Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
३,४७,८७३
संक्रमित
५५,८८,३५६
निको भएका
२३,६५,७१९
नेपालमा कोरोना भाइरस
मृत्यु
संक्रमित
६८२
निको भएका
११२

कथा : स्पर्श



स्काईपमा डेढ घण्टा जति हेराहेर र कुराकानी भएपछि हरेस मानेरै मैले फोन काटे । ऊ पनि हरायो, मेरो डेल ल्यापटपको स्क्रिनबाट, मनले भने उसैलाई खोजी रहे पनि, आँखाले हेरिराख्न सकेन । त्यसैले काटेकी थिएँ । ‘चरेस खाए पनि हरेस नखानू’ भनेर सानै देखि सिक्दै आएको पाठ हो । तर जब परिस्थिति नै आफु बिरोधी भएर उत्रिन्छ, चरेस र हरेस दुबै आफ्ना साथी बनिदिदा रहेछन्, हो त्यस्तै भयो ।

०००

ऊ, अर्थात् मैले मानेको ऊ । मैले सोचेको ऊ । मेरै ऊ । अर्थात् मेरै स्पर्श । ऊ त्यति खेर मेरो ऊ थिएन, मेरो स्पर्श थिएन । ऊ कसैको थियो थिएन, त्यो पनि मलाई थाहा थिएन । बोली-चाली सधैं जसो भइरहन्थ्यो, आखिरमा एकअर्काको छिमेकी जो थियौं । मेरो बाबाले उसको बाबालाई चिन्ने, मामुले मामुलाई, भाइ बहिनीहरुले उसलाई अनि उसको दिदीलाई, एकअर्काबीच परिचित परिवार नै थियो । र पनि नजिक ल्याउने चिज फेरि पनि फेसबुक नै बनिदियो । ऊ काठमाडौँमा पढ्छ, म यतै बिराटनगरमा । यसैबीच हाम्रो सामान्य कुराबीच उसले प्रस्न गर्यो :

सुप्रिया, आइ लभ यु  !

प्रश्न यसर्थमा भयो कि ‘आइ लभ यु’ भने पनि पछाडि लुकेका दुइ शब्द अझैं हुन्छन् ‘डु यु  ?’

म खलबलिए, एकोहोरिए । के भनौ के नभनौ, ‘नो’ भनौ त यति राम्रो मित्रता टुट्छ भन्ने डर, यति छिटै निर्णय लिएर ‘एस’ भनौं त पछिका दिनहरुमा आफैलाई समस्या पर्ला भन्ने डर ! दोधारे मनबीच लाचार भएर चेपिएँ म । के भनौ र के नभनौ भन्ने अवस्थामा । एकछिन बोलिन ! ओठ मुख सबै सुकें ! नसुकुन् पनि किन त्यति नजिक भएको साथीले मलाई आज सम्म प्रपोज गरेको थिएन । प्रपोजल नआएको भन्ने हैन, तर जतिका आए ती सबै म प्रति आकर्षित मात्रै थिए । गरे त रुप हेरर गरें, प्रपोज  । अहिले आएको प्रपोजल भिन्न थियो, छिमेकीको प्रपोजल, मिल्ने साथीको प्रपोजल, उसको प्रपोजल, स्पर्शको प्रपोजल । उसले रुप मात्रै हैन मन नि हेरेर प्रपोज गरेको सोचें मैले । त्यसैले अरुलाई जसरी एकैचोटी ‘नो’ भने उसलाई त्यसरी नै बिदाइ गर्न मन लागेन, सकिन पनि ।

भने :

‘मलाई केही समय देऊ स्पर्श’ !

लामो सास फेरें !

मैले यति भन्नु अगाडी नै उसको छ वटा मेसेज आइसकेका रैछन् ।

“सुप्रिया ! गायब ?

ओए कता गयौ ?

रिसायौ के ?

इफ इट्स नो देन से नो, इट्स ओके !

भन न के भयो ?

आर यु अलराइट ?”

मैले केवल ‘‘मलाई केही समय देऊ स्पर्श’ ! भनेर सबै प्रश्नको उत्तर दिएँ !

उसलाई खाँचो परेको जवाफ पनि त यही त थियो । खै के सोचेर प्रपोज गर्यो, थाहा भएन ! हासेर गर्यो कि गम्भीर भएर गर्यो ! कतै अरु केटाहरु जस्तो हात समाएर हिड्ने तृष्णा मेट्न त गरेन ? दुइ चार वटा फुस्रो लभलेटरमै माया साटासाट गर्न त गरेन ? हैन त्यसरी त गरेन होला, म सम्हालिए । जे भए पनि परिवार थियो, राम्रो सुखी, उसको पनि मेरो पनि । छिमेक मै भाडभैलो मच्चाउने न उसको मन हुन्छ न मेरो । उसले मलाई मन मात्रै पराउँदैन माया पनि गर्छ । मैले यसो सोचिरहँदा ऊ प्रति मेरो पनि माया भएको पाएँ । यति सम्म मैले अरु कुनै प्रपोजल आउँदा न सोचेको थिएँ न सोच्न नै चाहें । सोच्नुमा कुनै अर्थ पनि थिएन । ऊ जत्तिको नजिकिएको कुनै साथीले प्रपोज गरेको भा’पो सोच्नु !

उसले प्रपोज गरेको आज तेश्रो दिन ! केही जवाफ बोकेर आउँछे भनेर ऊ पनि कुरिरहेकै होला । मलाई भने फेसबुक ‘लग इन’ गर्ने साहस पनि थिएन । सायद आजको दिन मैले उसलाई जवाफ दिनु पर्ने बाध्यताले होला । मैले उसँग सोच्नेलाई समय मागेकी थिएँ, मेरो समय, उसको हैन । तर मेरो मात्रै समय कसरी भयो ? मैले मेरो जीवन बाजीमा लाउँदै थिए, उसैलाई जिताउन सक्छु कि भन्ने हिसाबले ।

मैले कि ‘एस’ भन्नु थियो कि ‘नो’ ! ‘एस’ भन्दा उसले जित्छ, ‘नो’ भन्दा दुवै हार्छौ ! मैले यति सोचेर फेसबुक ‘लग इन’ गरें ।

एक प्रेमी जसरी आफ्नी प्रेमिका कुरिरहन्छ । रत्नपार्कमा वा ‘काठमाडौँ मल’ अगाडी वा कतै या कतै, सायद उ त्यसरी नै पर्खिरहेको थियो होला मेरो अस्तित्व, फेसबुकको च्याट लिस्टमा ! त्यसदिन मैले नै सुरु गरे संवाद ताल न बेताल को सुनिने गरी ‘एस’ भनेर ! ताल न बेतालको यसर्थमा भयो, हामी अघिल्लो दिन ‘बाइ’ भनेर छुटेका थियौ ।

अब ‘बाइ’ पछि एकै चोटि ‘एस’ भन्ने रिप्लाई त ताल न बेताल भन्दा कहाँ कम भयो र । सायद ऊ उज्यालियो होला । (गोरो त ऊ पहिले देखि नै हो) एउटा बेग्लै चमक छायो होला सायद ! मुस्कुरायो होला !

“ 🙂 “ इमो पठायो । यता म भने भित्रै देखि नै गलिरहेकी थिएँ, के गरौ के नगरौं उकुसमुकुस भइरहेको थियो । वास्तबमा केटा मान्छे केटी भन्दा अलि बढी नै स्वार्थी हुन्छन् जस्तो लाग्यो । नत्र एउटी केटी भित्रै देखि गल्दा, कसैले ‘:)’ पठाउँछ भने के बुझ्ने ? के उसले मेरो भावनाको कत्ति पनि कदर गर्न जानेन ? कि उसले पनि अरु जस्तै मेरो रुप मात्रै देखेको छ, मन बुझ्न सकेको छैन ? वा ऊ म पाएर निकै खुसी छ ? शंका उपशंका बढ्दै गए । नबढुन् पनि किन, मैले जिन्दगी उसैलाई त सुम्पेकी थिएँ ।

उसले पनि मेरो भावना बुझिदियोस् भन्ने सम्म पनि सोच्न नपाउनु मैले ? कमसेकम “कस्तो फिल भइरहेको छ सुप्रिया” सम्म त सोध्न सकिन्छ नि । उसले सोधेन । म झन् खलबलिए । त्यही खल्बलिएकै मन लिएर नै कुरा सिध्याए र सुतें ।

अमेरिकाको हरेक देशमा हैकम जमाउने कुराका धेरै बिरोधी छन् । म भने कट्टर समर्थक । काठमाडौँमा बस्ने ऊ अनि बिराटनगरकी म, हामी दुइलाई मिलाउने अमेरिका कै सोसियल साइट त थियो – फेसबुक । हाम्रो भेट सधै हुदैन थियो । बेलाबखत ऊ घर आउँदा हुने हो, दशैको बेला, तिहारको बेला । गर्मी र जाडोको पनि बिदा हुन्थ्यो तर ऊ काठमाडौँ मै मनाउँथ्यो ती बिदाहरु मलाई अलि परै राखेर । निकै दुःख लाग्थे ती दिन ! आखिर किन आउँदैन ऊ ? मलाई भेट्न आउँदैन ठिकै छ, परिवारलाई त भेट्न आउनु । परिवारलाई भेट्न आउँदैन ठिकै छ, मलाई त भेट्न आउनु । म उसको परिवारको भन्दा आफ्नै बढी पर्वाह गर्थे । जो कोहीले नि त्यहि गर्छ । फोनमै कुरा गरेर चित्त बुझाउँथ्यो ऊ, मलाई भने उसलाई नहेरी चित्त नबुझ्ने । केटीको न मन अलि बढी भावुक र संबेदनशील त भइ हाल्ने रहेछ, आखिरमा माया पनि त बढी नै हुन्छ । फोन काटेपछि घन्टौ रुन्थे । अनि पछि आफै सम्हालिन्थे ।

०००

काँचझैँ भैदियो सम्बन्ध । भुइँमा खस्ने बित्तिकै काँच फुटे जसरी फुट्यो हाम्रो सम्बन्ध पनि, एक रात उसले मेसेज पठाए पछि । लेखिएको थियो :

‘सुप्रिया, हामी सँगै हुनु यति नै रहेछ ! अर्को कुरा म त्यति सिरियस थिइनँ जति तिमी भयौ ! आइ वाज जस्ट किडिंग ! आइ जस्ट ब्रोक अप लास्ट मन्थ एंड जस्ट टक्ड विद यु ! देयर इज नथिंग बिट्विन अस, इट्स अल ओभर नाउ ! गुडबाइ !‘

म सम्हालिन सकिन ! आँसु गाला भिजाउदै मुखमा गएर अमिलो भयो ! मन चिसियो ! आफैलाई सम्हाल्न सकिन ! सम्झाउने हिसाबले मेसेज गरे रिप्लाई सम्म गरेन ! फोन गरें उठाएन ! कत्ति सम्म निर्दयी हुन सक्दो रहेछ मान्छे ! उ मेरा लागि जिन्दगीमा कुपात्र भएर निस्कियो ! म रोइरहे । मन, आँखा अनि सिरानी त्यो दिन सबै भिज्यो, एकैचोटी, एकैरात !

पछि उसलाई स्काईपमा बोलाएँ । हेराहेर गरेर घन्टौ बोलियो तर उसको मन पग्लिएन । प्रपोज उसले गरेको थियो तर उसलाई मेरो जति माया लाग्थ्यो त्यो भन्दा बढी म उसलाई गर्न थालिसकेकी थिएँ । उसलाई सम्झाए, सम्झिएन । ढुंगा पग्लेला, उसको मन पग्लिदैन भन्ने सम्म सोचें । आखिरमा उ निर्दयी नै रहेछ ।

छुटिएको महिनौ पछी उसले र मैले भेट्ने निर्णय गर्यौ । त्यस दिन पनि मैले सम्झाएँ, त्यो भन्दा बढी त म गर्न पनि सक्दिन थिएँ । आँखामा हेरेरे आफ्नो प्रेम व्यक्त पनि गरेकी थिएँ । अहँ केही लागेन ।

‘तिमी र म टाढा छौ हेर सुप्रिया, टाढा भएर सम्बन्ध त्यति मजबुत हुन सक्दैन । हामीबीच ग्याप रहन्छ सुप्रिया ! मलाई अर्कै केटी मन पर्न सक्छ, केटाहरु त्यस्तै हुन्छन् ।’ केटालाइ नराम्रै देखाएर भए पनि मलाई सान्त्वना दिए जस्तो गर्यो | मेरो लागि त्यो स्वीकार्य भएन ।

‘तिमी र म टाढा छौ हेर सुप्रिया, टाढा भएर सम्बन्ध त्यति मजबुत हुन सक्दैन ! हामी बीच ग्याप रहन्छ सुप्रिया ।” उसको यही वाक्य मात्रै दिमागमा घुमिरह्यो । म निराश भएरै घर फर्किएँ । टाढा हुँदा त झन् माया बढ्छ नि, हैन र । खाडीमा पैसा कमाउन गएका श्रीमानलाइ नेपालमा भएकी श्रीमातीको माया लाग्दैन र ? आफ्नी आमाको माया लाग्दैन र ? छोरा छोरी बाबा आउने बाटो हेरेर बस्दैनन् र ? खैर जे होस्, उ ‘पान्डोरा को मिस्टरि बक्स’ जस्तै भयो । मैले कहिले बुझ्न सकिनँ ।

अझै पनि ‘आफु बिराटनगरमै पढेको मा पछुतो लाग्छ…,यदि म पनि काठमाडौँमा पढिरहेको हुन्थे !’ यही भावना आइरहन्छ मनमा जब जब उसको ‘‘तिमी र म टाढा छौं हेर सुप्रिया, टाढा भएर सम्बन्ध त्यति मजबुत हुन सक्दैन ! हामी बीच ग्याप रहन्छ सुप्रिया !’ सम्झन्छु !

जति टाढा भए पनि म उसैलाई कुरिरहेकी छु । यी आँखाहरुले उसकै बाटो हेरर बसेको छ । फर्कन्छ वा फर्कन्न मेरै भएर टुंगो नभएनि ।

अचेल लाग्छ नामको सुरुवात नै आधा अक्षरको थियो उसको, त्यसैले हो कि माया पनि आधा नै गर्यो ! लभ पनि आधा नै पर्यो, एकोहोरो लभ, मेरो उप्रतिको – आधा लभ !

०००

लेखकबाट थप :

त्यो रुख ( कविता )

०००

 

ट्रान्स्पोर्टेसन इन्जिनियरिङ्गमा स्नातकोत्तर गरिरहेका आचार्य सल्लेरी खबरका नियमित स्तम्भकार हुन् ।

प्रतिक्रिया दिनुहोस्