Logo

मार्खेजको ‘वन हन्ड्रेड इयर्स अफ् सोलिच्युड’ नेट-फ्लिक्समा सिरिज बनेर आउँदै ।



Spread the love

आजभन्दा ५० वर्ष अघि सन १९६७ मा प्रकाशित महान् साहित्यकार एवम् साहित्यमा ‘जादुयी यथार्थ’का प्रणेता गाब्रियल गार्सिया मार्खेजको विश्वप्रसिद्ध उपन्यास ‘वन हन्ड्रेड इयर्स अफ् सोलिच्युड’ अब छिट्टै नेट-फ्लिक्समा सिरिजको रुपमा आउने भएको छ । यो उपन्यास पहिलोपल्ट यसरी स्क्रिनमा आउन थालेको हो ।

नोबेल पुरस्कार विजेता लेखक मार्खेजलाई योभन्दा पहिले पनि यसै उपन्यासका लागि मुभीका अफर नआएका होइनन् । तर उपन्यासको विषयवस्तुलाई केवल एउटा या दुईवटा फिल्मले न्याय गर्न नसक्ने भन्दै उनले लगातर ती अफरहरू इन्कार गरिरहे ।

यसपल्ट भने नेट-फ्लिक्सको टिम मार्खेज परिवारको चित्त बुझाउन सफल दरिएको छ । मार्खेजका दुई सुपुत्र रोड्रिगो र गोन्जालो पनि यसका निर्माता हुने नेट-फ्लिक्सले बताएको छ ।

उपन्यासलाई सिरिज बनाउन अनुमति दिएको विषयमा बोल्दै रोड्रिगोले भनेका छन्,”पछिल्लो समयमा विश्वमा नेट सिरिजको क्रेज असाध्यै बढिरहेको छ । अझ नेट-फ्लिक्सको उदयसँगै विस्तारै मान्छेहरूमा विदेशी भाषाका सिरिजहरू सब-टाइटलको मद्दतले हेर्ने संस्कृतिको विकास भएको छ । त्यसैले पनि हाम्रो परिवार बुबाको उपन्यासमा आधारित रहेर सिरिज बनाउने निर्णयमा पुगेको हो ।”

उक्त सिरिज उपन्यासको ओरिजिनल संस्करणको स्पेनिश भाषामा बन्नेछ ।

नेट-फ्लिक्सका स्पेनिश भाषा विभागका उप-प्रमुख फ्रान्सिस्को रामोसले भनेका छन्,”हामीले यसअघि पनि नेट-फ्लिक्सबाट ‘नार्कोस’ सिरिज तथा ‘रोमा’ फिल्म स्पेनिश भाषामा बनाइ सकेका छौं । अझ ‘रोमा’ले यसपालीको ओस्कार अवार्डमा ‘उत्कृष्ट विदेशी भाषाको चलचित्र’ द्वारा सम्मानित भए सँगै हामीमा विदेशी भाषाका (स्पेनिश) चलचित्र बनाउने थप हौसला मिलेको छ ।”

‘वन हन्ड्रेड इयर्स अफ् सोलिच्युड’ लाई ल्याटिन अमेरिकी साहित्यको मास्टरपिसको रुपमा हेर्ने गरिन्छ, जसले मार्खेजलाई ल्याटिन अमेरिकाबाट विश्वसाहित्य क्षितिजमा स्थापित गरिदियो । अहिलेसम्म यसको संसारका विभिन्न देशका ४६ भन्दा बढी भाषामा अनुवाद भइसकेको छ भने झण्डै ५० मिलियन प्रति बिक्री भइसकेको छ ।

विभिन्न भाषामा अनुवादित ‘वन हन्ड्रेड इयर्स अफ सोलिच्युड’का पुस्तक कभरहरूको कोलाज ।

आख्यानमा कलात्मक कल्पनाशीलता र जादुमयी लेखन शैलीले विश्वका आम पाठकलाई सर्वाधिक आकर्षित गर्न सफल लेखक हुन् – गाब्रियल गार्सिया मार्खेज । १७ अप्रिल २०१४ मा यो संसारबाट बिदा लिएता पनि उनी आफ्ना कृति मार्फत अझै सर्बत्र फैलिएका छन् । लेखनीमा उनले सबैभन्दा पहिले जादुयी यथार्थ शैली भित्र्याएको मानिन्छ । उनी कथाकार मात्रै नभएर एक कुशल पत्रकार तथा स्क्रिनराइटर पनि थिए ।

मार्खेजका प्रमुख कृतिमा ‘वन हन्ड्रेड इयर्स अफ् सोलिच्यूड’, ‘क्रोनिकल अफ् अ डेथ फोरटोल्ड’, ‘लभ इन द टाइम अफ् कोलेरा’, ‘द अटम अफ प्याट्रिआर्क’ रहेका छन् । उनी बिसौँ शताब्दीका महान लेखकमा गनिन्छन् । सन् १९८२ मा उनलाई साहित्यतर्फको नोबेल पुरस्कार समेत प्रदान गरिएको थियो । अहिलेसम्म उनका कृतिमा आधारित थुप्रै हलिउड चलचित्र बनिसकेका छन् ।

कोलम्बियामा कुँदिएको मार्खेजको वाल पेन्टिङ ।

नेट-फ्लिक्सले बनाउन लागेको मार्खेजको उपन्यासमा आधारित सिरिजका लागि कसले लेख्ने भन्ने टुङ्गो अझै लाइनसकेको भए तापनि ल्याटिन अमेरिकी साहित्यका दिग्गज साहित्यकारको प्रयोग गरिने निर्माण टिमले जनाएको छ । सिरिजको सुटिङ कोलम्बियामा हुनेछ ।

रामोस भन्छन्,”कोलम्बिया र सम्पुर्ण ल्याटिन अमेरिकाको लागि यो त्यो महत्वपूर्ण स्वर्णीम १०० वर्षको कथा हुनेछ, जसले हामीलाई एक महादेशको रुप दिलायो । र हामीलाई विश्वास छ कि यो सिरिज सम्पुर्ण विश्वभरका लागि नै जादुयी उपहार बन्नेछ ।

प्रस्तुती : राजन के.सी.’प्रमोद’

०००

०००

प्रतिक्रिया दिनुहोस्