Logo

भोलीदेखी बजारमा आउँदै ‘शून्य प्रहरको साक्षी’



Spread the love

नेपाली साहित्य आकाशमा आख्यान, समालोचना, अनुवादलगायतका क्षेत्रमा स्थापित नाम हो, महेश पौड्याल । पेशाले उनी त्रिभुवन विश्वविद्यालयका अंग्रेजी विषयका शिक्षक हुन् । दर्जनभन्दा बढी पुस्तकहरू प्रकाशित गरिसकेका पौड्याल भोली चैत्र १७ गते काठमाडौं र चितवनबाट एकसाथ विमोचन भैरहेको आफ्नो पहिलो कविता सङ्ग्रह ‘शून्य प्रहरको साक्षी’ मार्फत कविको नयाँ स्वरुपमा प्रस्तुत हुँदैछन् ।

 

एक सय आठ छोटा आयतनका कविताको सङ्गालो हो – शून्य प्रहरको साक्षी । लामो समय कथा, निबन्ध र समालोचनामा परिचय स्थापित गरेका महेश पौड्याल नयाँ अनुहारसहित उपस्थित हुन लागेका हुन् । छोटा र छरिता कवितामा जीवन र समयको पदचाप खोज्नेका लागि उनको आउँदै गरेको कृति गजबको खुराक बन्नेछ ।

यो पनि पढ्नुहोस्ः

महेश पौड्यालका पाँच कविता

 

छोटा कविता नै किन ? भन्ने धेरैको प्रश्नमा उनले फेसबुकको भित्तामा यस्तो राय व्यक्त गरेः

१. आकारमा छोटा छन् यी कविता, तर सारमा छोटा छन् भन्ने लाग्दैन । त्यसैले, मचाहिँ “कविता” मात्रै भन्छु, छोटा कविता भन्दिनँ । आकारमा छोटा हुनु स्वरूपको मात्रै कुरा हो । लामा कविताप्रति मेरो सम्मान अक्षुण्ण छ ।

२.मेरो मस्तिष्कमा आजको समयका डिजिटल पाठक बढी छन् । मैले आजसम्म छोटा कविता सम्प्रेषण गर्न कुनै छापालाई भन्दा फेसबुकलाई माध्यम बनाएँ । एक फ्लासमा कविताको बानी लाग्यो । अब पुस्तकमा त्यो सम्भव हुन्छ कि, हेरौँ भन्ने हो ।

३. कवितामा म धैर्य अलि कम भएको मान्छे हुँ । भन्नुपर्ने कुरा घुमाउन, लम्ब्यान अलि जान्दिनँ । अलङ्कार र उपकरणको प्रयोग गर्ने कलामा पनि म पछाडि छु । त्यसैले, जे भन्नु छ त्यो सीधै भन्दा कविता छोटो हुँदो रहेछ ।

४.करिब १० वर्षदेखि यस्तै आकारका कविता लेख्दै आएको छु । लेखेको चीजलाई बाहिर ल्याऊँ भन्दा यी कविता सङ्कलित हुन पुगेका हुन् ।

५. म सभा–समारोहमा लामा पनि र छोटा पनि कविता सुनाउँछु । मेरा लामा कविता खै खज्मज्जिएर होला, पाठकको स्मरणमा खासै बसेनन् । छोटा भने कण्ठस्थै सुनाइदिन्छन् । यसले मलाई हौस्यायो ।

“शून्य प्रहरको साक्षी” शिखा बुक्सले प्रकाशन गर्न लागेको हो ।

०००

०००

प्रतिक्रिया दिनुहोस्