुचित अवलम्बन गर्न पनि “अग्ला टाकुरा पार्क तथा भ्यु-टावर”ले निकै ठुलो भुमिका खेल्ने हाम्रो विश्वास छ ।

०००

०००

प्रतिक्रिया दिनुहोस्