Logo

पहिलो चोटि देउवा र पौडेल दुवै एकैसाथ गुल्मीमा



Spread the love

१५ चैत्र, गुल्मी । नेपाली काँग्रेस गुल्मीको प्रथम जिल्ला सम्मेलनमा काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल गुल्मी आउँदै छन् । सम्मेलनमा महामन्त्री शशांक कोइराला, पाटी प्रवक्ता विश्व प्रकाश शर्मा, चन्द्र भण्डारी लगायतका केन्द्रीय नेताले सम्बोधन गर्न नेपाली काँग्रेस गुल्मीले जानकारी दिएको छ ।

देउवा र पौडेललाई एकै मञ्चमा राखेर सिङ्गो देशलाई नै नेपाली काँग्रेस एकजुट र एकताबद्ध रहेको सन्देश दिने काँग्रेसका नेताहरू बताउँछन् । देउवा र पौडेल दुवै एकैसाथ पहिलो चोटि गुल्मी आउँदै छन् ।

पार्टीको विधान अनुसार प्रत्येक वर्ष जिल्ला सम्मेलन गर्ने व्यवस्था भएता पनि विभिन्न प्राविधिक कारणहरूले हुन नसकेको बताउँदै अहिले काँग्रेसले ऐतिहासिक रूपमा प्रथम जिल्ला सम्मेलन गर्न लागेको पार्टी सभापति भुवनप्रसाद श्रेष्ठले सल्लेरी खबरलाई बताए ।

पार्टी सङ्गठनलाई जिल्ला देखि स्थानीय तहसम्म पार्टी बलियो र सशक्तढङ्गले अगाडि बढाउने, कार्यकर्तालाई प्रशिक्षण दिने, वर्तमान सरकारले गरेका ज्यादतीको भण्डाफोर गर्ने, काँग्रेसको पक्षमा आएको जनलहरको शक्ति प्रदर्शन गर्ने उद्देश्य रहेको साथै पार्टीलाई आगामी दिनहरूमा कसरी अगाडि बढाउन कस्तो खालको रणनीति बनाउने जस्ता कुराहरू जिल्ला सम्मेलनबाट तयार गर्ने नेपाली काँग्रेस गुल्मीले जानकारी दिएको छ ।

सम्मेलनलाई भव्य रूपमा सम्पन्न गर्नको लागि नेपाली काँग्रेस गुल्मीले जिल्लाका १२ वटै स्थानीय तहमा जिल्ला स्तरीय नेताहरूलाई प्रतिनिधिको रूपमा खटाई पालिका स्तरीय भेला समेत सम्पन्न गरेको थियो ।

त्यस्तै सम्मेलनलाई सफल र भव्य बनाउनको लागी विभिन्न समिति तथा उपसमिति गठन गरी सम्मेलनको तयारी पुरा गरिएको नेपाली काँग्रेस गुल्मीका सचिव खिलध्वज पन्थीले सल्लेरी खबरलाई बताए ।

सम्मेलनको मिति नजिकिँदै गर्दा सदरमुकाम तम्घासको माहौल तातिएको छ भने काँग्रेसको चहलपहल समेत बढेको छ ।

यही चैत्र १६ र १७ गते हुने सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको नेपाली काँग्रेस गुल्मीले जानकारी दिएको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्