Logo

मार्सल आर्टमा अन्तर्राष्ट्रिय स्तरसम्म चम्कँदै गुल्मीका विकल



Spread the love

जिल्ला , क्षेत्र , राष्ट्र हुँदै अन्तर्राष्ट्रिय स्तरसम्म चम्कँदै गुल्मीका विकल नेपाली खेलकुद क्षेत्रका लागि विकल पौडेलको नाम कुनै नौलो होइन । उनले बि.स. २०६५ सालदेखि तेक्वान्दो (मार्सल आर्ट) खेल सुरुवात गरी निरन्तरता दिँदै आएका छन् । तेक्वान्दो खेलाडीका रूपमा आफ्नो पहिचान बनाउन सफल भएका उनी हाल कुशल नेतृत्वकर्ता पनि बनेका छन् । उनले रुरु आईं.टि.एफ तेक्वान्दो डोजाङ्ग गुल्मीमा ४० जनालाई प्रशिक्षण समेत दिइरहेका छन्। उनी रुरु आई टि एफ तेक्वान्दो डोजांग गुल्मीका प्रमुख प्रशिक्षक पनि हुन  । साथै उनले विभिन्न जिल्लामा गएर पनि प्रशिक्षण दिइरहेका छन् । गुल्मीमा जन्मिएका पौडेलले सानै उमेरदेखि खेलमा रुचि राखेको बताए। उनी १५ वर्षको उमेरदेखि यस खेलमा लागेका हुन्। पौडेलले मदरल्यान्ड आई टि एफ तेक्वान्दो डोजाङ पाल्पाबाट आफ्नो खेल जीवन सुरुवात गरेका हुन । उनले मदरल्यान्डमा सुनिल राई बाट प्रशिक्षण पाएका हुन् ।

आफ्नो पहिलो प्रशिक्षक नै राई रहेको उनले बताए। गुल्मीमा जन्मिएका पौडेलले राष्ट्रिय प्रतियोगितादेखि अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत स्वर्ण पदक जित्न सफल भएका छन् । उनले नेपालका ६४ जिल्लामा आफ्नो खेल प्रदर्शन गरिसकेका छन् भने अन्तर्राष्ट्रिय स्तरमा पनि आफूलाई अब्बल रूपमा स्थापित गराई स्वर्ण पदक साथै अन्य पदक पनि जितिसकेका छन् । उनले अन्तराष्ट्रियस्तरमा भारत, बेलारुस ,मङ्गोलिया , चीन र सिङ्गापुरमा आफ्नो खेल प्रदर्शन गरिसकेका छन् । आत्मरक्षाका लागि तेक्वान्दो खेल महत्त्वपूर्ण हुने उनले बताए । उनले भने पहिले आफूलाई शारीरिक रूपमा कमजोर सोच्ने गर्दथे जब यो खेल सिकेँ त्यसपछि आफूलाई शारीरिक रूपमा सक्षम ठानेको छु । म यस खेलमा लाग्दा बुबा आमा खासै खुसी हुनुहदैन थियो तर अहिले मेरो खेल र प्रगति देखेर धेरै खुसी हुनुहुन्छ । खेलमार्फत देशको राष्ट्रिय झन्डा बिश्वसामु फर्फराउन पाउँदा निकै गर्भ लाग्ने उनले बताए । आफूले मात्र नभई आफूजस्तै प्रतिभा जन्माउने सोचका साथ अघि बढेका उनी निकै निकै मिहिनेत र लगनशीलताका साथ प्रशिक्षण दिने गर्दछन् । उनी आफ्नो पहिलो खेलमै पाल्पा जिल्लामा भएको जिल्ला स्तरीय प्रतियोगितामा प्रथम हुन सफल भएका थिए ।

चाइनिज चलचित्र अभिनेता ब्रुस्लीको अभिनय कलाबाट प्रभावित भएका उनी राष्ट्रिय खेलकुद परिषद् ,तेक्वान्दो महासङ्घ क्षेत्र, जिल्ला खेलकुद सङ्घ गुल्मी लगायत विभिन्न संघसस्थाबाट सम्मानित भइसकेका छन् । सन् २०१४ मा नेपालको काठमाडौँमा भएको तेस्रो दक्षिण एसिया आई .टि .एफ तेक्वान्दो प्रतियोगितामा ५८ के जी समूहमा स्वर्ण पदक जित्न सफल भएका छन् त्यसैगरि सन् २०१५ मा भारतको गोवामा भएको चौथो दक्षिण एसिया आई. टि.एफ तेक्वान्दो प्रतियोगितामा ५८ के जि समूहमा कांस्य, सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ५८ के जि समूहमा रजत पदक जित्न सफल भएकै छन् उनले दक्षिण क्षेत्रीय आई टि एफ प्रतियोगितामा स्वर्ण पदक जितेका छन् त्यस्तै पहिलो लुम्बिनी नेस्नल च्यम्पियनसिपमा ५८ के जि समूहमा कांस्य पदक जितेका छन् ।

बि.स. २०७३ मा भएको सातौँ राष्ट्रिय छनौटमा र पहिलो दक्षिण क्षेत्रीय आई टि एफ प्रतियोगितामा स्वर्ण पदक जितिसकेका छन् । उनले बेलारुसमा भएको सातौँ अन्तर्राष्ट्रिय मार्सल आर्ट्स गेममा ५७ के.जि. समूहमा कांस्य पदक जितेका छन् । त्यसो त उनले सिङ्गापुरमा भएको आमन्त्रित तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका हुन । आफू हरेक खेलमा उच्च मनोबलका साथ खेलेकाले यो सफलता हात परेको उनले बताए । पौडेल सामान्य परिवारमा जन्मिएका हुन् । उनी परिवारका जेठा छोरा हुन् । उनका बाबुआमा गुल्मीको रीडीमा होटेल व्यवसाय गदै आएका छन् । पौडेल अहिले ब्लाक बेल्ट थर्ड डान हुन् । अब आफ्नो बाकि जीवन खेल क्षेत्रमै बिताउने उनले बताए । हालै रीडीमा उनको संयोजकत्वमा प्रथम रुरु आ ई टि एफ तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । जसमा ५०० खेलाडीले सहभागिता जनाएका थिए । तेक्वान्दो प्रतियोगितामा सफल हुनको लागि किकहरूको ख्याल सँगै बुद्धिमत्तापूर्वक खेल्नुपर्ने उनले बताए।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्