Logo

सन्दीपको टिम सुपर ओभरमा जित हासिल गर्न सफल



Spread the love

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत हिजो राती सम्पन्न दिल्ली क्यापिटल्स भर्सेस कोलकत्ता नाइट राइडर्सको भिडन्तमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टिम दिल्लीले सुपर ओभरमा जित हासिल गर्न सफल भएको छ ।

दिल्लीस्थित फिरोज कोट्ला स्टेडियममा कोलकत्ताले दिएको १८६ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ६ विकेट गुमाएर १८५ रन जोडेपछि खेल सुपर ओभरमा गएको थियो ।

सुपरओभरमा दिल्लीले एक विकेटको क्षतिमा १० रन बनाउन सफल भयो । ११ रनको चुनौती पछ्याएको कोलकत्ताले ७ रन मात्रै बनाउन सफल भएपछि दिल्लीले खेल जितेको हो । उक्त खेलमा दिल्लीका युवा ब्याट्सम्यान पृथ्वी शले अर्धशतकीय इनिङ्स खेलेका थिए । शतक बनाउन एक रनले चुकेका पृथ्वी ५५ बलमा ९९ रन जोडेर आउट भए ।

कोलकत्ताविरुद्ध नेपाली शान सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा २९ रन खर्चिएर १ विकेट लिए । साथै उनले एक खेलाडीलाई रन आउट पनि गराए ।

अघिल्ला दुई खेलमा बेन्चमै रहेका सन्दीपले कोलकत्ताविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरे । उनले दिल्लीका लागि सबैभन्दा राम्रो बलिङ गरे ।

जितसँगै दिल्लीले ३ खेलबाट ४ अंक जोड्दै लिगको दोस्रो स्थानमा रहेको छ भने कोलकत्ताले पहिलो हार व्यहोर्दै ४ अंक बनाएको छ । कोलकत्ता दुई जीत सहित शीर्ष स्थानमा छ ।

फोटो क्रेडिट : आईपीएल

प्रतिक्रिया दिनुहोस्